काठमाडौं । अस्ट्रेलियाले आजदेखि १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि पूर्ण प्रतिबन्ध लागु गर्दै छ । अस्ट्रेलिया १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा रोक लगाउने विश्वको पहिलो देश बनेको छ ।
आज देखि १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई टिकटक, युट्युब, इन्स्टाग्राम र फेसबुकजस्ता साइटहरू खोल्न दिने छैन ।
सरकारले बालबालिकाको स्वास्थ्य र सुरक्षालाई लिएर यो कदम चालेको बताएको छ । यो नियम उल्लंघन गर्ने कम्पनीहरूलाई ठूलो परिमाणमा जरिबाना तिर्नुपर्ने सरकारले बताएको छ ।
नोभेम्बर २०२४ मा पारित कानुनको उल्लंघन गर्ने कम्पनीहरूलाई ४.९५ करोड अस्ट्रेलियाली डलरसम्मको जरिबाना लगाउन सकिन्छ ।
बालबालिकाको अनलाइन सुरक्षालाई लिएर अन्य धेरै देश पनि यस्तै उपायहरूमाथि गम्भीरतापूर्वक विचार गरिरहेका छन् ।
अमेरिकामा के छ ?
अमेरिकामा लागु भएको एक कानुनले कम्पनीहरूलाई १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई अभिभावकको सहमतिबिना सामाजिक सञ्जाल प्रयोग गर्नबाट रोकेको छ ।
धेरै अमेरिकी राज्यहरूले सामाजिक सञ्जाल चलाउनका लागि माता–पिताको अनिवार्य सहमति लिन कानुन बनाएका छन् । तर, त्यहाँ उनीहरूले अभिव्यक्तिको स्वतन्त्रताको अधिकारका कारण कानुनी चुनौतीहरूको सामना गर्नु परिरहेको छ ।
युरोपमा के छ कानुन ?
युरोपेली संसद्ले नोभेम्बरमा एक प्रस्ताव पारित गर्यो, जसमा सामाजिक सञ्जालमा न्यूनतम उमेर सीमा १६ वर्ष गर्ने सिफारिस गरिएको छ ।
पूरै ईयूमा १३ वर्षको डिजिटल आयु सीमा र भिडियो–सेयरिङ सेवाहरू तथा एआई प्रयोगमा १३ वर्षको सीमा तय गर्ने तयारी गरिएको छ ।
ब्रिटेन
२०२३ मा पारित ‘अनलाइन सेफ्टी एक्ट’ले सामाजिक सञ्जाल कम्पनीहरूमाथि कडाइ बढाएको छ । यसपछि हानिकारक सामग्रीबाट नाबालकहरूलाई बचाउन कम्पनीहरूलाई उमेरमा आधारित उपायहरू अबलम्बन गरिएको छ ।
यद्यपि, सामाजिक सञ्जालको प्रयोगका लागि ब्रिटेनमा अहिले कुनै उमेरको सीमा निर्धारित गरिएको छैन ।
जर्मनीमा थप कडाइको आवश्यकता
हाल जर्मनीमा १३ देखि १६ वर्षका किशोरकिशोरीहरूले सामाजिक सञ्जालको प्रयोग तब मात्र गर्न सक्छन्, जब उनीहरूका माता–पिताले सहमति दिन्छन् । तर, धेरै विज्ञहरूको भनाइमा जर्मनीमा हालको नियन्त्रण पर्याप्त छैन ।
डेनमार्क
डेनमार्कले यसै वर्ष नोभेम्बरमा त्यहाँ १५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्ने घोषणा गरेको छ । १३ वर्षसम्मका बालबालिकालाई अभिभावकले अनुमति दिन सक्छन् । यसलाई संसद्को समर्थन मिलिसकेको छ ।
इटाली
इटालीमा १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खाताका लागि अभिभावकको अनुमति चाहिन्छ । १४ वर्षपछि सहमति आवश्यक छैन ।
चीन
चीनमा ‘माइनर मोड’ प्रणाली लागु छ । यस अन्तर्गत उमेरको आधारमा स्क्रिन टाइम सीमित गर्नका लागि डिभाइसहरू र एपहरूमा पनि खास किसिमका नियन्त्रणका विकल्पहरू रहेका छन् ।
मलेसियामा पनि कडाइ
मलेसियाले नोभेम्बरमा सन् २०२६ देखि १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
फ्रान्स
फ्रान्सले सन् २०२३ मा एक कानुन पारित गर्यो जसअनुसार १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खाता बनाउनका लागि अभिभावकको सहमति लिन जरुरी छ । तर, हाल प्राविधिक जटिलताहरूको कारणले यसलाई लागु गर्नमा कठिनाइ आइरहेको छ ।
नर्वेको नियम
नर्वेमा सन् २०२४ मा सामाजिक सञ्जाल प्रयोग गर्ने न्यूनतम उमेर १३ बाट बढाएर १५ वर्ष गरियोस् भन्ने प्रस्ताव पारित भइसकेको छ । जसअनुसार १५ वर्षभन्दा कम उमेरका बालबालिकाले अभिभावकसँग अनुमति लिनुपर्नेछ । सरकार अहिले १५ वर्षको न्यूनतम आयु सीमालाई अनिवार्य बनाउने कानुन तयार गरिरहेको छ ।
टेक कम्पनीहरूका आफ्नै नियम
टिकटक, फेसबुक र स्न्यापच्याटजस्ता प्लेटफर्महरू आफैँमा कम्तीमा १३ वर्षका प्रयोगकर्ता चाहन्छन् । तर, विज्ञहरूको भनाइमा यी प्लेटफर्महरूमा यसलाई कडाइका साथ लागु गरिएको छैन ।
धेरै युरोपेली देशहरूका आधिकारिक तथ्यांकहरूले १३ वर्षभन्दा कम उमेरका धेरै बालबालिका सामाजिक सञ्जाल प्रयोग गरिरहेको बताउँछन् । डीडब्ल्यू डटकमबाट ।
अभिभावकहरूलाई ठूलो मानसिक शान्ति मिल्नेछ : अष्ट्रेलियाली प्रधानमन्त्री
अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजीले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी निर्णयले बालबालिकाको बाल्यकाल सुनिश्चित गर्ने बताएका छन् ।
अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई सामाजिक सञ्जालमा पहुँच रोक्न कानूनको कार्यान्वयन बुधबारबाट सुरु भएको छ । जसअनुसार मेटा, टिकटक, युट्युबजस्ता कम्पनीहरूले लाखौँ खाता निष्क्रिय गरिसकेका छन् ।
प्रधानमन्त्री अल्बानिजीले सामाजिक सञ्जाल प्रतिबन्धको निर्णय कार्यान्वयनमा सहयोग गर्ने अष्ट्रेलियाका राज्य र क्षेत्रका नेताहरूलाई धन्यवाद समेत दिएका छन् । उनले अभिभावकहरूलाई ठूलो मानसिक शान्ति प्रदान गर्न र अष्ट्रेलियाली बालबालिकाको बाल्यकाल सुनिश्चित गर्न आवश्यक भएको भन्दै आफ्नो कदमबारे स्पष्टीकरण दिएका छन् । अष्ट्रेलियामा सन् २०२४ को नोभेम्बरमा पारित भएको ‘अनलाइन सेफ्टी अमेन्डमेन्ट (सोसल मिडिया मिनिमम एज) ऐन, २०२४’ ले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको पहुँच रोक्न अनिवार्य गरेको थियो । यही कानून अहिले कार्यान्वयनमा आएको हो ।
यसमा फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, युट्युब, एक्स (ट्विटर), रेडिट, ट्विच, थ्रेड्स र किक एपलाई ‘एज-रेस्ट्रिक्टेड सोसल मिडिया सर्भिसेज’ अन्तर्गत राखिएको छ । यसमा डिस्कर्ड, रोब्लक्स, ह्वाट्सएप र लेमनएटजस्ता कतिपय प्लाटफर्मलाई भने समावेश गरिएको छैन । तथापि, यी एपमा टिनएज प्रयोगकर्ताको संख्या बढ्दै गए ‘एज-रेस्ट्रिक्टेड’ सूचीभित्र राख्ने अष्ट्रेलिया सरकारको योजना छ ।
प्रधानमन्त्री अल्बानिजीले जारी गरेको भिडियो सन्देशमा सामाजिक सञ्जाल फिडहरू र तिनले ल्याउने दबाबसँग हुर्केका बालबालिकालाई सरकारी कदमले परिवर्तनका निम्ति सहयोग पुर्याउने बताएका छन् । सरकारले कानून अन्तर्गत प्रतिबन्ध उल्लंघन गरेकोमा आमाबुबा र बालबालिकालाई दण्डित नगर्ने तर यसलाई लागू गर्ने जिम्मेवारी पूर्ण रूपमा सामाजिक सञ्जाल प्लेटफर्महरूको हुने स्पष्ट पारेको छ । गम्भीर वा बारम्बार उल्लंघन गर्ने प्लेटफर्महरूले ४ करोड ९५ लाख अष्ट्रेलियाली डलर (लगभग ३ करोड २८ लाख अमेरिकी डलर) सम्मको जरिवाना भोग्नुपर्नेछ ।
यो कानून कार्यान्वयनमा आएसँगै मेटाले अष्ट्रेलियामा ५ लाख सक्रिय प्रयोगकर्ता गुमाउने र विज्ञापनबाट हुने लाखौँको आम्दानी घट्ने अनुमान गरिएको छ । फेशन, गेमिङ र मनोरञ्जन–सम्बन्धी ब्रान्डका विज्ञापनको लक्षित वर्गमा टिनएज पुस्ता महत्त्वपूर्ण रहँदै आएका छन् । साथै, एज–भेरिफिकेसन सिस्टम तथा मनिटरिङ सिस्टम बनाउन कम्पनीहरूलाई थप आर्थिक भार पर्ने देखिन्छ । यस्ता कडा नियमनले विश्वव्यापी डिजिटल विज्ञापन बजारको स्वरूप नै बदल्ने त होइन भन्ने बहस सुरु भएको छ ।
सम्बन्धित खबर
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
बंगलादेशको सत्ता छाड्दा युनुसले नेपाल र सेभेन सिस्टर्सको प्रसंग उठाएपछि भारतमा तरङ्ग
बंगलादेश चुनावमा विद्यार्थी विद्रोहबाट स्थापित नयाँ दलले ६ सिट जित्दा पुरानालाई दुई तिहाई
बंगलादेशमा बीएनपीलाई बहुमत, १७ वर्षपछि देश फर्किएका खालिदा जियाका छोरा प्रधानमन्त्री बन्दै
सुनिल थापालाई सम्झिँदै प्रियंका चोपडाले भनिन्- तपाईं सँधै मेरो कोच भएर रहनुहुनेछ
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु