भक्तपुर । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको माग गलत नभएको बताएका छन्। बिहीबार साँझ आफ्नै निवासमा पत्रकारसँग अध्यक्ष ओलीले भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शिताको विषयमा जेनजीले राखेको मागमा कसैको विमति नभएको बताएका हुन्।
‘जेनजीका माग ठिक थिए। भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शीताको मागमा कसैको विमति होइन’, अध्यक्ष ओलीले भने, ‘तर जेनजी पुस्ताले नेपालको राष्ट्रिय झण्डा ओडेर सिंहदरबार लगायत सार्वजनिकक सम्पत्तिमा आगो लगाउन सक्दैनन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जी र आरजुजीलाई त्यस्तो अमानवीय व्यवहार जेनजी पुस्ताले गर्न सक्दै सक्दैन। जेनजी पुस्तालाई देशको माया छ, उ सँग विवेक छ।’
निर्वाचित निकाय देख्नै नहुने र संरचनामा आगजनी गर्ने काम जेनजी पुस्ताबाट नभएको अध्यक्ष ओलीको दाबी छ। ‘सुत्ली बम बोकेर जेनजी आएका थिएनन् । तर, युवा विद्यार्थी भाइबहिनी मर्ने–मार्ने स्थिति भयो’ उनले दुख व्यक्त गर्दै भने ।
राष्ट्रिय स्वाधीनता र स्वाभिमानको झण्डा उठाउँदा मैले अपमान बेहोर्नुपर्यो
भूपरिवेष्ठित मुलुकलाई भूजडित बनाउँदा, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको झण्डा उठाउँदा आफूले अपमान बेहोर्नु परेको अध्यक्ष ओलीको टिप्पणी छ। रविन्द्रनाथ टैगोरको ‘एक्ला चलो रे’ कविताको सारांश सुनाउँदै अध्यक्ष ओलीले भने, ‘सत्यमा एक्लै भए पनि उभिनु। सत्य चिर स्थायी हुन्छ।’
ओलीले थपे, ‘ममाथि प्रहारको निशाना केन्द्रित गरियो । मेरो अपराध के ? मैले भ्रष्टाचार गरिनँ, गर्दिन, यही मेरो अपराध हो ? विकासको नेतृत्व गर्नु अपराध हो ?’
दलहरु मुलुकप्रति जिम्मेवार रहेकाले दलभित्रै व्यवस्थापन र समाधान खोजिने उनको भनाई छ। केही पार्टी नेताहरुको सार्वजनिक टिप्पणीप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘पार्टीको कुरा फोरममा चलाउने हो। सडक र मौसमी हावाको भरमा चलाउनु हुँदैन। सबैको व्यवस्थापन हुन्छन्।’
जेनजी पुस्ताको आन्दोलनबाट नजायज फाइदा उठाई दलविहीन र गन्तव्यहिन बाटोमा मुलुकलाई लान खोजेकोप्रति अध्यक्ष ओलीले आम पार्टी पंक्तिसहित सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुलाई खबदारी गर्न अपील गरे। उनले भने, ‘प्रतिस्पर्धाको लोकतान्त्रिक राजनीति, मतदानबाट प्रतिनिधि छानिएर आउने व्यवस्थाप्रति घृणा फैल्याउने यो कस्तो गन्तव्य हो ? यस्तो दिशाहिन राजनीति कसैले गर्नु हुँदैन। यसलाई आम पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिले खबरदारी गर्न मेरो अपील छ।’
समाजमा आतंक सिर्जना
प्रतिशोधको भावले सामाजिक सद्भाव भड्काउने गरी अभिव्यक्ति दिएर सामाजिक मूल्य, मान्यता समाप्त पार्न खोजिएको अध्यक्ष ओलीले बताए। सांस्कृतिक धरोहरहरुलाई पूर्णरुपमा ध्वस्त बनाउनु सांस्कृतिक विचलन आएको उनको भनाई छ। ‘अहिले देश र समाजलाई पुरै आतंकित पारिएको छ। सार्वजनिक सम्पत्ति, जनताको धनजनको क्षति पुर्याउने मान्छेबाटै त्रसित बनाइएको छ। जेनजी पुस्ताको आडमा तैंले कुनै दलप्रति, व्यक्तिप्रति समर्थन गरिस भने घर जलाइदिन्छु। कुटपिट गर्छु भनेर समाजमा आतंक सिर्जना गरिएको छ। यो प्रवृत्तिलाई तत्काल रोक्नु पर्छ। समाज र मान्छेलाई आतंकित बनाउनेहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ’, अध्यक्ष ओलीले भने।
मुलुकले यति ठूलो क्षति कहिल्यै बेहोर्नु नपरेको औंल्याउँदै अध्यक्ष ओलीको भनाई छ। पूर्वप्रधानमन्त्री ओलीले भने, ‘यो क्षतिले समाज र देश विकासमा चौथाई शताब्दी पछाडि धकेलिदिएको छ। अब खरानीबाट उठ्नु परेको छ। सुधार गर्दै अघि बढ्ने हो। अब आउने पुस्ता सुख, समृद्धिमा बाँच्न पाउनुपर्छ भन्ने हो। तर अहिले जुन ढंगले अघि बढ्न खोजिएको छ। यसबाट समृद्धिको गन्तव्यमा नयाँ पुस्तालाई कहिल्यै पुर्याउँदैन।’
कसैको धम्कीबाट डराउनु पर्दैन
प्रेस तथा वाक स्वतन्त्रता हिजोको दिनमा पनि लडेरै लिएकाले सत्यतामा अडिग रहेको समाचार, विचार संप्रेषण गर्न पत्रकारहरुलाई अध्यक्ष ओलीले आग्रह गरे। उनले भने, ‘सत्य समाचार, विचार व्यक्त गर्दा, लेख्दा कसैको धम्कीबाट डराउनु पर्दैन। प्रेस तथा वाक स्वतन्त्रता लडेरै लिएको हो। त्यसको उपयोग पत्रकारहरूले निर्भिकताका साथ गर्नुहोस्।’
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा