उपमहासचिवमा दोहोरिन चाहेका ओलीका प्रिय विष्णु रिमाल केन्द्रीय सदस्य पनि हारे

राजनीति

उपमहासचिवमा दोहोरिन चाहेका ओलीका प्रिय विष्णु रिमाल केन्द्रीय सदस्य पनि हारे

bishnu rimal

नेकपा एमालेको ११ औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरे।

ओली आफू सुरक्षित भए पनि पदाधिकारीमा भने आफ्नै पक्षको वर्चस्व कायम गर्न चुनौती थियो। नेतृत्वमा ओलीलाई स्वीकारे पनि दोस्रो र तेस्रो तहका नेताहरूको परस्पर प्रतिस्पर्धा, गुटभित्रका उपगुटबन्दी, परस्पर मतभिन्नता जस्ता कुरा कारण मुख्य थिए।

मनोनयनको मुखमा ओलीलाई यी सबै कुरा मिलाउन यस पटक निकै कठिन भएको देखियो। तैपनि उनले सकभर मिलाए। एकाधबाहेक धेरै ठुलो विद्रोह पनि भएन। यद्यपि आउने नतिजामा भने तमाम संशय बाँकी थिए। मुख्यतः महासचिव पदमा भिडेका शंकर पोखरेल नै हार्न सक्ने अनुमान बाक्लै भइरहेका थिए।

बिहीबार नतिजा आइसकेको छ। १९ पदाधिकारीमध्ये ओली पक्षका १७ जना निर्वाचित भएका छन्। ओली पक्षले थापेको ‘माखे साङ्लो’बाट ईश्वर पोखरेलको टिमका नेता गोकर्ण विष्ट उपाध्यक्षमा र उपमहासचिवमा योगेश भट्टराई फुत्किएर जित निकालेका छन्।

यो जित हारमा सबैभन्दा बढी चोट पूर्व उपमहासचिव रहिसकेका विष्णु रिमालमाथि परेको छ। योगेश जित्दा ओली पक्षबाट भिडेका विष्णु यस पटक उपमहासचिवमा हार्न पुगे।

तीन उपमहासचिव पदका लागि भएको निर्वाचनमा बाँकी दुई उपमहासचिवमा भने ओली पक्षकै लेखराज भट्ट र रघुवीर महासेठ जित्न सफल भए।  रिमाल पराजित भए। लेखराजले एक हजार ४५२, रघुवीरले एक हजार ३६८ र योगेशले एक हजार ३४८ मत सहित जित निकाल्दा विष्णुको पक्षमा एक हजार ९१ मत मात्रै खस्यो।

विष्णु उपमहासचिवमा मात्रै हारेनन् केन्द्रीय सदस्यकै निर्वाचन पनि हारेका छन्। खुला केन्द्रीय सदस्य पदमा भिडेका उनले ६३० मत मात्रै पाए।

विष्णु रिमाल ओलीका भित्रिया नै मानिन्छन्। पछिल्लो पटक ओली प्रधानमन्त्री हुँदा उनी प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार नै थिए। यसर्थ उनको स्थान ओलीको कोटरीमा सबैभन्दा मुख्य नै मानिन्छ।  यो अधिवेशन अन्य ओली पक्षका नेताका लागि फलिफाप नै देखिए पनि सबैभन्दा निकट विश्वास पात्रका लागि भने सबैभन्दा विर्सनलायक बनेको छ।

विष्णुको यो हारलाई कतिपयले उनकै स्वभावगत समस्या र कतिपयले अन्य नेताको प्रतिशोधपूर्ण नतिजा पनि भनिरहेका छन्। उनीमाथि ओलीलाई गलत ढंगले चलाएको आरोप लगाउनेहरू पनि छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ