अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

प्रतिबन्ध

अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

अभिभावकहरूलाई ठूलो मानसिक शान्ति मिल्नेछ : अष्ट्रेलियाली प्रधानमन्त्री

Social-Media

काठमाडौं । अस्ट्रेलियाले आजदेखि १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि पूर्ण प्रतिबन्ध लागु गर्दै छ । अस्ट्रेलिया १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा रोक लगाउने विश्वको पहिलो देश बनेको छ ।

आज देखि १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई टिकटक, युट्युब, इन्स्टाग्राम र फेसबुकजस्ता साइटहरू खोल्न दिने छैन ।

सरकारले बालबालिकाको स्वास्थ्य र सुरक्षालाई लिएर यो कदम चालेको बताएको छ ।  यो नियम उल्लंघन गर्ने कम्पनीहरूलाई ठूलो परिमाणमा जरिबाना तिर्नुपर्ने सरकारले बताएको छ ।

नोभेम्बर २०२४ मा पारित कानुनको उल्लंघन गर्ने कम्पनीहरूलाई ४.९५ करोड अस्ट्रेलियाली डलरसम्मको जरिबाना लगाउन सकिन्छ ।

बालबालिकाको अनलाइन सुरक्षालाई लिएर अन्य धेरै देश पनि यस्तै उपायहरूमाथि गम्भीरतापूर्वक विचार गरिरहेका छन् ।

अमेरिकामा के छ ?
अमेरिकामा लागु भएको एक कानुनले कम्पनीहरूलाई १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई अभिभावकको सहमतिबिना सामाजिक सञ्जाल प्रयोग गर्नबाट रोकेको छ ।

धेरै अमेरिकी राज्यहरूले सामाजिक सञ्जाल चलाउनका लागि माता–पिताको अनिवार्य सहमति लिन कानुन बनाएका छन् । तर, त्यहाँ उनीहरूले अभिव्यक्तिको स्वतन्त्रताको अधिकारका कारण कानुनी चुनौतीहरूको सामना गर्नु परिरहेको छ ।

युरोपमा के छ कानुन ?
युरोपेली संसद्ले नोभेम्बरमा एक प्रस्ताव पारित गर्‍यो, जसमा सामाजिक सञ्जालमा न्यूनतम उमेर सीमा १६ वर्ष गर्ने सिफारिस गरिएको छ ।

पूरै ईयूमा १३ वर्षको डिजिटल आयु सीमा र भिडियो–सेयरिङ सेवाहरू तथा एआई प्रयोगमा १३ वर्षको सीमा तय गर्ने तयारी गरिएको छ ।

ब्रिटेन
२०२३ मा पारित ‘अनलाइन सेफ्टी एक्ट’ले सामाजिक सञ्जाल कम्पनीहरूमाथि कडाइ बढाएको छ । यसपछि हानिकारक सामग्रीबाट नाबालकहरूलाई बचाउन कम्पनीहरूलाई उमेरमा आधारित उपायहरू अबलम्बन गरिएको छ ।

यद्यपि, सामाजिक सञ्जालको प्रयोगका लागि ब्रिटेनमा अहिले कुनै उमेरको सीमा निर्धारित गरिएको छैन ।

जर्मनीमा थप कडाइको आवश्यकता
हाल जर्मनीमा १३ देखि १६ वर्षका किशोरकिशोरीहरूले सामाजिक सञ्जालको प्रयोग तब मात्र गर्न सक्छन्, जब उनीहरूका माता–पिताले सहमति दिन्छन् । तर, धेरै विज्ञहरूको भनाइमा जर्मनीमा हालको नियन्त्रण पर्याप्त छैन ।

डेनमार्क
डेनमार्कले यसै वर्ष नोभेम्बरमा त्यहाँ १५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्ने घोषणा गरेको छ । १३ वर्षसम्मका बालबालिकालाई अभिभावकले अनुमति दिन सक्छन् । यसलाई संसद्को समर्थन मिलिसकेको छ ।

इटाली 
इटालीमा १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खाताका लागि अभिभावकको अनुमति चाहिन्छ । १४ वर्षपछि सहमति आवश्यक छैन ।

चीन
चीनमा ‘माइनर मोड’ प्रणाली लागु छ । यस अन्तर्गत उमेरको आधारमा स्क्रिन टाइम सीमित गर्नका लागि डिभाइसहरू र एपहरूमा पनि खास किसिमका नियन्त्रणका विकल्पहरू रहेका छन् ।

मलेसियामा पनि कडाइ
मलेसियाले नोभेम्बरमा सन् २०२६ देखि १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

फ्रान्स
फ्रान्सले सन् २०२३ मा एक कानुन पारित गर्‍यो जसअनुसार १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खाता बनाउनका लागि अभिभावकको सहमति लिन जरुरी छ । तर, हाल प्राविधिक जटिलताहरूको कारणले यसलाई लागु गर्नमा कठिनाइ आइरहेको छ ।

नर्वेको नियम
नर्वेमा सन् २०२४ मा सामाजिक सञ्जाल प्रयोग गर्ने न्यूनतम उमेर १३ बाट बढाएर १५ वर्ष गरियोस् भन्ने प्रस्ताव पारित भइसकेको छ । जसअनुसार १५ वर्षभन्दा कम उमेरका बालबालिकाले अभिभावकसँग अनुमति लिनुपर्नेछ । सरकार अहिले १५ वर्षको न्यूनतम आयु सीमालाई अनिवार्य बनाउने कानुन तयार गरिरहेको छ ।

टेक कम्पनीहरूका आफ्नै नियम
टिकटक, फेसबुक र स्न्यापच्याटजस्ता प्लेटफर्महरू आफैँमा कम्तीमा १३ वर्षका प्रयोगकर्ता चाहन्छन् । तर, विज्ञहरूको भनाइमा यी प्लेटफर्महरूमा यसलाई कडाइका साथ लागु गरिएको छैन ।

धेरै युरोपेली देशहरूका आधिकारिक तथ्यांकहरूले १३ वर्षभन्दा कम उमेरका धेरै बालबालिका सामाजिक सञ्जाल प्रयोग गरिरहेको बताउँछन् । डीडब्ल्यू डटकमबाट ।

अभिभावकहरूलाई ठूलो मानसिक शान्ति मिल्नेछ : अष्ट्रेलियाली प्रधानमन्त्री

अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजीले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी निर्णयले बालबालिकाको बाल्यकाल सुनिश्चित गर्ने बताएका छन् ।

अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई सामाजिक सञ्जालमा पहुँच रोक्न कानूनको कार्यान्वयन बुधबारबाट सुरु भएको छ । जसअनुसार मेटा, टिकटक, युट्युबजस्ता कम्पनीहरूले लाखौँ खाता निष्क्रिय गरिसकेका छन् ।

प्रधानमन्त्री अल्बानिजीले सामाजिक सञ्जाल प्रतिबन्धको निर्णय कार्यान्वयनमा सहयोग गर्ने अष्ट्रेलियाका राज्य र क्षेत्रका नेताहरूलाई धन्यवाद समेत दिएका छन् । उनले अभिभावकहरूलाई ठूलो मानसिक शान्ति प्रदान गर्न र अष्ट्रेलियाली बालबालिकाको बाल्यकाल सुनिश्चित गर्न आवश्यक भएको भन्दै आफ्नो कदमबारे स्पष्टीकरण दिएका छन् । अष्ट्रेलियामा सन् २०२४ को नोभेम्बरमा पारित भएको ‘अनलाइन सेफ्टी अमेन्डमेन्ट (सोसल मिडिया मिनिमम एज) ऐन, २०२४’ ले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको पहुँच रोक्न अनिवार्य गरेको थियो । यही कानून अहिले कार्यान्वयनमा आएको हो ।

यसमा फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, युट्युब, एक्स (ट्विटर), रेडिट, ट्विच, थ्रेड्स र किक एपलाई ‘एज-रेस्ट्रिक्टेड सोसल मिडिया सर्भिसेज’ अन्तर्गत राखिएको छ । यसमा डिस्कर्ड, रोब्लक्स, ह्वाट्सएप र लेमनएटजस्ता कतिपय प्लाटफर्मलाई भने समावेश गरिएको छैन । तथापि, यी एपमा टिनएज प्रयोगकर्ताको संख्या बढ्दै गए ‘एज-रेस्ट्रिक्टेड’ सूचीभित्र राख्ने अष्ट्रेलिया सरकारको योजना छ ।

प्रधानमन्त्री अल्बानिजीले जारी गरेको भिडियो सन्देशमा सामाजिक सञ्जाल फिडहरू र तिनले ल्याउने दबाबसँग हुर्केका बालबालिकालाई सरकारी कदमले परिवर्तनका निम्ति सहयोग पुर्‍याउने बताएका छन् । सरकारले कानून अन्तर्गत प्रतिबन्ध उल्लंघन गरेकोमा आमाबुबा र बालबालिकालाई दण्डित नगर्ने तर यसलाई लागू गर्ने जिम्मेवारी पूर्ण रूपमा सामाजिक सञ्जाल प्लेटफर्महरूको हुने स्पष्ट पारेको छ । गम्भीर वा बारम्बार उल्लंघन गर्ने प्लेटफर्महरूले ४ करोड ९५ लाख अष्ट्रेलियाली डलर (लगभग ३ करोड २८ लाख अमेरिकी डलर) सम्मको जरिवाना भोग्नुपर्नेछ ।

यो कानून कार्यान्वयनमा आएसँगै मेटाले अष्ट्रेलियामा ५ लाख सक्रिय प्रयोगकर्ता गुमाउने र विज्ञापनबाट हुने लाखौँको आम्दानी घट्ने अनुमान गरिएको छ । फेशन, गेमिङ र मनोरञ्जन–सम्बन्धी ब्रान्डका विज्ञापनको लक्षित वर्गमा टिनएज पुस्ता महत्त्वपूर्ण रहँदै आएका छन् । साथै, एज–भेरिफिकेसन सिस्टम तथा मनिटरिङ सिस्टम बनाउन कम्पनीहरूलाई थप आर्थिक भार पर्ने देखिन्छ । यस्ता कडा नियमनले विश्वव्यापी डिजिटल विज्ञापन बजारको स्वरूप नै बदल्ने त होइन भन्ने बहस सुरु भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ