काठमाडौं । सरकारले व्यक्तिगत घटना दर्ता नियमावली २०७७ संशोधन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२’ स्वीकृत गरेसँगै अब नाम, जन्ममिति तथा विवाह दर्तालगायतका व्यक्तिगत घटनाका विवरणहरू एक पटकका लागि सच्याउन पाउने बाटो खुलेको छ ।
यसअघि व्यक्तिगत घटनाका विवरण सच्याउन मिल्ने गरी ऐन बने पनि त्यसमा पर्याप्त स्पष्टता नभएकाले धेरै नागरिक समस्यामा थिए । यसैलाई सहजीकरण गर्न नियमावली संशोधन गरिएको हो । यस निर्णयपछि नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक विवरण भएका व्यक्तिहरूले पनि अब एक पटकका लागि आफ्ना विवरण सच्याउन पाउनेछन् । व्यक्तिगत घटना विवरण दर्ता गर्ने वा सच्याउने काम वडा कार्यालयले गर्नेछ ।
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय परिचयपत्र तथा व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णयले व्यक्तिगत घटना विवरण सच्याउने प्रक्रियालाई स्पष्ट बनाएको बताइन् । उनले पहिले जन्म दर्ता अनिवार्य नभएका कारण र एसएलसी फारम भर्दा प्रायः विद्यार्थीको उमेर १६ वर्ष लेख्ने प्रचलनले जन्म मिति र नागरिकतामा एकरूपता नहुने समस्या आएको जानकारी दिइन् । उनले थपिन्, ‘धेरैलाई आफू जन्मँदाको नामसँग आत्मीयता नभएको वा विविध कारणले नाम परिवर्तन गर्नुपरेको समेत अवस्था थियो ।’
प्रधानमन्त्री कार्कीका अनुसार जन्म, विवाह, सम्बन्धविच्छेद, मृत्यु र बसाइँसराइ गरी पाँच प्रकारका व्यक्तिगत घटना दर्तामा विवरण सच्याउन सकिने प्रावधान रहेको छ ।
प्रधानमन्त्रीका अनुसार, धेरै व्यक्तिको जन्मदर्ताको विवरण नागरिकतासँग नमिल्दा विदेश जाने प्रक्रियादेखि वैदेशिक अध्ययन, रोजगारीलगायतका काममा समेत अप्ठ्यारो परेको थियो । यसका कारण करिब ५० हजारभन्दा बढी विद्यार्थीहरूले जन्म मिति सच्याउन नपाएर एसएलसी फारम भर्न नपाउने अवस्थासमेत सिर्जना भएको उनले औँल्याइन् ।
राष्ट्रिय परिचयपत्र तथा व्यक्तिगत घटना दर्ता ऐन, २०७६ को दफा २५ अनुसार, व्यक्तिहरूले आफ्नो व्यक्तिगत विवरण दर्ता भएको मितिले एक वर्षभित्र मात्र सच्याउन पाउने व्यवस्था थियो । त्यसपछि सच्याउन नपाइने भएकाले धेरैका लागि वास्तविक गल्तीहरू सुधार्न असम्भव भएको थियो । उदाहरणका लागि, यदि कसैको नागरिकता २०७५ असोज ७ मा जारी भएको छ भने उक्त विवरणको गल्ती २०७६ असोज ७ भित्र मात्र सच्याउन पाइन्थ्यो । नियमावली संशोधनले यो कानुनी जटिलतालाई हटाएको छ, जसले गर्दा नागरिकहरूले आफ्नो वास्तविक विवरणलाई आधिकारिक बनाउन सक्नेछन् ।
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
बालेन्द्र साहले चैत १४ गते प्रधानमन्त्रीको सपथ लिने सम्भावना
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर