संसद् पुनर्स्थापनाको विकल्प नभएको एमालेको निष्कर्ष, ओलीले भने- सरकार मलाई थुन्‍ने तयारीमा छ, अध्यक्षबाट राजीनामा दिन्नँ

२२ बुँदे प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय कमिटी बैठक सकियो

संसद् पुनर्स्थापनाको विकल्प नभएको एमालेको निष्कर्ष, ओलीले भने- सरकार मलाई थुन्‍ने तयारीमा छ, अध्यक्षबाट राजीनामा दिन्नँ

मंसिर २७ गतेदेखि पोखरामा ११ औँ महाधिवेशन गर्ने निर्णय

uml-central-commitee

काठमाडौं : नेकपा एमालेले २२ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ। यही असोज २९–३१ गतेदेखि सुरु भएको केन्द्रीय कमिटीको दसौँ पूर्ण बैठकले २२ बुँदे समसामयिक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति सम्बन्धी विशेष प्रस्ताव’ सुझावसहित सर्वसम्मतिले पारित गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनले भने,ʻपारित प्रस्तावमा भदौ २३ गते आयोजित जेनजी प्रदर्शन, संसद् भवनमा आगजनी, गोली प्रहार र हत्या, भदौ २४ को त्रासदीपूर्ण घटना, वर्तमान अन्तरिम सरकार, प्रतिनिधिसभा विघटन, छानबिन आयोग सम्बन्धमा दुष्प्रचार, नियोजित षड्यन्त्रका सम्बन्धमा, निर्वाचनका सम्बन्धमा जोखिमपूर्ण बन्दै गएको, शान्ति सुरक्षाको स्थिति, भ्रष्टाचार नियन्त्रण र सुशासन नवयुवा पुस्ताको सरकार, लोकतान्त्रिक शक्तिहरूलाई सहयोगका लागि आह्वान पार्टीको आन्तरिक एकतालाई थप सुदृढ र उच्च बनाउनुपर्ने, देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेकोले संविधान र लोकतन्त्रका पक्षधर राजनीति दलहरू र आमनागरिकलाई आह्वान गरिएको छ।ʼ

यस्तै बैठकले पार्टीको आगामी महाधिवेशन आगामी मंसिर २७–२९ गते पोखरामा गर्ने निर्णय गरिएको छ।

बैठकमा उपस्थित केन्द्रीय कमिटी, पोलिटब्युरो सदस्य, स्थायी कमिटी सदस्य, केन्द्रीय सचिवालयसम्बद्ध केन्द्रीय पदाधिकारीले आफ्नो सुझावसहितको मन्तव्य राखेका थिए।

Press statement CC Meeting Ashoj 31

संसद् पुनर्स्थापनाको विकल्प नभएको एमालेको निष्कर्ष

नेकपा एमालेले संसद् पुनर्स्थापनाको विकल्प नभएको निष्कर्ष निकालेको छ।

बैठकले संसद् पुनर्स्थापनाका लागि लोकतन्त्र र संविधान पक्षहरूसँग सहकार्य गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका हुन्।

बैठकले संसद् पुनर्स्थापनामा एमालेको जोड भएपनि पार्टी निर्वाचनबाट नभाग्ने भन्दै निर्वाचनको वातावरण बनाउन माग गरेको छ। बैठकले मुलुकमा राष्ट्रिय एकता कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने र त्यसका लागि पार्टी एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेको गौतमले बताए।

जेनजी आन्दोलनका क्रममा भएको घुसपैठको स्वतन्त्र निष्पक्ष छानबिन गर्दै दोषीलाई कारबाही गर्न एमालेले माग गरेको छ।

यस्तै बैठकले पार्टी अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति विषयक विशेष प्रस्तावलाई पारित गरेको छ।

ओलीले भने- सरकार मलाई थुन्‍ने तयारीमा छ, अध्यक्षबाट राजीनामा दिन्नँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पक्राउ गरेर थुन्ने कोसिस गरिरहेको बताएका छन् । केन्द्रीय कमिटीको दशौँ बैठकलाई समापन सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले ११ औँ महाधिवेशनअगाडि राजीनामा नदिने अडान लिँदै अरू कुरा त्यहीँ छिनोफानो हुने पनि बताए । उनले अहिले आफ्नो काँधमा जिम्मेवारी कायमै रहेकाले त्यसलाई पूरा गरेर मात्रै बाहिरिने बताए ।

‘केही साथीहरूले मेरो राजीनामा माग्नु भएको । मसँग माग्नु भएको होइन, मैले माइकबाट पनि सोधेको थिएँ’, उनले भने, ‘५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ । मेरो काँधमा जिम्मेवारी कायमै छ । त्यो जिम्मेवारी पूरा नगरी छाड्दिनँ, राजीनामा दिन्नँ ।’

ओलीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की असंवैधानिक बाटोबाट प्रधानमन्त्री बनेको बताए । कार्कीले नै प्रधानमन्त्री पद नै अस्वीकार गर्नुपर्ने पक्षमा आफू रहेको पनि उनले बताए ।

‘पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न मिल्दैनथ्यो, उहाँले अस्वीकार गर्नुपर्‍थ्यो। मैले त केयर टेकर (काम चलाऊ) प्रधानमन्त्रीको रूपमा सबैसँग छलफल गर्नुस् भनेको थिएँ’, उनले भने, ‘मैले छलफल गर्न पाइनँ, म त सैन्य सुरक्षामा थिएँ। सायद उहाँहरूले हामीसँग संवाद नगर्ने भन्नु भएको होला ।’

आफूलाई नरम भाषामा बोल्नु भन्ने नेताहरूमाथि ओली खनिए। ‘साथीहरुले नरम भाषा बोल्नुस् भन्नु भएको छ, यसमा चिनी थपिदिनु,’ उनले भने, ‘हामीले गरेका काम देखेकै छन, विकास देखेकै छन्। त्यसै भएर हमला गरेका होलान्, साथीहरूले मौका पाउनु भएर हमला गर्नु भएको छ, मैले योभन्दा चर्को हमला सुनेको छु । २०७६ मा सहेको छु, ०७८ मा सुनेको छु।’

सरकार थुन्न खोज्दैछ

ओलीले कार्की नेतृत्वको अन्तरिम सरकार आफूलाई जसरी हुन्छ थुन्ने पक्षमा रहेको । गृहमन्त्री ओमप्रकाश अर्यालले ओलीविरुद्ध मुद्दा चलाउने उपाय खोजिरहेका छन् । उनले महान्यायाधीवक्ता र अन्य कानुन व्यवसायीसँग परामर्श गरिहेका बेला ओलीको यो भनाइ आएको हो ।

‘केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर गृहमन्त्रीले सल्लाह र छलफल गर्नुभयो। कहीँकतै केही भेटिएन। हिजो जेनजीहरूले मान्दै मानेनन्, केपी ओलीलाई त जसरी पनि थुन्नुपर्छ भनेर सरकार प्रयासरत छ,’ ओलीले भने, ‘जेन–जीले यस्तो माग गरेका छैनन्। तर सरकारमा भएकाले जेन–जीको माग भनेर दाबी गरिरहेका छन्। जेन–जीले हामी दलविरुद्ध छैनौँ, संविधानविरुद्ध छैनौँ भनिसक्दा पनि सरकार प्रतिशोतको बाटोमा हिँडेको छ मलाई थुन्ने उपाय खोजेर।’

११ औँ महाधिवेशन मंसिर २७ गतेदेखि पोखरामा गर्ने एमालेको निर्णय

नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ।

केन्द्रीय कमिटी बैठकले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको हो।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन पेस गरेका थिए। बैठकले अध्यक्ष ओलीको प्रतिवेदन सुझावसहित सर्वसम्मतले पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ