प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावमा पराजित होलान् भनेर आफूले नसोचेको बताएकी छिन्।
राष्ट्रिय समाचार समिति (रासस)की कालिका खड्कालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले चुनावमा ‘नसोचेको कुरा भएको’ बताएकी हुन्।
‘पुराना दलले पनि आत्तिनुपर्दैन। नयाँले मात्तिनु पर्दैन। हामीले पनि नसोचेको भयो। मैले त ओलीजी हार्नुहोला भन्ने सोचेको पनि थिइनँ। उहाँको ३०/४० वर्ष राजनीति गरेको ठाउँ, उहाँको इष्टमित्र सबै भएको ठाउँ हो’, कार्कीले भनेकी छिन्, ‘अन्तिममा भेट्दा मैले ओलीजीलाई भनेको थिएँ। राजनीतिमा कस्तो हुन्छ भने मेरा परिवारका मानिस पनि कांग्रेस छन्। वर्षभरि पार्टीलाई धारे हात लाउँछन् तर भोट दिनेबेलामा त्यसैलाई दिन्छन्। तपाईंलाई भोट दिन्छन् भनेको थिएँ। त्यस्तो होला भन्ने त मलाई पनि लागेको थिएन।’
विपक्षीले पाएको थोरै मतलाई पनि रास्वपाले सम्मान गर्नुपर्ने प्रधानमन्त्री कार्कीले बताएकी छन्।
‘राजनीतिमा निर्वाचन नभएसम्म यो पार्टी र त्यो पार्टी हुन्छ। निर्वाचनपछि अल्पमतलाई पनि जित्नेले बेवास्ता गर्नुहुँदैन’, कार्कीले भनेकी छिन्, ‘पुराना पार्टीलाई रास्वपाले सम्मान गर्नुपर्छ। सत्तापक्षले गलत गरेमा प्रतिपक्षले विरोध गर्नुपर्छ। राजनीति भनेको सामाजिक सेवा हो। भारतमा इन्दिरा गान्धीले त्यसैगरी हार्नुभएको थियो, पछि जित्नुभयो। नेपालका परिपक्व भएका नेतालाई जनताले बिर्सिँदैनन्। आज एउटा लहर आएको हो, भोलि अर्को आउन पनि सक्छ।’
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष ओली राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहसँग पराजीत भएका थिए। ओलीझापा–५ बाट निर्वाचन लड्दै आएका छन्।
बालेनप्रति विश्वास छ
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहप्रति आफूलाई विश्वास रहेको पनि बताएकी छन्।
उनले बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाल एक भएको सन्देश दिएको आफ्नो बुझाइ रहेको रहेको बताउँदै उनीप्रति विश्वस्त रहेको बताएकी हुन्।
‘बालेनप्रति विश्वास छ । केही होला भन्ने आशा पनि छ,’ उनले भनिन्।
बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर रास्वपा चुनावमा होमिएको थियो। त्यसलाई जनताले पनि अनुमोदन गरेको छ।
रास्वपा एक्लैले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ।
दलहरूले समानुपातिकबाट सांसद बन्नेहरूको सूची निर्वाचन आयोगमा बुझाएपछि आवश्यक प्रक्रिया सम्पन्न भएसँगै सरकार गठन प्रक्रिया अघि बढ्नेछ।
रास्वपाले सहमति अनुसार नै बालेनलाई संसदीय दल नेता हुँदै प्रधानमन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरिसेको छ।
प्रधानमन्त्री कार्कीले निर्वाचन गराउने जिम्मेवारी पूरा गरेको बताएकी छन्।
‘नयाँ सरकारले देशका युवालाई रोजगारी दिनुपर्छ। देशमा बस्ने वातावरण बनाउनुपर्छ। विदेश गएर बाकसमा फर्कनुपर्ने अवस्थाको अन्त्य होस्। शिक्षामा सुधार जरुरी छ। देशप्रति विश्वासको वातावरण बनाउनैपर्छ। प्राकृतिक स्रोतसाधनका हिसाबले अन्यन्तै सुन्दर देश छ। अब द्वन्द्व र तनावको अवस्था नहोस् । सबै मिलेर बस्ने वातावरण बनोस्,’ उनले भनिन्।
सचिवहरूले फनफनी घुमाए
प्रधानमन्त्री कार्कीले सबैभन्दा ठूलो सुधार सिंहदरबारभित्र गर्नुपर्ने आफूले देखेको बताएकी छन्।
‘हरेक कामलाई सचिवहरू फनफनी घुमाइरहँदा रहेछन्। आफ्नो स्वार्थको कुरामा दुई तीन वटा विकल्प ल्याउँछन्, आफ्नो स्वार्थको कुरा छैन र देशको कुरा छ भने त्यो हुँदैन र मिल्दैन मात्र भन्ने। अख्तियार देखाउने। केही सीप नलागे विवादमा परिन्छ हजुर भन्ने। त्यो मैले रद्दी देखेको छु। सरकारको काममा ७५ प्रतिशत असर त्यहाँबाट परेको छ,’ उनले कुराकानीमा भनेकी छन्।
नयाँ सरकारले सबैभन्दा पहिला जेनजीले राखेका तीन वटा माग पूरा गर्नुपर्ने धारणा राखेकी छिन्। सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र रोजगारीको व्यवस्था पूरा गर्नुपर्ने उनको भनाइ छ।
‘सबैभन्दा ठूलो समस्या रोजगारीको अभाव छ। भएका अवसरमा पनि नातावाद छ। यस्तो अवस्था हटाउँदै आर्थिक स्थितिमा सुधार गर्नुपर्छ। खुलेआम भ्रष्टाचार रोख्नुपर्छ,’ उनले भनिन्।
समयमा कुनै परियोजना पूरा नहुने अवस्था विद्यमान रहेको उनले बताएकी छन्।
‘नेपाली हो भने त पीर पर्नुपर्छ नि । आज म दुःखपूर्वक भन्दै छु, हामीले कुनै सहयोग पाएनौं । तर हामीले पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न प्रेरित गरेपछि यसबीचमा अख्तियारले केही ठूला मुद्दा अघि बढाएको छ। ४०–४५ थान भ्रष्टाचारका मुद्दा यही सरकार आएपछि दर्ता गरेको छ। अन्यथा कतैबाट सहयोग भएन। कर्मचारीतन्त्र चुस्तदुरुस्त हुनुपर्छ। ठूलो क्रान्तिकारी कदम नै अब कर्मचारीतन्त्र सुधारका लागि चाल्नु आवश्यक देख्दछु। अहिलेकै तरिकाले त राम्रो छवि ल्याउने देखिँदैन,’ उनले भनेकी छन्।
प्रधानमन्त्री कार्कीले आफूले विषम परिस्थितिमा प्रधानमन्त्री भएर जुन काम गर्नुपर्ने हो, त्यो पूरा गरेको उनले भनेकी छन्। उनले आफू अब पुरानै निजी दैनिकीमा फर्किंने पनि बताएकी छन्।
राष्ट्रपति हुने भन्ने पनि चर्चा छ नी भन्ने राससको जिज्ञासामा उनले अब अरु कुनै मोह नरहेको बताएकी छन्।
‘मभन्दा लायक र अवसर नपाएका मान्छे अरू पनि धेरै हुनुहुन्छ। सरकारलाई निर्वाचन गराउने जिम्मेवारी थियो। त्यो पूरा भयो ।
विकासका क्षेत्रहरुमा पनि केही प्रयास भएका छन्। नयाँ सरकारले देशका युवालाई रोजगारी दिनुपर्छ। देशमा बस्ने वातावरण बनाउनुपर्छ। विदेश गएर बाकसमा फर्कनुपर्ने अवस्थाको अन्त्य होस्। शिक्षामा सुधार जरुरी छ। देशप्रति विश्वासको वातावरण बनाउनैपर्छ। प्राकृतिक स्रोतसाधनका हिसाबले अन्यन्तै सुन्दर देश छ,’ उनको भनाइ छ।
देशमा द्वन्द्व र तनावको अवस्था नहोस् भन्ने आफ्नो कामना रहेको उनको भनाइ छ।
‘सबै मिलेर बस्ने वातावरण बनोस्। बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाल एक भएको सन्देश दिएको मैले बुझेको छु। मलाई बालेनप्रति विश्वास पनि छ। केही होला भन्ने आशा छ,’ उनले भनेकी छन्।
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह