काठमाडौँ — एमालेको दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवादलाई प्रवेश नगराइए पनि उनले महाधिवेशन प्रतिनिधिलाई खुला पत्र लेख्दै आफ्नो सदस्यता नवीकरण ‘पेन्डिङ’मा राख्ने निर्णय सच्याउन आग्रह गरेकी छन्।
महाधिवेशनमा निमन्त्रणा नगरिएकी भण्डारीका कार्यकर्ताले ललितपुरको गोदावरी सनराइज हल बाहिर प्रतिनिधिलाई अपिल गरिएको पत्र वितरण गरेका थिए।
पत्रमा भनिएको छ, ‘पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीकृतता हो। अझसम्म पनि हाम्रा अभिभारा र लक्ष्य हासिल भएका छैनन्। त्यसको प्राप्तिका लागि हामी सबैको एकता, समझदारी र सक्रियताको आवश्यकता पर्छ। तसर्थ, यो आग्रहप्रति सबै सदस्य गम्भीर बन्दै मेरो सदस्यता कायम गर्नेबारे सकारात्मक धारणा र निर्णयको अपेक्षा गर्दछु। साथै, पार्टीले आफ्नो निर्णय सच्याउँदै पार्टीमा देश र जनताको हितका खातिर एकजुट भएर अघि बढ्ने वातावरण बनाउन आग्रह गर्दछु।’
भण्डारीले आफ्नो सदस्यताको सवाल व्यक्तिगत नभएको भन्दै जनताको बहुदलीय जनवादको मान्यताहरू प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने पद्धतिको प्रतिकूल भएको बताएकी छन्।

उनले भनेकी छन्, ‘मेरो सदस्यताको सवाल कसैलाई निजीजस्तो लागे पनि पार्टीका सम्पूर्ण सदस्यको आस्था, विश्वास र अधिकारसँग जोडिएको विषय हो। मैले हाम्रा कतिपय कमरेडबाट विगतमा पार्टीमा लोकतान्त्रीकरणका लागि गरिएको कठोर सङ्घर्ष, सुस्पष्ट लिखित अवधारणा र त्यस क्रममा व्यहोर्नुपरेको अपमान र पीडालाई नजिकबाट देखेको र बुझेको छु। त्यसबखत म र अरू कमरेडलाई अनेकौँ टीकाटिप्पणी हुँदा पनि जायज आवाजका लागि हामीसँगै लडेका थियौँ। ती अभियानहरू सफलताका लागि निर्णायक बनेका थिए। तर, ती सबै यति छिट्टै विस्मृतिमा हराइसके? वास्तवमा त्यस बेलाको मेरो त्यस्तो साथ पनि पार्टी हितकै लागि थियो। त्यसैले, मेरो सदस्यताको विषयमा उठाइएको विवाद केवल व्यक्तिगत होइन, बरु यो हाम्रो पार्टीको विधि, मूल्य र लोकतान्त्रिक अभ्याससँग गाँसिएको छ। नवीकृत सदस्यतालाई निष्क्रिय बनाउने विषय पार्टीले अङ्गीकार गरेको पहलकदमी र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्तको समेत प्रतिकूल छ।’
भण्डारीले आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका लागि अर्पण गरेको उल्लेख गर्दै महिला अधिकार, मानव अधिकार, न्याय र समानताका लागि निरन्तर आवाज उठाइरहेको बताएकी छन्।
उनले पत्रमा लेखेकी छन्, ‘अनेकौँ सङ्घर्ष, कठिनाइ र चुनौतीसँग मैले कहिल्यै हार मानेकी छैन। आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न मेरा निम्ति गम्भीर रूपमा खडा भएको छ। यो पत्र मेरो आत्मरक्षाका लागि होइन, बरु हाम्रो पार्टीको उज्ज्वल भविष्यका लागि हो। त्यसैले, तपाईँहरूले यस पत्रलाई आफ्नो अधिकारको रक्षा, पार्टीको सबलता, सुदृढ एवम् दिगो एकताको रूपमा बुझ्नुहुनेछ भन्ने गहिरो विश्वास लिएको छु।’
पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर भए आममानिसको विश्वास घट्दै जाने भण्डारीको दाबी छ।
उनले थपिन्, ‘पार्टी संगठनभित्र विधि, पद्धति, विधान र लोकतान्त्रिक अभ्यास कमजोर बन्यो भने त्यसको मार केवल व्यक्तिलाई होइन, सम्पूर्ण पार्टीलाई नै पर्छ। यस्तो परिपाटीलाई समयमै त्याग्न नसके हाम्रो पार्टीको प्रतिष्ठा, शक्ति तथा नेता–कार्यकर्ताबीचको एकता र जनताको हामीप्रति रहेको आस्था र विश्वास नै धरमराउन सक्छ।’
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’