प्रधानमन्त्री र मन्त्रीहरूको ढाल भएर हामी उभिएका छौं: सुदन

राजनीति

प्रधानमन्त्री र मन्त्रीहरूको ढाल भएर हामी उभिएका छौं: सुदन

sudan-gurung-1

हामी नेपालका संस्थापक सुदन गुरुङले गृह मन्त्रालयको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै सरकार ढाल्ने वा आन्दोलनलाई कमजोर पार्ने कुनै पनि प्रयासविरुद्ध आफ्नो समूह ढाल बनेर उभिने बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारलाई रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने तर नाजुक अवस्थाको फाइदा उठाउन खोज्नेहरूलाई रोक्ने स्पष्ट पारेका हुन्।

गुरुङले गृहमन्त्रीको कामबाट सन्तुष्ट हुन नसक्नु भावना नभई तथ्यमा आधारित असन्तुष्टि भएको बताए। उनले लेखेका छन्, ‘यो गृहमन्त्रीको असक्षमता र गैरजवाफदेहिताको आलोचना हो, न कि आम नागरिक र आन्दोलनको अनादर, या सरकार ढलाउने खेल वा संविधानमाथि धावा।’

आफूहरू स्कुले पोशाकमा मारिएका बालबालिकाको न्याय, भ्रष्टाचार र राज्य आतंकविरुद्ध सडकमा आएको स्मरण गराउँदै उनले भाषण नभई परिणाम चाहिएकोमा जोड दिए।

‘योग्यताको प्रमाण पदले होइन, परिणामले दिनुपर्छ। यदि वर्तमान गृहमन्त्रीको काम पुराना सरकारजस्तै भयो भने हामी चुप बस्दैनौँ,’ गुरुङले भने।

सरकारलाई सहयोग गर्ने तर प्रतिपक्षमा पनि बस्ने आफ्नो प्रतिबद्धता रहेको बताउँदै उनले सहिद परिवारप्रतिको वाचा पूरा गर्न आफूहरू आफ्नै सरकारका मन्त्रीलाई प्रश्न गर्न नडराउने स्पष्ट पारे।

उनले भने, ‘हामीलाई कुर्सी होइन, न्याय चाहिएको हो। आज उहाँहरूले म्यान्डेट बिर्सने हो भने सोच्नुस्, जब अरू पार्टीका हातमा त्यो कुर्सी पुग्छ भने देश कता जान्छ ?’

अन्तरिम सरकारले चुनाव गराउने मात्र नभई आन्दोलनलाई वैधानिकता दिने कदम पनि तुरुन्त अघि बढाउनुपर्नेमा उनले जोड दिए।

यद्यपि, गृहमन्त्रीको आलोचना गरे पनि प्रधानमन्त्री र जिम्मेवारीपूर्वक काम गर्ने अन्य मन्त्रीहरूलाई कमजोर पार्ने खेल सह्य नहुने उनले चेतावनी दिए।

‘जो कोही अहिले राजनीतिक खेल खेल्दै सरकार ढाल्ने वा आन्दोलन कमजोर पार्ने प्रयासमा छन्, उनीहरूले याद राखुन्, प्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरूको ढाल भएर हामी उभिएका छौँ,’ उनले थपे, ‘उनीहरूसम्म पुग्नुभन्दा पहिले हामीलाई पार गर्नुपर्छ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ