जेन-जी आन्दोलनमा प्रचण्डको भूमिका शंकास्पद छ, बंगलादेश बन्छ भनेर घोषणा गरेकै थिए: ओली

राजनीति

जेन-जी आन्दोलनमा प्रचण्डको भूमिका शंकास्पद छ, बंगलादेश बन्छ भनेर घोषणा गरेकै थिए: ओली

kp oli

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गतेको प्रदर्शनमा माओवादीले हिंसा र तोडफोड मच्चाउन भूमिका खेलेको आरोप लगाएका छन् ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायरसाइड’मा रूपेश श्रेष्ठसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

ओली प्रधानमन्त्री भएका बेला संसद‍्मा उभिएर माओवादी अध्यक्ष पुष्पकमल दाहालले यो देश बंगलादेश बन्छ भनेर घोषणा गरेको पृष्ठभूमिमा कुरा गर्दै उनले प्रदर्शनका क्रममा माओवादीले लडाकुहरू खटाएको दाबी गरे । ओलीले आन्दोलनमा माओवादीले आफ्ना मान्छे सहभागी गराएको बताउँदै भने, ‘आफ्ना मान्छेलाई सहभागी गराउनु आफैँ सहभागी हुनुजस्तै हो । एक जना होइन, दुई जना हैन । जेन–जी बनाएर पठाएको छ । मान्छे खटाइएको छ । र, एकखाले सत्यतालाई ढाकछोप गर्ने प्रयास भयो ।’

उनले जेन-जी आन्दोलनपछि माओवादी अध्यक्ष दाहालले खेलेको भूमिकामाथि पनि प्रश्न गरेका छन् । दाहालले आफ्नो स्वार्थ पूरा गर्न प्रधानमन्त्री कार्कीको समर्थन गरिरहेको पनि टिप्पणी गरेका छन् । उनले दाहालले प्रधानमन्त्री कार्कीको समर्थन गर्नुको पनि केही कारण भएको बताउँदै भने, ‘प्रचण्डजी सायद डराएर हो या बच्नका लागि हो वा केका लागि हो, म जान्दिनँ तर उहाँले चाहिँ प्रधानमन्त्रीलाई समर्थन गरिराख्नुभएको छ ।’ ओलीले आफू दाहालजस्तो मान्छे नभएको तर्क गर्दै आफूले जिन्दगीभर लडेर डेमोक्रेसी ल्याएको र आफूलाई त्यसको माया भएको बताउँदै तर्क गरे, ‘यो संविधान लेख्दा, यो संविधान जारी गर्दा जे जे झेल्नु परेको थियो, मलाई त याद छ नि ! संशोधन गर्नुपर्छ । तर संशोधन गर्नु र रद्द गर्नु फरक कुरा हो नि ! यो संविधान रद्दको पक्षमा म छैन ।’

ओलीले प्रधानमन्त्री मान्ने तर उनी जुन बाटोबाट त्यहाँ पुगिन्, त्यसमा आफ्नो असहमति रहेको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीज्यूको व्यक्तिगत विषयमा म उति जान्दिनँ तर उहाँले निर्वाह गरेको भूमिका भनेको पूर्वप्रधानन्यायाधीशका रूपमा भूमिका निर्वाह गरेको हो । आज देशको प्रधानमन्त्रीको हैसियतमा हुनुभएको हुँदा नागरिकको र तपाईं मेरो सबैको जीवन र धनको सुरक्षा गर्ने, तपाईंलाई र मलाई बराबर न्याय हुन्छ भन्ने विश्वास दिलाउने काम गर्नुहुन्छ भन्ने मेरो विश्वास हो ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ