काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग सोमबार साँझ बालुवाटारमा छलफल गरेकी हुन् ।
उपत्यकाका तीनवटै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे । त्यसका लागि सहयोग गर्न आफूहरु तयार रहेको उनीहरुको भनाइ थियो।
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग सामूहिक कुराकानी गर्न बालुवाटारमा डाकेको छलफलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सहभागी भएनन्।
उपत्यका मेयर्स फोरमका सदस्यहरूसँगको छलफलमा मेयर बालेन अनुपस्थित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यो फोरम भनेको उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तह प्रमुखहरूको साझा मञ्च हो।
उपत्यकाका समस्या सामूहिक छलफलबाट समाधान गर्न र एकअर्काका अनुभव आदानप्रदान गर्न गठन गरिएको फोरमका बैठकमा यसअघि पनि मेयर बालेन जाने गरेका थिएनन्। उनी अहिलेसम्म फोरम बैठकमा तीन पटक मात्र सहभागी भएका छन्। एउटा बैठक त बीचैमा छाडेर निस्केका थिए। यसपालि प्रधानमन्त्रीले नै डाक्दा पनि उनी अनुपस्थित रहे।
फोरमका संयोजक तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार प्रधानमन्त्री कार्कीले ठूलो चित्तदुखाइ प्रकट गरेकी थिइन्।
‘तपाईंहरू सबै आउन हुने, बालेनजी चाहिँ किन आउन नहुने,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै महर्जनले भने, ‘भन्ने बेला मलाई सबैले बालेनले बनाएको प्रधानमन्त्री भन्छन्, तर उहाँ मैले नै बोलाउँदा पनि छलफलमा आउनुहुन्न।’
काठमाडौं उपत्यकाको समग्र समस्याबारे छलफल गर्न बोलाउँदा पनि राजधानीकै मेयर अनुपस्थित हुनुलाई लिएर प्रधानमन्त्री कार्कीले दु:ख व्यक्त गरेको पनि फोरमका संयोजक महर्जनले बताए।
‘हामीले बालेनजी अनुपस्थितिबारे कुरै नगर्दा पनि उहाँले आफैले कुरा उठाउनुभयो र चित्तदुखाइ व्यक्त गर्नुभयो,’ उनले भने, ‘हामीले प्रधानमन्त्रीसँग काठमाडौं उपत्यकाको फोहोरमैला समस्या समाधानबारे कुरा राखेका थियौं। सबभन्दा बढी फोहोर उत्पादन हुने काठमाडौं महानगरपालिकाकै मेयर यस्तो छलफलमा अनुपस्थित रहेपछि यो समस्याको निकास कसरी निकाल्न सकिन्छ?’
उनका अनुसार फोरमले काठमाडौं उपत्यकाका समस्या प्रधामन्त्रीलाई सुनाउन लामो समयदेखि भेटघाटको समय मिलाउन खोजेको थियो। त्यही क्रममा सोमबार साँझको समय मिलेपछि संयोजकका रूपमा आफ्नै सचिवालयले उपत्यकाका सबै मेयरलाई सूचना पठाएको उनले बताए।
‘प्रधानमन्त्रीबाट आजको समय पाएपछि मेरो सचिवालयले उपत्यकाका सबै मेयरलाई फोन गरेको थियो,’ उनले भने, ‘अरू सबै मेयरसँग कुरा भयो, बालेनजीसँग चाहिँ हाम्रो सम्पर्क भएन। उहाँले मेरो सचिवालयको फोन पनि उठाउनुभएन, मेसेजको जबाफ पनि दिनुभएन।’
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’