दक्षिण एसियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २७ औं स्मृति दिवस, लोकप्रिय मात्र होइन, आमजनताको प्रधानमन्त्री

राजनीति

दक्षिण एसियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २७ औं स्मृति दिवस, लोकप्रिय मात्र होइन, आमजनताको प्रधानमन्त्री

'युवालाई विश्वासमा लिएर काम गर्न सक्ने नेता'

manmohan adhikari

दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री एवं नेकपा (एमाले) का पहिलो अध्यक्ष मनमोहन अधिकारीको २७ औं स्मृति दिवस विभिन्न कार्यक्रमका साथ आज मनाइँदैछ ।

मनमोहन अधिकारी नेपालको कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका शीर्ष नेता थिए । अधिकारीको ०५६ साल वैशाख १३ गते चुनावी अभियानकै सिलसिलामा निधन भएको थियो ।

नेकपा एमाले नेता प्रदीप ज्ञवालीले पार्टीका पूर्व अध्यक्ष  अधिकारी युवालाई विश्वासमा लिएर काम गर्न सक्ने नेता भएको बताएका छन्।

उनले २०४७ सालमा तत्कालीन नेकपा माले र माक्सर्वादीको एकता गर्दा ३८ वर्षीय मदन भण्डारीलाई महासचिव बनाएर नेतृत्वमा युवालाई स्थापित गर्नुपर्छ भन्ने सन्देश दिएको बताए।

‘आफू ६९ वर्षको भए पनि ३८ वर्षीय मदन भण्डारीलाई महासचिव बनाएर मनमोहनले युवालाई विश्वासमा लिएर एमालेलाई उठाउनुभयो,’ ज्ञवालीले भने, ‘पुस्ता पुस्ताबीचको अतिवादी सोचलाई एमालेले अनुभव र जोशको संयोजनको अभ्यास गरेको थियो।’

ज्ञवालीले अहिलेको केही राजनीतिमा पुस्ताको अतिवादी सोच हाबी भएको बताउँदै उनले परिपक्वको मार्गदर्शन र युवाको ऊर्जाको संयोजनबाट मात्र देश बन्ने स्पष्ट पारे।

ज्ञवालीले नेपालको कम्युनिष्ट आन्दोलनलाई इतिहासमा नै ठूलो धक्का लागेको स्पष्ट पारेका छन्। उनले फागुन २१ को निर्वाचनबाट कम्युनिष्ट मात्र नभइ समग्र लोकतान्त्रिक शक्तिले नै धक्का खाएको उनको भनाइ छ। निर्वाचनपछि बनेको सरकारका गतिविधिले देश बिस्तारै निर्वाचित सर्वसत्तावादतिर जाने हो कि भन्ने चिन्ता थपिएको ज्ञवालीको भनाइ छ।

‘निर्वाचित सर्वसत्तावादतिर देश जान्छ कि भन्ने चिन्ता छ,’ उनले भने ‘सरकारले ट्रेड युनियन खारेज गर्ने पञ्चायती निरंकुशतासँग लडेको विद्यार्थी संगठन खारेज, स्वतन्त्र मिडियाको स्रोत नै सुकाइदिने  कुराले शंक गर्ने प्रशस्त ठाउँ दिएको छ।’

लोकप्रिय मात्र होइन, आमजनताको प्रधानमन्त्री

अधिकारी ०१० सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनबाट महासचिव निर्वाचित भएका थिए ।

नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनका पहिलो पुस्ताका शिखर पुरुष अधिकारीले नेपालको इतिहासकै स्वच्छ प्रधानमन्त्रीका रुपमा ९ महिने सरकारको नेतृत्व गरेका थिए ।

मनमोहन नेतृत्वको सरकारले नेपालमा पहिलोपटक सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७५ वर्ष पूरा भएका वृद्धवृद्धालाई मासिक भत्ताको व्यवस्था गरेको थियो । यसको ‘जस’ एमालेले अहिलेसम्मका चुनावमा लिँदै आइरहेको छ ।

तत्कालीन नेकपा माले र नेकपा मार्कस्वादीको एकीकरण भई ०४७ सालमा नेकपा एमाले निर्माण भएपछि मनमोहन एमालेको अध्यक्ष बनेका थिए । उनी जीवन पर्यन्त एमालेको अध्यक्ष रहे । मनमोहनको निधनपछि एमालेले अध्यक्ष पद खाली राखेको थियो । ०६५ को आठौं महाधिवेशनबाट मात्र एमालेले अध्यक्षको व्यवस्था गरेको थियो ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिकीकरण गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका अधिकारीले अंग्रेजविरुद्धको भारतीय स्वतन्त्रता संग्राममा समेत भाग लिएका थिए । ००३ सालमा बिराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गरेका अधिकारी नेपालको पहिलो मजदूर नेता पनि हुन् ।

करीब ६ दशक नेपाल कम्युनिस्ट पार्टीको नेताका रूपमा राजनीतिक आन्दोलनको नेतृत्व गरेका अधिकारीले पटक-पटक गरी करीब १७ वर्ष लामो कठोर जेल जीवन बिताएका थिए ।

०५६ सालको आम निर्वाचनका क्रममा काठमाडौंको गोठाटारमा आयोजित एक कार्यक्रममा अचानक बेहोस भएपछि उपचारकै क्रममा ०५६ वैशाख १३ गते अधिकारीको निधन भएको थियो । अधिकारी त्यस निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ र ३ बाट एमालेका उम्मेदवार थिए ।

अधिकारी ०४८ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए भने ०५१ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भई प्रधानमन्त्री बनेका थिए ।

यसैबीच, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निष्ठाको खडेरी परेको नेपाली राजनीतिमा अधिकारीको अभाव सधैं खड्किरहने बताएका छन् । मनमोहन स्मृति दिवसका अवसरमा ओलीले जारी गरेको वक्तव्यमा मनमोहन अधिकारीको ‘आराम नै हराम’ हो भन्ने उक्तिले आफूहरु सबैलाई निरन्तर प्रेरित गरेको उल्लेख छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ