बालेनको भाषण सच्याउँदै रविले भने- डोरीले होइन कानूनले बाँध्ने भनेको हो

राजनीति

बालेनको भाषण सच्याउँदै रविले भने- डोरीले होइन कानूनले बाँध्ने भनेको हो

'राजनीतिको ठेक्का हामीलाई छाडिदिनुस्'

balen-rabi

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको एक अभिव्यक्ति विवादित बनेपछि सच्याउने प्रयास गरेका छन् ।

आज इटहरीमा बालेनसँग स्टेज सेयर गर्दै उनले निर्माण व्यवसायीलाई फकाउने प्रयास गरे ।

बालेनले केही दिनअघि एक भाषणमा ठेकेदारलाई बाँधेर वा थुनेर भए पनि बाटो चाँडो बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसको विरोधमा निर्माण व्यवसायीहरुले एक विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्ति सच्याउन र माफी माग्न चेतावनी दिएको छ । आज आफ्नो भाषणमा बालेनले यो विषयमा केही टिप्पणी गरेनन् । रविले भने बालेनको भाषणलाई फरक व्याख्या गरे ।

उनले भने, ‘रास्वपाले आफ्ना कुरा राख्दा कतिपय मान्छे आत्तिएको देखिएको छ । म निर्माण व्यवसायी साथीहरुलाई भन्न चाहन्छु, तपाईंहरुले विज्ञप्ति निकाल्नु पर्दैन । ठूला/ठूला इक्वीपमेन्ट खरिद गर्ने तयारी गर्नुस, रातारात कसरी विकास निर्माण गर्ने हो, त्यतातिर लाग्नुस । देश विकासको दिशामा अघि बढिसक्यो । हामी असुरक्षित भएका हौं कि भन्नुभएको छ । त्यस्तो हुँदैन। हामीले डोरीले बाँध्ने भनेको होइन, कानूनले बाँध्ने भनेको हो ।’

रवि त्यसपछि कांग्रेस सभापति गगन थापाप्रति सोझिए । थापाले विकासका काम चाँडो गर्न १२/१५ वटा कानून फेर्नुपर्ने बताएका थिए ।

रविले भने, ‘२०/३० वर्ष सांसद र मन्त्री बनेपछि १२/१५ वटा कानून फेर्नुपर्छ भन्ने बल्ल ज्ञान आयो ? तपाईंको ज्ञान तपाईंसँगै राख्नुहोला ।’

राजनीतिको ठेक्का हामीलाई छाडिदिनुस्

लामिछानेले चुनाव सार्ने भए ४ दिन अगाडि ल्याउने प्रस्ताव गरेका छन्।

रविले भने, ‘सार्ने भए ४ दिन यता सारौँ हामीलाई ठिक छ। ४ दिन पनि अलि लामो भयो। यो अब सारौँ भन्ने कुरा नगरौँ। चुनाव गरौँ, चुनावले दिएको परिणाम स्वीकार गरौँ। देश अगाडि बढ्छ। लोकतन्त्रको ठेक्का कसैले नलिऊँ, लोकतन्त्र जोगाउने यत्तिका जनता छन्। यत्तिका सचेत जनताले देशमा लोकतन्त्र पनि जोगाउँछन्, देश बनाउँछन् पनि र बचाउँछन् पनि।’

उनले देशमा विधिको शासनमा अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘रास्वपाले आफ्नो अवधारणामा भनेको छ, थिति बसाल्नका लागि हो। हामी थिति बसाल्ने काम गर्नका लागि आएका हौँ। त्यसैले मजदुर, विद्यार्थी, शिक्षक कसैले पनि चिन्ता गर्न पर्दैन। कर्मचारी साथीहरूमा पनि कता–कता यो के गर्ने होरु सङ्गठन, ट्रेड युनियन खारेज हुने भयो होला भनेर यो हुँदैन भनेर विरोध गर्ने कुराहरू हामीले सुनेका छौँ। कसैले विरोध गर्नै पर्दैन।’

उनले ४६ साल पछिका सबै काण्डको छानबिन रास्वपाले गर्ने बताए।

उनले थपे, ‘प्रतिशोध हुँदैन, हिसाब हुन्छ। जति पनि लघुवित्त, सहकारी लगायतका जति पनि समाधान निकाल्न नसकेर आरोप माथि आरोप लगाएर यसलाई समस्याग्रस्त बनाएर राख्ने तर समाधान नगर्नेहरूलाई म यहीँबाट भन्न चाहन्छु। रवि लामिछानेलाई थुन्न बाहेक कुनै मान्छेले एक रुपैयाँ फिर्ता पायोरु पाएन। आरोप मलाई लगाऊ। तर रास्वपाको सरकारले १०० दिनभित्र साना बचतकर्ताको पैसा फिर्ता गर्न सुरु गर्छ, तयार भएर बस्नुहोला।’

उनले रास्वपा सरकार आएपछि सुकुम्बासी बस्तीमा डोजर चल्छ भनेर भ्रम चलाइएको बताए।

उनले भने, ‘सुकुम्मबासी समस्या समाधानको लागि शक्तिशाली आयोग बन्छ। त्यो आयोगमा रास्वपाका मान्छे होइन, एमालेका, माओवादीका, कांग्रेसका मान्छे होइनन्। देशका मान्छे, विज्ञ मान्छे र भूमिहीनको प्रतिनिधित्व हुने मान्छेहरू रहन्छन्। तिनको विज्ञताले बनाएको रिपोर्ट रास्वपाले कार्यान्वयन गर्छ। जहाँसम्म डोजरको कुरा छ, डोजर त सबभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको झुपडीमा होइन।’

उनले शिक्षकहरू स्मार्ट क्लासरुम कसरी बनाउने भन्नेमा केन्द्रित हुन आग्रह गरे। उनले भने, ‘राजनीतिको ठेक्का हामीलाई दिनुस्, हामी गरौँला। यो देशका विद्यार्थीलाई अब्बल शिक्षा कसरी दिने ? हरेक क्लासरुम र हरेक विद्यार्थीको भविष्य कसरी बनाउने ? तपाईँको सुरक्षा रास्वपाको नेताले गर्दैन, रास्वपाको नीतिले गर्छ। देशको शिक्षा नीतिले गर्छ। विद्यार्थीको भविष्य तपाईँ बनाउनुस्।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ