बालेन्द्र साहले चैत १४ गते प्रधानमन्त्रीको सपथ लिने सम्भावना

राजनीति

बालेन्द्र साहले चैत १४ गते प्रधानमन्त्रीको सपथ लिने सम्भावना

Balen_Shah

सरकार गठन हुन चैत दोस्रो हप्ता लाग्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कबिन्द्र बुर्लाकोटीले १४ चैतमा सरकार गठन हुने  सम्भावना रहेको जानकारी गराएका छन् ।

उनका अनुसार अझै केही संवैधानिक प्रक्रिया बाँकी नै छ । दलले समानुपातिक बन्दसूचीबाट दिएका नामबाट निर्वाचित सांसदलाई निर्वाचन आयोगले प्रमाणपत्र दिएकै छैन । अब उक्त कार्य पहिले हुनेछ । त्यसपछि सबै सांसदहरूको सपथग्रणको कार्यक्रम हुने बुर्लाकोटीले जानकारी दिए ।

‘शपथपछि दलको नेता चयन हुनेछ । त्यो बिचमा राष्ट्रपतिद्वारा कल हुन्छ’, उनले भने, ‘अनि मात्रै सरकार गठन हुने हो । यसका लागि १३, १४ चैतभन्दा अगाडि सरकार गठन हुने सम्भावना देख्दिन ।’

 ‘संसद् सचिवालयले सांसदहरूलाई शपथ गराएपछि संसदीय दलको बैठक बस्छ । संसदीय दलको नेता चयन हुन्छ । त्यसैले शपथभन्दा अगाडि प्रधानमन्त्री नियुक्ति हुँदैन । शपथअगाडि जानैपर्ने अहिले विशेष परिस्थिति पनि छैन,’ उनले भने, ‘सामान्य परिस्थितिमा शपथपछाडि नै प्रधानमन्त्री हो । सामान्य परिस्थितिलाई नै अगाडि लैजान चाहन्छौँ । यस विषयमा सभापति र वरिष्ठ नेताको सल्लाह भएको छ ।’

पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको हो । शपथपछि मात्रै सरकार बनाउने रास्वपाको योजनापछि नयाँ सरकार गठन केही दिन पछाडि धकेलिएको हो ।

यसअघि १० चैतभित्र नयाँ सरकार बन्न सक्ने बताइएको थियो । तर, सांसदको शपथपछि निर्माण गर्ने रास्वपाको तयारीपछि कम्तीमा १३ चैतअगाडि प्रधानमन्त्री नियुक्त नहुने निश्चित बनेको हो ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले १२ चैतमा सांसदहरूको शपथ गराउने गरी सरोकारवाला पक्षसँग छलफल भइरहेको बताए । त्यसअघि केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले ५ चैतको अपराह्न राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन बुझाउँदै छ । आयोगका प्रवक्ता नारायण भट्टराईले ५ चैतमा समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरेर राष्ट्रपतिसमक्ष अन्तिम मतपरिणाम प्रतिवेदन पेस गरिने बताए । यसका लागि राष्ट्रपति कार्यालयसँग समय लिइसकिएको छ ।

आयोगले अन्तिम परिणाम प्रतिवेदन बुझाएपछि औपचारिक रूपमा सरकार गठनको प्रक्रिया प्रारम्भ हुने कानुनी व्यवस्था छ । प्रतिवेदन प्राप्त गरेपछि राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्नेछन् । राष्ट्रपतिसमक्ष पेस गरेको प्रतिवेदन संसद् सचिवालय पुग्नेछ । प्रतिवेदन प्राप्त गरेपछि सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथग्रहणको औपचारिक तयारी थाल्नेछ । संसद् सचिवालयले सरकार र प्रमुख दल (रास्वपा)सँग सांसदहरूको शपथका सम्बन्धमा छलफल गरिरहेको छ ।

संविधानको धारा ८८ मा संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । अर्थात् प्रधानमन्त्री नियुक्ति हुन सांसदको शपथ लिनुपर्ने उल्लेख छैन । धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने उल्लेख छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ