काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई सार्वजनिक अभिव्यक्ति दिँदा जिम्मेवार र संयमित हुन निर्देशन दिएका छन्।
बुधबार ललितपुरस्थित एक होटलमा आयोजित रास्वपा सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले सांसदहरू अब सामान्य अभियन्ता वा पेशाकर्मी मात्र नभई जनप्रतिनिधि भएकाले पदीय गरिमा कायम राख्नुपर्ने उनले बताए।
‘जथाभावी अभिव्यक्ति दिने, यसलाई मनोरञ्जनको विषय बनाउने र हल्काफुल्का रूपमा प्रस्तुत हुने छुट कसैलाई पनि छैन, मलाई पनि छैन,’ लामिछानेले भने, ‘भोट दिएका जनताको शिर झुक्ने काम कुनै पनि अभिव्यक्ति वा क्रियाकलापबाट हुनु हुँदैन।’
उनले सांसदहरूले दिने अभिव्यक्तिले वैदेशिक सम्बन्ध र अर्थतन्त्रमा समेत प्रभाव पार्न सक्ने भएकाले सोचविचार गरेर बोल्नुपर्ने बताए।
यसैबीच, उनले सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमै उपचार गराउन आग्रह गर्दै जनताले भोग्ने समस्या आफैंले पनि अनुभव गर्नुपर्ने धारणा राखे।
‘जनताका छोराछोरीले भोग्ने अप्ठ्यारोबाट आफू अलग हुन मिल्दैन,’ उनले भने, ‘सरकारी सेवा सुधार गर्न चाहन्छौं भने त्यहीँबाट सेवा लिनुपर्छ।’
लामिछानेले सांसद पदले स्वतः ज्ञान नदिने भन्दै निरन्तर अध्ययन गर्न र संसद नचलेको समयमा गाउँ, टोल तथा चिया चौतारामा पुगेर जनताका समस्या सुन्न पनि निर्देशन दिएका छन्।
फाटो ल्याउन खोज्नेहरूको बिगबिगी छ
लामिछानेले सरकार बनेको बेलुकादेखि नै सरकार ढाल्न एउटा समूह लाग्ने गरेको बताउँदै आफूहरूभित्र फाटो ल्याउन खोज्नेहरूको बिगबिगी भएको बताए।
सभापति लामिछानेले भने, ‘हामी मिल्न सकेनौं भने र स्वार्थको बन्दी बन्यौं भने मात्रै समस्या हुन्छ।’ उनले अन्य दलहरूबाट रास्वपामा आएका निर्वाचितहरूलाई पनि पुराना दलबाट टाढा बस्नुपर्ने बताए। उनले जथाभावी अभिव्यक्ति दिने र हल्का मनोरञ्जन गर्ने छुट कसैलाई नभएको बताए। उनले भने, ‘प्रत्येक मतको इज्जत हुनुपर्छ।’ उनले निर्वाचितहरूलाई दिने अभिव्यक्तिबारे सचेत हुन र जिम्मेवार बन्न सुझाव दिए।
उनले जनताले मत दिएपछि सबैको भूमिका फेरिएको बताउँदै मत दिएका जनतालाई प्रभावित हुनेगरी काम गर्नुपर्ने बताए। उनले निर्वाचित सबैलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुपर्ने पनि बताए।
उनले कुन धाराले कहाँ के काम अड्किएको छ भनेर निर्वाचितहरूले थाहा पाउनुपर्ने बताउँदै भने, ‘कहाँ कसलाई भनेर हुन्छ भनेर दौडधुप नगर्नुहोला।’ उनले कुनै बहाना गर्न नपाउनेगरी जनताले आफूहरूलाई जिताएर पठाएको भन्दै आफूहरू सचेत हुनुपर्ने बताए।
नेपाली जनताले इतिहासमा कसैलाई नगरेको विश्वास रास्वपालाई गरेका छन्
सभापति रवि लामिछानेले जनताले ऐतिहासिक रूपमा आफ्नो पार्टीलाई विश्वास गरेको बताए ।
रास्वपाका सांसदलाई दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई बुधबार समापन सम्बोधन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन् । ‘नेपाली जनताले इतिहासमा कसैलाई नगरेको विश्वास यसपटक हामीलाई गरेका छन्,’ उनले भने ।त्यो जिम्मेवारीलाई सांसदहरूले महसुस गर्नुपर्ने सभापति लामिछानेले बताए । मुलुक र जनताले परिवर्तन खोजेको र त्यसलाई कसैले पनि रोक्न नसकेको लामिछानेको भनाइ थियो ।
‘पार्टी स्थापनाको सुरुवातमा हामीलाई सुन्न आउने मान्छेको संख्या यति पनि हुँदैनथ्यो तर आज त्यति जना हाम्रा सांसद छन्,’ लामिछानेले भने, ‘मुलुकले परिवर्तन खोजेको छ । मुलुक र जनताले परिवर्तन चाहेपछि दुनियाँको कुनै पनि शक्तिले रोक्न सक्दैन ।’
विधानको ‘राइट टु रिकल’को व्यवस्था कडाइका साथ लागू गरिनेछ
सभापति लामिछानेले सांसदहरूलाई अनुशासन उल्लंघन गरेमा फिर्ता बोलाउने चेतावनी दिए ।
पार्टीमा अनुशासन अत्यावश्यक रहेको भन्दै सभापति लामिछानेले सांसदहरूले अनुशासन उल्लंघन गरेमा पदबाट फिर्ता बोलाउने बताएका हुन् ।
पार्टी ठूलो बनेको र सरकार सञ्चालन गर्ने जिम्मेवारीमा रहेको बताउँदै उनले प्रत्येक सांसद अनुशासनमा बस्नुपर्ने बताएका हुन् । ‘सरकार करिब दुई तिहाइको बन्दैछ, संख्या घट्ला, अल्पमतपमा पर्ला भन्ने कुराको प्रवाह नगरीकन रास्वपाले जन्मदेखि आफ्नो विधानमा व्यवस्था गरेको ‘राइट टु रिकल’को व्यवस्था यसपटक कडाइका साथ लागू गर्नेछ,’ उनले भने ।
रास्वपा विधानको दफा ६९ मा जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकारको व्यवस्था रहेको छ । ‘पार्टीका सम्बन्धित क्षेत्रको साधारण सदस्यहरूलाई आफ्ना जनप्रतिनिधिले चित्त बुझ्दो काम नगरे फिर्ता बोलाउन पाउने अधिकार हुनेछ । केन्द्रीय समितिले बनाउने नियमावली बमोजिम सम्बन्धित क्षेत्रको साधारण सदस्यहरू निश्चित संख्या वा प्रतिशतले निर्णय गरे पार्टीको केन्द्रीय समितिले सम्बन्धित जनप्रतिनिधिको पदको खारेजीलाई प्रक्रिया सुरु गरिनेछ,’ रास्वपा विधानमा लेखिएको छ, ‘पार्टीका समानुपातिक जनप्रतिनिधिले पार्टीहित विपरीत काम गरेमा वा कार्यसम्पादन मूल्याङ्कनको आधारमा वा अन्य मनासिव कारण भएमा केन्द्रीय समितिले फिर्ता बोलाउन सक्नेछ । केन्द्रीय समितिले नियमावली बमोजिम जनप्रतिनिधिको पद खारेजीसम्मको प्रक्रिया गर्नेछ ।’
सांसदहरूको स्वतन्त्रता हुने तर अनुशासन कायम राख्नुपर्ने सभापति लामिछानेको भनाइ छ । स्वतन्त्रता र अनुशासनबीचको घेरा तोड्न नहुने उनको भनाइ थियो ।
सांसदका व्यक्तिगत स्वतन्त्रता हनन नगर्ने सभापतिका रूपमा आफ्नो मनसाय नरहेको बताउँदै सभापति लामिछानेले आगामी दिनमा पार्टीले अनुशासन कडाइका साथ पालना गराउने बताए । ‘यसपटक परिवार ठूलो छ, अनुशासन भएन भने अराजकता हुनेछ,’ लामिछानेले भने ।
सम्बन्धित खबर
रविले रास्वपाका सांसदहरूलाई भने: जथाभावी अभिव्यक्ति दिने र हल्काफुल्का रूपमा प्रस्तुत हुने छुट छैन
रवि-बालेनलाई चिनियाँ कम्युनिस्ट पार्टीको प्रशंसा, बीआरआईलगायत परियोजनामा सहकार्य गर्न प्रस्ताव
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
मोरङमा राष्ट्रपति सी जिनपिङको किताब जलाएपछि चीनको गम्भीर चासो
लज्जास्पद पराजय व्यहोरेको एमालेलाई प्रधानमन्त्रीको ढाडस: एकपल्ट हार्दैमा विचलित नहुनूस्
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
यो पनि पढौँ
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु