काठमाडौं : नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कमिटी बैठकले माओवादीसँग पार्टी एकता गर्ने त्यसको सम्पूर्ण प्रक्रियाका विषयमा सचिवालयलाई जिम्मेवारी दिइएको उपाध्यक्ष प्रकाश ज्वालाले बताए।
‘हामीले नीतिगतरूपमा पार्टी एकता गर्ने निर्णय गरेका छौं। प्रक्रियागत र प्राविधिक कुरा सचिवालयमार्फत टुंग्याउने अधिकार सचिवालयलाई दिइएको छ,’ उनले भने। उपाध्यक्ष ज्वालाले सर्वसहमतिले उक्त निर्णय गरिएको बताए।
‘पार्टी एकताका विषयमा विभिन्न विचारहरू आए। त्यसमा पार्टी अध्यक्षले एकताको एजेन्डा प्रस्तुत गर्नुभयो। त्यसमा बहुमतले साथीले समर्थन जनाउनुभयो,’ उनले भने।
एकताको पक्षमा दुईतिहाइ हुँदा पनि झलनाथ–घनश्यामको विरोध
बैठकमा नेताहरूले माओवादी केन्द्रसँग चलिरहेको एकता प्रक्रियाको पक्ष र विपक्षमा धारणा राखे । बैठकमा आज सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले सम्बोधन गरे । खनाल श्रीमतीको उपचारका क्रममा भारतको दिल्लीमा रहे पनि केन्द्रीय कमिटीको बैठकका लागि नै नेपाल आएका हुन् ।
खनालले पदाधिकारी बैठकमा भारतबाट नै लिखित प्रस्ताव पठाउँदै माओवादी केन्द्रसँग एकता गर्नु हुँदैन भन्ने फरक मत राखेका थिए । जारी केन्द्रीय कमिटी बैठकमा पनि खनालले पार्टी विभाजनको औचित्य पुष्टि नभएको र नेतृत्वले पार्टी सही ढंगले चलाउन नसकेको आरोप लगाएका छन् । उनले भने, ‘नेतृत्वले सही ढंगले पार्टी चलाउन सकेन । यदि सही तरिकाले पार्टी चलाएको भए एमालेभन्दा ठूलो भइसक्थ्यौँ । तर, नेतृको असक्षमताका कारण दिनदिनै सानो भयौँ । यसको जिम्मा नेतृत्वले लिनुपर्छ ।’
खनालले बैठकमा बोल्दै आफ्नो पार्टी बनाउन नसकेर माओवादीमा जान तयार भएको तर त्यो बाटो ठीक नभएको बताए ।उनले भने, ‘नेतृत्वका कारण पार्टी कमजोर भयो । एमालेबाट विभाजन गर्दाको अवस्थामा भन्दा कमजोर बन्यो । जनताको बीचमा नजाने अनि, माओवादीसँग मिल्न जाने । माओवादीले लडेको जनयुद्धको जिम्मा हामीले लिनुपर्ने हो ?’
खनालले अहिले एकताभन्दा पनि पार्टीलाई बलियो र क्रान्तिकारी बनाउन केन्द्रित हुनुपर्ने बताएका छन् । उनले एमाले पनि अहिले सैद्धान्तिक र वैचारिक अन्योलमा रहेकाले एकता हुन नसक्ने बताएका छन् । उनले भनेका छन्, ‘हामीले सही तरिकाले पार्टीलाई ठूलो बनाउनका लागि सही तरिकाले सञ्चालन गर्नुपर्छ । आफू बलियो भएपछि एकता गर्ने हो । यो एकताको समयभन्दा पनि मजबुत बन्ने समय हो । पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्छ । युवाहरूलाई नेतृत्वमा ल्याउनुपर्छ ।’
उनले बैठकमा आफू माओवादीसँग एकतामा नजाने, जानेलाई नरोक्ने बताए । खनालले भने, ‘अध्यक्ष माधव नेपाल जानुहुन्छ भने जानुहोस्, म त जाँदिनँ । यो समय माओवादीसँग एकता गर्ने होइन । जानुहुन्छ भने जानुहोस् । म हात मिलाउनेछु, सलाम भन्ने छु ।’
खनालले ४० वर्षमुनिका युवालाई नेतृत्व स्वीकार्न आफू तयार रहेको र अरु जसले त्यो स्वीकार्छ, त्यस पार्टीसँग एकता गर्न तयार रहेको बताएका छन् ।
उनले भने, ‘युवाहरूलाई नेतृत्वमा ल्याउनुपर्छ । म ४० वर्षका युवाहरूलाई नेतृत्व स्वीकार्छु । विशेष परिस्थितिमा माधव नेपाललाई पनि मैले स्वीकारेको हो । अहिले पनि युवाहरूलाई स्वीकार्न समस्या छैन । तर, लुरुलुरु माओवादीमा जाने कुरामा मेरो सहमति छैन ।’
महासचिव घनश्याम भुसाल झन् आफैँ अध्यक्ष हुने तयारीसहित पार्टी विभाजन गर्ने तर माओवादीसँग एकतामा नजाने अडान राख्दै आएका छन् । आजको बैठकमा पनि उनले त्यही कुरा दोहोर्याएका छन् ।
भुसालले माओवादीसँगको एकताको प्रयास पनि सतही र सैद्धान्तिक आधारबिनाको भएको बैठकमा बताएका छन् । उनले तत्कालै माओवादीसँगको एकताले दक्षिणपन्थलाई बलियो बनाउने जोखिम रहेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘माओवादीभित्रका गुटबन्दीहरूजस्ता छन्, त्यसलाई विचार नगरी हतारमा एकतामा गइयो भने एक–दुई जना कमरेडहरूलाई पद वा टिकट दिएर अरूको सत्यानाशबाहेक केही हुने छैन । यो ग्लानिपूर्ण, अवसादपूर्ण र अपमानपूर्ण हुनेछ । आजको आवश्यकता यो अपमानपूर्ण अवस्थालाई सच्याएर वाम आन्दोलनको नयाँ र क्रान्तिकारी मार्ग पहिल्याउनु हो ।’
भुसालले पुनर्गठनको सुरुवात गर्नु भनेको एउटा व्यक्ति हटाउने मात्र नभएको बताएका छन् । उनले भनेका छन्, ‘आज व्यक्ति यस्तो अवरोध हो, जसलाई समाजले इन्कार गरिसकेको छ । मैले त्यही भएर भनेको ‘प्रचण्ड कमरेड, माधव कमरेड, तपाईंहरू छोड्नुस्, भूमिका बदल्नुस् । त्यो भूमिकामा सान्दर्भिक हुनुहोला । किनभने यो भूमिकामा समाजले मानेन । हामीले त मानेकै हो, कार्यकर्ताले त मानेकै हुन्, सदस्यले त मानेकै हुन्, तर समाजले मानेन कमरेड । बाटो खोल्नुस् तपाईंहरू (पहिलो तहको नेतृत्व), अब हामी लैजान्छौँ । सैद्धान्तिक रूपले हामी योग्य छौँ ।’
आजको आवश्यकता यो अपमानपूर्ण अवस्थालाई सच्याएर वाम आन्दोलनको नयाँ र क्रान्तिकारी मार्ग पहिल्याउनु आवश्यकता रहेको भुसालले बताए ।
झलनाथ बोलिरहँदा माधव नेपाल पक्षका नेताहरूको होहल्ला
बैठकमा सम्मानित नेता झलनाथ खनाल बोलिरहँदा केन्द्रिय सदस्यहरूले होहल्ला गरे । माधव पक्षका केन्द्रीय सदस्यले खनाललाई डिस्टर्ब गरेपछि खनाल पक्षका केन्द्रिय सदस्यहरू पनि आफ्नो स्थानबाट उठेर प्रतिवाद गरेका थिए।
बैठकमा खनालले अध्यक्ष नेपालको आलोचना गर्दै माओवादीसँग एकतामा जान नहुने धारणा राखेका थिए।
एक केन्द्रिय सदस्यका अनुसार बैठक कक्षको अवस्था सामान्य बनाउन हम्मेहम्मे परेको थियो।
हालै एकीकृत समाजवादीमा गएका नेता बामदेव गौतमले भने पार्टी एकताको स्वागत गरे ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’