सुडानमा पहिरोले सिंगो गाउँ बगायो, एक हजारभन्दा बढीको मृत्यु, एक जनामात्रै बाँचे

पहिरो

सुडानमा पहिरोले सिंगो गाउँ बगायो, एक हजारभन्दा बढीको मृत्यु, एक जनामात्रै बाँचे

sudan pahiro

सुडानको पश्चिमी डारफर क्षेत्रमा गएको पहिरोले एउटा गाउँ नै बगाएको छ । उक्त पहिरोमा परेर एक हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको छ ।

सुडान लिबरेसन मुभमेन्ट–आर्मीले विज्ञप्ति जारी गर्दै यो घटना मध्य डारफरको मार्राह माउन्टेन्समा रहेको तारासिन गाउँमा आइतबार भएको जनाएको छ । अगस्टको अन्तिम सातामा भएको भारी वर्षापछि यो विपत्ति आएको हो ।

अफ्रिकी देशमा आएको हालसम्मको सबैभन्दा ठूलो प्राकृतिक विपत्तिमध्ये एक मानिएको समाचार संस्था एपीले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक जानकारीअनुसार गाउँका सम्पूर्ण बासिन्दाको मृत्यु भएको छ, जसको संख्या एक हजारभन्दा बढी रहेको अनुमान छ । एक जनामात्र जीवित भेटिएका छन् ।”

सुडान लिबरेसन मुभमेन्ट–आर्मीले गाउँ पूर्णरूपमा ध्वस्त भएको बताउँदै शवहरू निकाल्नका लागि संयुक्त राष्ट्र संघ (यूएन) र अन्तर्राष्ट्रिय सहायता समूहहरूसँग सहयोगको लागि अपिल गरेको छ ।

मार्राह माउन्टेन्सका समाचारमाध्यमले सार्वजनिक गरेको भिडियो फुटेजमा पहाडी शृंखलाहरूबीचको एक समतल क्षेत्र देखाइएको छ, जहाँ मानिसहरूको एउटा समूहले खोजी गरिरहेको देखिन्छ ।

सन् २०२३ को अप्रिलमा सुडानमा सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)बीचको तनाव राजधानी खार्तुम र देशका अन्य भागहरूमा खुला युद्धमा परिणत भएपछि विनाशकारी गृहयुद्ध चलिरहेको छ ।

यस द्वन्द्वग्रस्त डारफर क्षेत्रको अधिकांश भागमा सुडानको सेना र आरएसएफबीचको लडाइँ र कडा प्रतिबन्धका कारण संयुक्त राष्ट्र संघ र सहायता समूहहरूका लागि पहुँच पुर्‍याउन असम्भव बनेको समाचारमा उल्लेख छ ।

गृहयुद्धबाट मृत्यु हुनेको संख्याको अनुमान फरक-फरक छ, तर एक अमेरिकी अधिकारीले गत वर्ष २०२३ देखि १.५ लाख मानिस मारिएको अनुमान गरेका छन्। लगभग १ करोड २० लाख मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्।

 एपी

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ