काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो वरीयतामा बस्ने भएका छन् । रास्वपा सभापति रवि लामिछाने र बालेनबीच आइतबार बिहान ७ बुँदे सहमति भएको थियो । सहमतिअनुसार पार्टी, चुनाव चिह्न र झन्डा रास्वपाकै रहनेछ ।
रास्वपामा यसअघि ५० प्रतिशत आफ्नो पक्षका नेताहरू सहभागी गराउनुपर्ने लगायतका विषय बालेनको तर्फबाट अगाडि सारिएको थियो । लामिछानेले भने अहिले प्रतिशत भन्ने भन्दा पनि राम्रा मान्छेहरू सहभागी गराउनुपर्ने अडान लिएका थिए ।
त्यसपछि जेन-जी आन्दोलनमा सहभागी युवा तथा स्वच्छ छविका मानिसहरूलाई पार्टीमा सहभागी गराउनेबारे रवि र बालेनबीच सहमति भएको हो । रास्वपा र बालेनबीचको वार्तामा रास्वपाका तर्फबाट सहभागी शिशिर खनालले पार्टीको दोस्रो वरीयतामा बालेन रहने गरी सहमति भएको बताए ।
बालेनले अहिले कुनै पनि पद नमागे पनि पार्टीमा दोस्रो वरीयता हुने भएको हो । ‘पार्टी संरचनामा नयाँ, जेन-जी लगायतका युवाहरूलाई जोड्ने भन्ने छ । थप संरचना गठन हुनेछन् । बालेनले पद लिनुभएको छैन । उहाँले म केन्द्रीय समितिमा सदस्य मात्रै बस्छु भन्नुभएको छ । त्यो उहाँको सदासयता हो,’ खनालले भने, ‘त्यतिको नेतालाई पार्टीले सम्मानित पद दिनैपर्छ । उहाँ दोस्रो वरीयतामा बस्नुहुन्छ।’
बालेनलाई आगामी प्रतिनिधिसभा चुनावमा प्रधानमन्त्रीको उम्मेदवार तोक्ने र आगामी संसदीय दलमा दलको नेता घोषणा सहमतिपत्रमा नै उल्लेख गरिएको छ । त्यस्तो अवस्थामा पार्टीको दोस्रो वरीयतामा बालेन बस्नु स्वभाविक रहेको खनालको भनाइ छ । विगतमा कांग्रेस छोडेर स्वर्णिम वाग्ले पनि रास्वपा केन्द्रीय सदस्यका रूपमा नै संलग्न भएका थिए । हाल रास्वपामा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल र स्वर्णीम वाग्ले क्रमशः वरीयतामा छन् ।
सम्बन्धित खबर
रास्वपामा बालेनलाई रवि पछि दोश्रो वरीयता
रवि–बालेनबीच ७ बुँदे सम्झौता: रविले पार्टीको नेतृत्व गर्ने, बालेनलाई प्रधानमन्त्रीमा सारिने
रवि, बालेन र कुलमानसँग कुनै हालतमा मिल्दिनँ: हर्क साम्पाङ
रवि र बालेन पक्षबीच शुक्रबार भएन सहमति, शनिबार फेरि छलफल हुने
प्रधानमन्त्री कार्कीले शनिबार बालुवाटारमा शीर्ष नेतासँग छलफल गर्दै
क्याम्पस पढाउन पनि अब लाइसेन्स आवश्यक
यो पनि पढौँ
पोखरा विमानस्थलमा ट्याक्सी चालकको दादागिरी, यात्रुसँग अभद्र व्यवहार गर्ने ५ जना कारबाहीमा
‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक
फेवातालको सिमसार पुर्ने युवराज खतिवडालाई अभद्र व्यवहारको कसुरमा मुद्दा
पोखराको कृष्तिमा पुस १० मा सुन्तला महोत्सवको तयारी