पोखरा । प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा मंगलबार उम्मेदवारको मनोनयन दर्ता गरिँदै छ । निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराउनुपर्नेछ ।
मनोनयनका क्रममा एक राजनीतिक दलबाट बढीमा २५ जना मात्र सहभागी हुन पाउने गरी आचारसंहिता जारी भएको छ । बाजागाजा र कोणसभा पूर्णरुपमा निषेध गरिएको छ । आचारसंहिताअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारका काम गर्न पाइनेछ । यस अवधिमा मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा प्रचार सामग्री प्रकाशन वा प्रसारण र घरदैलो कार्यक्रम गर्न पाइने व्यवस्था छ । निर्वाचनमा विजयी भएपछि उम्मेदवारले कुनै प्रकारको भोजभतेर गर्न वा नगद तथा जिन्सी वितरण गर्न पाउने छैनन् ।
यसैबीच, कास्कीमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कास्कीका राजनीतिक दल, उम्मेदवार र सरोकारवालाले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार पोखरामा गरेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा सहभागीहरूले निर्वाचन सफल पार्न आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले आचारसंहिता पालना भए वा नभएको विषयमा प्रभावकारी अनुगमन गरिने बताए । ‘आचारसंहिता उल्लंघनका घटनामा उम्मेदवारको मनोनयन नै रद्द हुनेसम्मको कानुनी व्यवस्था छ,’ उनले भने ।
बैठकमा नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन सफल पार्नु सबैको दायित्व भएको र यसमा राजनीतिक दलहरू बढी जिम्मेवार हुनुपर्ने बताए । यस्तै, नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए । नेकपा कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले आचारसंहिता पालनामा विगतका कमजोरीबाट पाठ सिक्नुपर्ने बताए । कार्यक्रममा रास्वपा, राप्रपा, मंगोल नेसनल अर्गनाइजेन लगायत दलका प्रतिनिधि र पत्रकार सहभागी थिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिइन् । उनले जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी झन्डै २ हजार सुरक्षाकर्मी र २ हजार ३ सय ३ जना निर्वाचन प्रहरी परिचालन गरिएको बताइन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत राजन खनालले मनोनयन दर्ताका लागि भीडभाड हुन नदिन राजनीतिक दलहरूलाई आलोपालो समयको व्यवस्थापन गरिएको जानकारी दिए ।
प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले निर्वाचन आचारसंहिता २०८२ का विषयमा जानकारी गराउँदै यसको उल्लंघन गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना र कानुनी कारबाही हुने बताए ।
आचारसंहिताअनुसार राजनीतिक दल वा उम्मेदवारले सवारी साधन प्रयोग गरी एक जिल्लाबाट अर्को जिल्लामा मतदाता ओसारपसार गर्न पाउने छैनन् । जुलुस वा आमसभा गर्दा स्थानीय प्रशासन र प्रहरीलाई कम्तीमा २४ घण्टा अगावै जानकारी गराउनुपर्नेछ । यस्तै, जुलुस वा आमसभामा भाग लिने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन र झोला बोक्न नपाउने व्यवस्था गरिएको छ । यो आचारसंहिता नेपाल सरकारका मन्त्री, प्रदेश सरकार, स्थानीय कार्यपालिका, कर्मचारी, सुरक्षा निकाय, बैंक तथा वित्तीय संस्था र विकास साझेदार संस्थाहरूलाई समेत पूर्ण रूपमा लागू हुनेछ ।
कास्कीमा क्षेत्र नम्बर १ का लागि पोखरा महानगरपालिका वडा नम्बर १२ स्थित पशुपन्छी अनुसन्धान, विकास तथा परीक्षण केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय पोखरा १७ ड्यामसाइड स्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालयमा राखिएको छ । क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय कृषि, भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालयमा स्थापना गरिएको छ ।
कास्कीमा निर्वाचनका लागि १ सय ५३ मतदान स्थल र ३ सय ६३ मतदान केन्द्र तोकिएको छ । कास्कीमा ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह