पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन-नारायणगढ सडकखण्ड

पहिरो

पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन-नारायणगढ सडकखण्ड

३६ घण्टादेखि अवरुद्ध, यात्रु र सवारी अलपत्र

muglin narayangadh

झण्डै ३८ घण्टादेखि बन्द रहेको मुग्लिन नारायणगढ सडकखण्ड खुलाउने प्रयास जारी छ । मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको छ । पहिरोका कारण ३६ घण्टादेखि हजारौँ यात्रु र सवारीसाधन अलपत्र परेका छन्।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान ६ बजेदेखि नै पहिरो पन्छाउने काम जारी छ । कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार सुख्खा पहिरो झर्ने क्रम रोकिए आज दिउँसो ३ बजेदेखि सडक खुलाउन सकिन्छ । अहिले मुग्लिनतर्फबाट २ वटा र नारायणगढतर्फबाट २ वटा मेसिनको प्रयोग गरेर पहिरो हटाउने काम भैरहेको छ । थप मेसिन लगाउन मिल्ने ठाँउ नभएकोले ४ वटा मेसिनमार्फत नै पहिरो पन्छाउने काम भैरहेको छ ।

इन्जिनियर आचार्यका अनुसार अहिले पनि सडकमा ३५ मिटर डिपोजिट पहिरो सडकमा छ । त्यसलाई सहज रुपमा हटाउन सके दिउँसोसम्म सडक खुलाउन सकिने उनले जानकारी दिए । ‘पहिरो बेलाबखत झरेको छ, जोखिम त यसै पनि छ, तर पनि हामी लागिरहेका छौं, काम गर्दागर्दै पनि कतिबेला थप आउँछ भन्ने अवस्था छैन’, इन्जिनियर आचार्यले भने, ‘माथिल्लो भागमा पत्रे चट्टान भएकाले समस्या भएको छ ।’

असोज ३ गते साँझ ६ बजेतिर गएको ठूलो पहिरो निरन्तर झरिरहेकोले मुग्लिनतर्फबाट नारायणगढ आउने र नाराणगढबाट मुग्लिनतर्फ जाने सयौं सवारी साधान बीच बाटोमा नै रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुरबाट जाने सवारीलाई टाँडी, भण्डारा, आँपटारी,जुगेडी, रामनगर क्षेत्रमा रोकिएको छ ।

काठमाडौंबाट आउने सवारीलाई कुरिनटार, मुग्लिन, फिस्लिङमा रोकिएका छन् । मुग्लिन बजारमा रहेका यात्रुलाई जेसीज इच्छाकामनाको अगुवाइमा निःशुल्क पानी, खाना र खाजा वितरण गर्न थालिएको छ । नारायणगढतर्फबाट पनि विभिन्न सामाजिक संघसंस्था तथा ब्यक्तिहरुको सहयोगमा यात्रुहरुलाई चाउचाउ, विस्कुट, पानी बाँड्ने काम गरिएको छ । यातायात मजदुरहरुलाई यातायात व्यवसायीहरुले नि:शूल्क खाना र खाजाको व्यवस्था मिलाएको जनाएका छन् ।

सडक अवरुद्ध भएपछि विगत दुई–तीन दिनदेखि हजारौँ गाडी मुग्लिनतर्फ रोकिएका छन्। हिजो र आजका लागि मात्र २० हजारभन्दा बढी यात्रु अलपत्र परेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ