दाङमा एक किशोरको हत्या भएको छ। राप्ती गाउँपालिका-२ बाह्रखुट्टीका १७ वर्षीय स्मिथ प्रधानको बिहीबार राति हत्या भएको हो।
उनको शव शुक्रबार मध्याह्न राप्ती-४ दोलाइ खोलाको सुख्खा नालामा भेटिएको थियो। टाउको, छाति र शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा स्मिथ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ ।
स्मिथका साथी राप्ती – १ पाखापानीका १६ वर्षीय आयुषमान थापा मगर घाइते छन् । राप्ती आधारभूत अस्पताल सिसहनियाँमा उपचार पछि थप उपचारका लागि उनलाई बुटवल रेफर गरिएको छ ।
स्मिथलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिकाका २० वर्षीय सन्दीप वली, राप्ती गाउँपालिकाका निवासी १८ वर्षीय निश्चल चौधरी र राप्ती गाउँपालिकाकै १८ वर्षीया आकृति बुढा छन्।
पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथ केही समयअघि घर फर्केका थिए ।
आकृतिले फेक आइडी बनाएर कुरा गरी स्मिथ र आयुषमानलाई भेट्न बोलाएकी थिइन् ।
एसपी श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट मध्येरातमा भेट्न बोलाएर कुटपिट गरेको र सो क्रममा स्मिथको हत्या भएको खुलेको छ।
‘नियन्त्रणमा लिएर दुवै हात बाँधिएको, मुखमा कपडा कोचिदिएर बोल्न नदिएको, चक्कुले छाती तथा अनुहारमा पटक-पटक आक्रमण भएको र हत्या पछि घिसारेर नालामा फालेको भन्ने तथ्य खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आयुषमानलाई ‘देबीसरा गाहा र स्वस्तिका राना मगर’ नाम उल्लिखित फेसबुक मेसेन्जरबाट भेट्न आऊ भनेर बोलाइएको थियो। त्यसपछि स्मिथ र आयुषमान बिहीबार बेलुकी ८ बजेतिर घरबाट सँगै राप्ती गाउँपालिका– ४ तर्फ निस्किएका थिए।
बोलाएको ठाउँमा पुग्दा त्यहाँ एक जना युवती (आकृति) थिइन्। उनले दुवैलाई लिएर केही पर एकान्तमा ठाउँमा पुगेपछि आयुष्मानलाई ‘तिम्रो लागि अर्को मान्छे आउँछ, यहीँ बस्नू’ भनेर स्मिथलाई मात्रै लिएर गएकी थिइन्। ५/७ सय मिटर पर सन्दीप र निश्चल बसेका थिए। आकृतिले त्यहाँ पुर्याउनासाथ उनीहरुले स्मिथको हात बाँधे, कुटपिट गरेका थिए ।
पछि आयुषमानमाथि उनीहरुले कुटपिट गरेका थिए। जसोतसो गरेर उनी भने उम्किएर शुक्रबार बिहान-३ बजे राप्ती गाउँपालिका-४ मौरीघाटस्थित दिदीको साथी गंगा रोकाको घरमा पुगेका थिए।
आयुषमानको ढाड, बाँया आँखा, बाँया गाला, कानमा चोट लागेको थियो। चोट ग्रस्त अवस्थामा पुगेका मगरलाई गंगा लगायतले बिहान ४ बजेतिर उपचारका लागि राप्ती आधारभुत अस्पताल सिसहनिया पुर्याएका थिए।
उनले नै घटनाबारे इलाका प्रहरी कार्यालय सिसहनीयामा तत्काल खबर गरेकी थिइन्।
त्यसपछि प्रहरी चौकी मसुरियाबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्रकुमार मल्ल अस्पताल पुगेका थिए। केही बेरमा सिसहनियाबाट प्रहरी नायव निरीक्षक बुद्धी रानाको टोली पनि पुगेको थियो।
सोधपुछका क्रममा आयुषमानले राति ११ बजे घटना हुँदा आफ्नो साथी स्मिथ पनि साथमै रहेको र उनीमाथि पनि निर्घात कुटपिट भएको उनले प्रहरीलाई बताएका थिए।
त्यसपछि इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको नेतृत्वमा ११ जनाको टोली स्मिथको खोजीमा खटिएको थियो।
खोजतलास गर्ने क्रममा घटनास्थलदेखि झन्डै डेढ किलोमिटर पूर्व तर्फ राप्ती – ४ को दोलई खोलाको सुख्खा पक्की नालामा टाउकोमा चोट ग्रस्त अवस्थामा प्रधानको शव मध्याह्न १२ बजेतिर प्रहरीले फेला पारेको थियो ।
यो घटना अनुसन्धानका क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
इप्रका भालुवाङबाट प्रहरी प्रमुख निरीक्षक पुष्कर सिंह ऐरीका अनुसार गएराति १० बजेदेखि बिहान ४ बजेको बीचमा उनीहरु तीन जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।
आकृति बुढा र हत्या गरिएका स्मिथ कक्षा ८ देखि १० सम्म सँगै पढेका थिए। उनै आकृतिले फेक आइडी बनाएर कुरा गरी स्मिथ र आयुषमानलाई भेट्न बोलाएकी थिइन्। आकृतिको योजना बनाएको र त्यसमा उनका दुई साथीले सहयोग गरेको प्रहरीले जनाएको छ। कलिलै उमेरको प्रेम सम्बन्ध र बदलाको भावनाका कारण घटना भएको देखिने प्रहरी बताउँछ ।
आयुष्मानले नै स्मिथलाई केटी साथीको बथडै छ भनेर लगेको स्मिथकी दिदी स्मृति प्रधानले बताएकी छन् । स्मिथ कुनै पनि युवतीसँग प्रेमसम्बन्धमा नरहेको र साथीको साथमा मात्र गएको स्पष्ट पारेकी छन् ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा