गाईको पूजा गरी मनाइयो गाई तिहार

धर्म संस्कार

गाईको पूजा गरी मनाइयो गाई तिहार

गाई जोगाउने अभियान सुरु गर्न आग्रह

gaai cow gai

काठमाडौं । नेपालीहरूको महान चाड तिहारको चौथो दिन आज गाई पूजा गरेर मनाइँदैछ । घरमा गाई पाल्नेहरूले घरमै र नहुनेहरूले गौशालामा गई गाईको पूजाआजा गरेका हुन् । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ । गौशालामा रहेको नन्दी सेवास्थलमा पनि गाई पूजा गर्नेको भीड छ ।

आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन नेपालीहरूको घर, गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । गाई हिन्दु धर्मावलम्बीहरूका लागि पवित्र र महत्त्वपूर्ण प्राणी हो ।

आमाले आफ्ना सन्तानलाई दूध खुवाएजस्तै गाईले मानवलाई दूध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई गौमाताको रूपमा पुकारिने गरिन्छ । गाईबाट प्राप्त हुने दूध, दही, घिउ, गहुँत, गोबर आदि प्राचीन कालदेखि नै मानिसले प्रयोग गर्दै आएका छन् । कृषि–उत्पादन वृद्धिका लागि समेत गाईको गोबर र गहुँत मल र विषादी दुवै रूपमा प्रयोग हुने गर्छ । प्राचीन कालमा गाई सबैभन्दा महत्त्वपूर्ण चल सम्पत्ति मानिन्थ्यो । पृथ्वी सबैको साझाका अभियन्ता आरवी न्यौपानेले नेपाल देवभूमि रहेको र देवभूमिमा गाईको अपमान भइरहेको बताए ।

मानिसमा धर्म सकिँदा यो अवस्था आएको उनको भनाइ छ । गाईलाई दिइने खानेकुरा ल्याउन पनि पशुपति क्षेत्र विकास कोषले समस्या सिर्जना गरिरहेको गुनासो गरे । बेलुका ९ बजेपछि मात्रै ल्याउ भन्ने, बिहान ल्याउनै नदिने जस्ता समस्या रहेको उनले बताए । गाईलाई बचाए मात्रै नेपालीको धर्म र संस्कृति बाँच्ने भन्दै सबै गाई बचाउने अभियानमा लाग्नुपर्ने उनले बताए ।

उनले भने, ‘आज यो विश्वको गुरुदेव, ऋषिभूमि, तपोभूमि र देवभूमि हो । यो देशमा गाईको अपमान भयो । जिउँदो देवतालाई । यो कसलाई दोष दिने ? गाईले आराध्यदेव पशुपतिनाथ पत्ता लगाइदिनुभयो । मानिसमा धर्म सकियो । अरूको भाग खोस्न मिल्दैन । गाईलाई चाहिने खानेकुरा पनि दिनुहुन्न । खानेकुरा ल्याउन नदिने अन्याय गरेको छ । गाईलाई बचाउने अभियानमा लाग्नुपर्छ । अन्तरिम सरकारका प्रधानमन्त्रीलाई म अनुरोध गर्दछु गाई कसरी बचाउने ? त्यसमा लाग्नुपर्छ । सरकार जुनसुकै आएपनि गाईको व्यवस्थापन हुन सकेको छैन ।’

गाईको संरक्षणमा लाग्दै आएकी हीरा पाण्डेले गाईलाई आमाकै रूपमा लिइने र जन्मदेखि मृत्युपर्यन्तसम्म गाईको महत्त्व रहेको बताइन् । गाईमा ३३ कोटी देवताको नै वास हुने उनले बताइन् ।

उनले भनिन्, ‘गाई आमाकै रूपमा लिन्छौँ । जन्मदेखि मृत्युपर्यन्तसम्म रहन्छ । दीपावलीको बेला त महत्त्व छँदैछ । अरू दिन पूजा गरेको पनि साक्षात् ३३ कोटी देवताको नै वास छ ।’
घरमा गाई नभएकाले पशुपतिको गौशाला र अन्य गाई पालेका ठाउँमा गएर गाई पूजा गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ