काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन स्वतःस्फूर्त र शान्तिपूर्ण मात्र नभएर यसलाई हिंसात्मक र विध्वंसात्मक बनाउने गम्भीर पूर्वयोजना रहेको तथ्य बाहिर आएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको विस्तृत अनुसन्धान प्रतिवेदनले उक्त प्रदर्शनलाई एउटा समूहले शान्तिपूर्ण बनाउन खोजे पनि अर्को समूहले योजनाबद्ध रूपमा ‘हाइज्याक’ गरी संसद् भवनमै आगजनी गर्नेसम्मको तयारी गरेको निष्कर्ष निकालेको छ ।
सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवाको माग राखेर माइतीघरमा भेला भएका नवयुवाहरूको भिडमा गलत मनसाय भएका तत्त्वहरूले योजनाबद्ध रूपमा घुसपैठ गरी हिंसा भड्काएको आयोगको विश्लेषण छ ।
आन्दोलनलाई हिंसात्मक बनाउने तयारी प्रदर्शनअघि नै डिजिटल माध्यमबाट सुरु भएको थियो । प्रदर्शनलाई परिणाममुखी बनाउने भन्दै केही व्यक्तिले विभिन्न विद्यालयका डिजिटल बोर्ड र वेबसाइटहरू ह्याक गरी ‘No more screens, we are on streets’, र ‘We dont want likes – we want change – 8 September 2025’ जस्ता नाराहरू स्क्रिनिङ गरेका थिए ।
त्यति मात्र होइन, प्रदर्शनको अघिल्लो दिन नै ‘wake up Nepal’ नामक टिकटक अकाउन्टबाट ‘Anything could happen in tomorrow’s protest, so be ready with a Molotov cocktail…’ भन्दै पेट्रोल बम बनाएर आउन सार्वजनिक आह्वान गरिएको थियो । प्रदर्शन पूर्व नै संसद् भवन र सिंहदरबार लगायतका सार्वजनिक संरचनाहरू जलाइएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्माण गरिएका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल गराइनुले पनि विध्वंसको पूर्वतयारीलाई पुष्टि गरेको आयोगको ठहर छ ।
यसका साथै, विद्यार्थीहरूलाई मानव ढालका रूपमा प्रयोग गर्ने गम्भीर षड्यन्त्र समेत भएको प्रतिवेदनले औँल्याएको छ । नेपाल प्रहरीको नक्कली फेसबुक पेज बनाएर प्रहरीले विद्यार्थी पोसाकमा रहेकाहरूमाथि बल प्रयोग गर्न नसक्ने भ्रम फैलाउँदै सबैलाई विद्यालय पोसाकमै आउन आह्वान गरिएको थियो ।
घटनापछि ती सामाजिक सञ्जालका खाताहरू निष्क्रिय बनाइनुले यो योजनाबद्ध चाल भएको पुष्टि हुन्छ । यति धेरै सुराक र पूर्वजानकारी हुँदाहुँदै पनि त्यस्ता खाता निष्क्रिय पार्न वा भ्रम चिर्न नसक्नु सरकार र सुरक्षा निकायको चरम कमजोरी रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवदेनमा भनिएको छ, ‘नेपाल प्रहरीको नक्कली फेसबुक पेज बनाई सो पेज मार्फत जेनजी समूहलाई प्रदर्शनमा विद्यार्थी पोसाकमा आएमा नेपाल प्रहरीले बल प्रयोग गर्न नसक्ने हुनाले सबै जना विद्यालय पोसाकमा आउनु भनी आव्हान गरेको देखिन्छ । नेपाल प्रहरीको सो नक्कली (fake) फेसबुक पेजले प्रदर्शनकारीहरूमा भ्रम पूर्ण सामाग्री सामाजिक सञ्जालमा प्रसारित गरी योजनाबद्ध रूपमा विद्यार्थीलाई प्रदर्शनमा सहभागी गराई मानव ढाल बनाउन खोजेको देखिएको र सो घटनापश्चात् प्रदर्शनपूर्व प्रयोग भएका सामाजिक सञ्जाल खाताहरू निष्क्रिय बनाएको देखिएको भन्ने सुरक्षाकर्मीहरूको बयान ब्यहोराबाट खुल्न आई माथि लेखिएको तथ्य स्थापित भएको पाइन्छ |’
आयोजकहरूको पूर्वतयारी र प्रदर्शनस्थलको दृश्य पनि आफैँमा शङ्कास्पद देखिएको छ । ‘हामी नेपाल’ संस्थाका सुधन गुरुङ, अङ्कित मल्ल, खेमराज साउदलगायतले ५०० देखि ८०० को सङ्ख्यामा उपस्थित हुने भन्दै शान्तिपूर्ण प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका थिए । तर, शान्तिपूर्ण भनिएको उक्त प्रदर्शन सुरु हुनुअगावै आयोजकले माइतीघर मण्डलामा प्राथमिक उपचारका लागि टेन्ट, स्वास्थ्य स्वयंसेवक र तीनवटा एम्बुलेन्सको व्यवस्था मिलाएका थिए ।
भदौ २३ गते बिहान ९ बजेतिर प्रदर्शनस्थल पुगेका जेनजीका अगुवा भनिने रक्षा बम र जस्मिन ओझाको समूहले यस्तो तयारी देखेपछि सुधन गुरुङसँग विवाद गर्दै उनलाई प्रदर्शनबाट फर्कन आग्रह समेत गरेका थिए । शान्तिपूर्ण प्रदर्शनमा यति ठुलो मेडिकल तयारी किन गरियो भन्ने प्रश्नमा आयोजकहरूले स्पष्ट जवाफ दिन नसकेको आयोगले जनाएको छ ।
बिहान साढे १० बजे माइतीघरबाट सुरु भएको प्रदर्शन प्रशासनले दिएको अनुमतिको परिधि नाघेर बबरमहल हुँदै नयाँबानेश्वरस्थित एभरेस्ट होटल अगाडि पुगेपछि यसले उग्र रूप लिएको थियो । करिब २५ हजारको सङ्ख्यामा पुगेको भिडमा अचानक कालो टिसर्ट लगाएका र शरीरमा ‘टीओबी’ ट्याटु खोपेका १५ देखि २० जनाको बाइकर समूह प्रवेश गरेको थियो । यही समूहले भिडलाई उक्साउने र उत्तेजक बनाउने काम गरेपछि करिब १२ बजे सुधन गुरुङको नेतृत्वमा प्रदर्शनकारीहरू आक्रोशित हुँदै सुरक्षा ब्यारिकेड तोडेर निषेधित क्षेत्रमा प्रवेश गरेका थिए ।
प्रतिवेदनमा भनिएको छ, ‘एभरेस्ट होटल अगाडि अन्दाजी २०/२५ हजार भीड जम्मा भइसकेपछि करिब १२ बजेको समयतिर हामी नेपाल संस्थाका सुधन गुरुङले भिडको नेतृत्व गरेको पाइन्छ । यसरी निज गुरुङले नेतृत्व लिए पश्चात् प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा ब्यारिकेड तोडी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड, झडप भई हुलदङ्गामा परिणत भएको देखिन्छ ।’
सुरक्षाकर्मीसँगको मुठभेडपछि मात्रै प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको थियो । त्यसपछि आक्रोशित भिडले संसद् भवनको १ नम्बर गेट अगाडि ढुङ्गामुढा गर्नुका साथै सशस्त्र प्रहरीको वाटर क्यानन तोडफोड गरेको थियो । भिड यति हिंस्रक बन्यो कि उनीहरूले एम्बुलेन्स र मानव अधिकार आयोगकै अनुगमन टोलीको गाडीसमेत तोडफोड र आगजनी गर्दै कर्मचारीमाथि कुटपिट गरे ।
नवयुवाहरूको शान्तिपूर्ण विरोधलाई ‘टीओबी’ समूहले कब्जामा लिएर संसद् भवनमा आक्रमण र आगजनी गर्नेसम्मको प्रयास गरेको आयोगको विश्लेषण छ । यस्तो विध्वंसात्मक परिस्थिति सिर्जना हुँदा आयोजकले घुसपैठ रोक्न कुनै प्रयास नगरेको हुँदा जनधनको क्षतिको मुख्य जिम्मेवारी आयोजकले नै लिनुपर्ने निष्कर्ष निकालिएको छ । आन्दोलनलाई भड्काउने ‘टीओबी’ लेखिएको टिसर्ट र ट्याटुधारी बाइकरहरू को थिए, उनीहरूको आयोजकसँग कस्तो सम्बन्ध थियो र उनीहरू कसबाट परिचालित थिए भन्ने विषयमा थप अनुसन्धान हुनुपर्ने आवश्यकता आयोगले औँल्याएको छ ।




सम्बन्धित खबर
मानवअधिकार आयोगको प्रतिवेदनबारे बोल्यो कांग्रेस, सरकारसँग ६ माग
जेनजी आन्दोलन: संसद् भवन जलाउने र विद्यार्थीलाई मानव ढाल बनाउने पूर्वयोजना
प्रधानमन्त्री बालेन्द्र शाहको बयान लिएपनि कार्की आयोग र मानवअधिकार आयोग दुवै मौन
‘सेना बाहिर मात्र निस्किएको भए राष्ट्रलाई यति धेरै नोक्सान पुग्ने थिएन’
टीओबीले सुरक्षाकर्मीमाथि हिंसात्मक व्यवहार गर्न उक्साएको आयोगको ठहर
गणतन्त्र दिवसको मञ्चबाट प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ: प्रथम राष्ट्रपति यादव
यो पनि पढौँ
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’
सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने सरकारको तयारी
सेती नदीमा हामफालेका भारतीय युवक मृत फेला