निर्वाचन आचारसंहिता उल्लंघनका सूचना तथा उजुरीका लागि छुट्टै इमेल

निर्वाचन विशेषः

निर्वाचन आचारसंहिता उल्लंघनका सूचना तथा उजुरीका लागि छुट्टै इमेल

नागरिकले प्रमाणसहित उजुरी दिन सक्ने

election-pp

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन सम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी जानकारी दिन आयोगले साप्ताहिक रूपमा आयोजना गर्ने गरेको पत्रकार सम्मेलनका अवसरमा आज यहाँ सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता उल्लंघनका घटनाबारे नागरिकले प्रमाणसहित उजुरी दिन सक्ने गरी अलग्गै इमेलको व्यवस्था गरिएको जानकारी दिए ।

त्यसका लागि [email protected]’ मा इमेलमार्फत उजुरी पठाउन सकिने र त्यसरी उजुरी गर्नेको पहिचान गोप्य राखी आवश्यक कारबाही अगाडि बढाउने उनले बताए ।

जिल्ला आचारसंहिता अनुगमन समितिले समेत जिल्ला-जिल्लामा यस्ता अलग्गै इमेलको व्यवस्था गरेको प्रवक्ता भट्टराईले बताए ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी अन्तर्गत गत हप्ता संयुक्त निर्वाचन संचालन केन्द्र (जिइओसी) स्थापना, निर्वाचन आचारसंहिता कार्यान्वयन, निजी क्षेत्रका छाता संस्थाहरूसँग छलफल, कल सेन्टरमार्फत सरोकार भएकाहरूका जिज्ञासा सम्बोधन लगायत कार्य सम्पादन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

संयुक्त निर्वाचन संचालन केन्द्र संचालन

निर्वाचन अनुगमन निर्देशिकाको दफा ११ मा भएको व्यवस्था अनुसार निर्वाचन आयोगमा संयुक्त निर्वाचन संचालन केन्द्र स्थापना गरिएको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यही माघ ११ गते केन्द्रको उद्घाटन गरेका थिए ।

आयोगका सचिवको संयोजकत्वमा संचालन भएको सो केन्द्रमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरूको प्रतिनिधित्व रहेको छ । केन्द्रले निर्वाचन सम्बन्धमा जिल्ला तथा निर्वाचन क्षेत्रस्तरबाट प्राप्त सूचना विश्लेषण र समस्याहरू पहिचान गरी समाधानका लागि सहजीकरण गरिरहेको जनाइएको छ ।

तोकियो जिल्ला आचारसंहिता अनुगमन अधिकृत

जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि आचारसंहिता अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेक अन्य विषयमा र प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न जिम्मेवारी दिइएको हो ।

यसरी जिम्मेवारी दिइएको आचारसंहिता अनुगमन अधिकृतहरूले सरोकार भएकाहरूलाई आचारसंहिताबारे जानकारी गराउने काम गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यसैगरी आचारसंहिता पालनाका लागि प्रतिबद्धता गराउने, जिल्लामा क्रियाशील राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी र सरोकार भएकाहरूबीच अन्तरक्रिया कार्यक्रम संचालन गर्ने, आचारसंहिता पालना भए, नभएकाबारे अनुगमन गर्ने, प्राप्त उजुरी तथा सूचनाका आधारमा सम्बन्धित व्यक्ति/संस्थालाई स्पष्टीकरण सोध्ने लगायत कार्य भइरहेका आयोगका प्रवक्ता भट्टराईले बताए ।

उम्मेदवारका लागि बैंक खाता

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका व्यक्ति र राजनीतिक दलहरूलाई निर्वाचन खर्च प्रयोजनका लागि छुट्टै बैंक खाता संचालनको व्यवस्था गरेको छ । त्यसका लागि नेपाल राष्ट्र बैंकलाई पत्राचार र निर्वाचन अभियान बैंक खाता (संचालन तथा व्यवस्थापन) कार्यविधि तर्जुमा गरिएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १६ को खण्ड (ख) बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन अभियानका क्रममा गर्ने आम्दानी र खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा राजनीतिक दल तथा उम्मेदवारले अलग-अलग खाता खोलेर त्यसमार्फत रकम प्राप्त गर्ने र खर्च गर्ने व्यवस्था गरिएको जनाइएको छ ।

खाता खोल्ने र संचालन गर्ने सम्बन्धमा ‘निर्वाचन अभियान बैंक खाता (संचालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ तयार गरी सोही अनुसार सहजीकरणका लागि राष्ट्र बैंकमा पत्राचार गरिएको प्रवक्ता भट्टराईले बताए ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिले दल तथा उम्मेदवारका क्रियाकलाप नजिकबाट हेरिरहेको जनाएको छ । प्राप्त उजुरीका आधारमा कारबाही अघि बढाइएको पनि आयोगले जनाएको छ । समितिमा हालसम्म प्राप्त भएका २१ वटा उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा १२ वटाको जवाफ प्राप्त भएको जनाइएको छ । समितिमा प्राप्त बाँकी उजुरीहरू अध्ययनका क्रममा रहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds