बुधबारको प्रतिनिधिसभाको बैठकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद र नेकपा एमालेका सांसदहरूबीच घोचपेच चल्यो । एमालेले पहिलोपटक नियमापत्ति जनाउँदै रास्वपाका सांसदले बोलेको कुरा रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्यालको ध्यानाकर्षण गरायो ।
अघिल्ला बैठकमा झैँ एमालेका सांसहरू ओलीको पक्राउको विरोधमा उत्रिए । सदनमार्फत सरकारलाई ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई बिनासर्त रिहा गर्न माग गरे ।
रास्वपाका सांसदहरू भने जेन-जी आन्दोलनमा दमन गर्ने दोषीलाई कारबाही गर्नुपर्ने बताए । रास्वपाका सांसद प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई ‘अपराधी’को संज्ञा दिन पछि परेनन् ।
बैठकमा रास्वपाका सांसद पुरुषोत्तम सुप्रभात यादवले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई ‘अपराधी’को संज्ञा दिए । अस्पतालको बेडमा रहेका ओलीले संसदमा कुविचार प्रवाह गरिरहेको पनि सांसद यादवले आरोप लगाए ।
सांसद यादवले भने ओली अस्पतालमा नभई कारागारमा हुनुपर्ने दाबी गरे । ‘जुन भूतले कमरेड ओलीलाई छलेको थियो, त्यही भूतले आज कमरेड बादललाई छलेको देखिन्छ । त्यसैले म सरकारसँग जोडदार माग गर्दछु– एउटा भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस्,’ यादवले भने, ‘किनकि, आज जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्ने थियो, त्यो हस्पिटलको बेडमा छ । त्यही बेडबाट कुविचार यो सम्मानित सदनसम्म पठाउँदै छ ।’
सांसद यादवले २३ र २४ भदौमा भएको जेन-जी आन्दोलन न्याय, समानता र अधिकारका लागि भएको बताए । ‘म आज यो सम्मानित सदनमा स्पष्ट रूपमा भन्न चाहन्छु– जेन-जी आन्दोलन किन भएको थियो, यो आन्दोलनको माग न्याय, समानता र अधिकारका लागि भएको कसैले पनि कहिल्यै बिर्सिनु हुँदैन । यो सरकार त्यही रक्तरंजित आन्दोलनको बलिदानमाथि बनेको हो,’ उनले भने, ‘कहिले जेन-जी घाइतेहरूको रोजगारी सुनिश्चित हुन्छ ? र, कहिले मृतक परिवारले न्याय पाउँछन् ?’
यादव जेन-जी आन्दोलनका क्रममा अभियन्ता थिए । उनले काठमाडौं जिल्ला प्रशासनबाट शान्तिपूर्ण आन्दोलनका गर्ने भनी अनुमति लिएका थिए । जेन-जी आन्दोलनबाट उदाएका उनी रास्वपाबाट सांसद बने ।
एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रतिवाद गरिन् । ‘एक माननीयले मेरो पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री सम्माननीय नेता केपी शर्मा ओलीलाई गरेको तुच्छ व्यवहारप्रति घोर आपत्ति व्यक्त गर्दछु । यो अभिव्यक्ति अभिलेखबाट हटाइयोस्,’ उनले भनिन् ।
विशेष समय सकिएपछि कार्यतालिकामा प्रवेश गर्नुअघि रास्वपा सांसद यादवको भनाइमा एमाले सांसद गुरु बरालले नियमापत्ति जनाए । बरालले प्रतिनिधिसभाको नियमावलीअनुरुपको अशिष्ट व्यवहार बोलीचालीको सन्दर्भमा रहेकाले हटाउन माग गरे । ‘हाम्रो पार्टीको अध्यक्ष पूर्वप्रधानमन्त्रीलाई अत्यन्त आपत्तिजनक अपराधीको संज्ञा सत्तापक्षका सांसदले दर्ज गर्नुभयो । अपराधी करार गर्ने यो संसद होइन, अपराधी न्यायालयले करार गर्छ,’ उनले भने, ‘धामी झाँक्रीको माग गर्नुभएको छ । प्रतिनिधिसभा अन्धविश्वासलाई विश्वास गर्ने ठाउँ होइन ।’
उनले एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’लाई पनि अपमान गरेकाले त्यस्ता शब्द रेकर्डबाट हटाउन माग गरे । एमाले सांसदको नियमापत्तिपछि आफ्नो ध्यानाकर्षण भएको सभामुख डोलप्रसाद अर्यालले जानकारी गराए ।
एमाले सांसद निता घतानीले ओलीमाथि लगाइएको मुद्दा तत्काल फिर्ता गर्न माग गरिन् । ‘हाम्रो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल फिर्ता गर्न जोडदार माग गर्दछु । राजनीतिक प्रतिशोधका आधार लगाएर यस्ता मुद्दाहरूले राजनीतिक मर्यादा र संविधानको मर्मलाई गम्भीर रूपमा कमजोर बनाउँछन् । संविधानको अधिकार र कानुनी संरक्षणलाई मध्यनजर राखेर मुद्दा तत्काल फिर्ता गरियोस्,’ सांसद घतानीले भनिन् ।
एमालेका अर्का सांसद टुकाभद्रा हमालले पनि ओली तथा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नि:सर्त रिहाइको माग गरिन् । ‘पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई गैरकानुनी ढंगले थुनामा राखिएको छ । उहाँहरू दुवैलाई बिनासर्त रिहाइ गर्न माग राख्दछु,’ उनले बैठकमा भनिन् ।
जेन-जी आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका ओली र गृहमन्त्रीको पदमा रहेका लेखकलाई १४ भदौमा पक्राउ गरिएको थियो । ओली र लेखकलाई गत २३ र २४ भदौको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले दोषी देखाएका आधारमा प्रकाउ गरिएको हो । हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोग उनीहरूमाथि छ । ओली र लेखकलाई बिहीबारसम्म हिरासतमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सम्बन्धित खबर
ओलीलाई रास्वपा सांसदले ‘अपराधी’को संज्ञा दिएपछि एमाले सांसदको प्रतिवाद
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, रेड नोटिस जारी गर्ने प्रक्रिया सुरु
जनताले कुनै दल लक्षित विद्रोह गरेका होइनन्, उनीहरूले केवल सुशासन खोजेका हुन्: सांसद थकाली
नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
सरकारले प्रतिशोध साँध्न थाल्यो: देव गुरुङ
यो पनि पढौँ
मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप