माधव नेपालले विलय गराइसकेको पार्टीबाट निकाले महासचिव घनश्याम भुसालसहितका ६ नेता

राजनीति

माधव नेपालले विलय गराइसकेको पार्टीबाट निकाले महासचिव घनश्याम भुसालसहितका ६ नेता

madhav-kisan-ramkumari-ghanashyam

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नै नेकपा माओवादी केन्द्र नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा विलय भइसकेको अवस्थामा माधवकुमार नेपालले ६ जना नेतामाथि कारबाही गरेका छन् ।

नेपालले पार्टी निर्णय उल्लङ्घन गरेको आरोपमा समाजवादी पुनर्गठन अभियान चलाइरहेका महासचिव घनश्याम भुसाल र पूर्व मन्त्री रामकुमारी झाँक्रीसहित ६ जनालाई साधारण सदस्यबाटै निष्कासन गरेका हुन् । बुधबार मात्रै १० दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ।

पार्टी केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकले केन्द्रीय कमिटीको तेस्रो बैठकद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै पार्टी विधानको धारा १२१(२) अनुसार उनीहरूलाई पार्टी सदस्य नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही व्यक्तिहरुले पार्टी केन्द्रीय कमिटीको कार्तिक १२ देखि १४ गतेसम्म सम्पन्न बैठकले गरेको नीति, विचार, सिद्धान्त र कार्यक्रम मिल्ने पार्टीसँग एकता गर्ने भन्ने निर्णयको उल्लङ्घन गरी भेला तथा पत्रकार सम्मेलनजस्ता गतिविधि गरेका छन्।’

विज्ञप्तिमा पार्टी निर्णयविपरीत गतिविधिमा संलग्न भएकाले घनश्याम भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्णकुमार श्रेष्ठ (किसान) लाई निष्कासन गरिएको हो।

पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अब कुनै पनि व्यक्तिले हाम्रो पार्टीको नाम र पद प्रयोग गरी भेला, बैठक, पत्रकार सम्मेलन वा अन्य गतिविधि गरेमा कारवाही गरिनेछ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ