काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी सुधारका विभिन्न प्रस्ताव गरेका छन् । उनले पार्टीभित्रको वर्तमान स्थिरता, निर्णय प्रक्रियामा सीमित पहुँच र पुस्तान्तरणमा ढिलाइका कारण संगठन कमजोर हुँदै गएको भन्दै अब ढिलो नगरी निर्णायक कदम चाल्नुपर्ने आवश्यकता औंल्याए ।
थापाले आफ्नो प्रस्तावमार्फत कांग्रेसलाई नयाँ युगको राजनीतिमा सक्षम, जवाफदेही र जनमुखी बनाउन सुधारका खाका अघि सार्दै अहिलेको राजनीतिक अवस्था विशेष र असामान्य भएकाले दलभित्र पुराना ढर्रा तोड्दै नयाँ पुस्तालाई निर्णय प्रक्रियाको केन्द्रमा ल्याउनै पर्ने समय आएको बताए ।
उनले भने, ‘हामीले सुधारको कुरा गर्ने तर निर्णयमा ढिलो गर्ने परम्परा अब अन्त्य हुनुपर्छ । कांग्रेसलाई इतिहासको गतिको औजार बनाउन हामी सबैले साहसिक निर्णय लिनुपर्छ ।’
थापाले प्रस्तुत गरेको प्रस्तावमा पार्टीको संरचना, नेतृत्व छनोट, सदस्यता प्रणाली र उम्मेदवार चयन प्रक्रियामा आमूल परिवर्तन गर्नुपर्ने उल्लेख छ ।
उनले पार्टीको सदस्यता सबैका लागि खुला र सहज बनाउनुपर्ने बताए । उनका अनुसार, अब पार्टीका सदस्यहरू केवल नामका मात्र होइन, निर्णय प्रक्रियामा बराबर सहभागी हुने सुनिश्चितता गर्नुपर्छ ।
त्यस्तै, थापाले पार्टीको नेतृत्व चयन तलका तहबाटै हुने प्रणाली लागू गर्नुपर्ने प्रस्ताव पनि अघि सारे । उनले भने, ‘अब कसैले माथिबाट पद नपाउने, हरेक नेतृत्व तल्लो तहबाटै निर्वाचित भएर आउने व्यवस्था गर्नुपर्छ । यही लोकतन्त्रको मर्म हो ।’
बैठकमा थापाले पार्टीको संविधान संशोधनका विषयमा पनि सघन छलफलको आवश्यकता औंल्याउँदै आठौँ संशोधनका लागि मस्यौदा समिति गठन गर्न आग्रह गरे । उनका अनुसार, पार्टीको सबै तहमा निर्णय प्रक्रियामा सदस्यहरूको भूमिका, नेतृत्व छनोटको प्रणाली, जिम्मेवारी र पदावधि र संगठनात्मक अधिकारहरू स्पष्ट हुने गरी संविधान संशोधन गर्नुपर्छ ।
थापाले भने, ‘हामी अहिले विशेष र असामान्य अवस्थाबाट गुज्रिरहेका छौं । यदि नियमित महाधिवेशन सम्भव छैन भने, अब विशेष केन्द्रीय महाधिवेशनको बाटो खोल्नुपर्छ ।’
थापाले त्यसका लागि आफूहरुले पद छाड्न तयार रहेको बताए । ‘हामी पदका लागि होइन, सुधारका लागि होमिन तयार छौं । आवश्यकता परे म कार्यकारी पद छोडेर साधारण सदस्य भएर पनि सुधारका अभियानमा अघि बढ्न तयार छु ।’
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु