ओलीको डेढ घण्टा भाषण: नेतृत्व नछोड्ने सन्देश, भदौ २३ र २४ को घटना नियोजित

ओलीको डेढ घण्टा भाषण: नेतृत्व नछोड्ने सन्देश, भदौ २३ र २४ को घटना नियोजित

'सम्पत्ति छानबिन गर्ने भए खरानी उठाएर लैजाने'

kp-sharma-oli_SHlkTs6nOi

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने सन्देश दिएका छन् । फागुन २१ को निर्वाचनपछि पहिलो पटक बुधवार सार्वजनिक कार्यक्रमलाई करिब डेढ घण्टा सम्बोधन गरेका ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका साथै पार्टीभित्रको आन्तरिक राजनीतिका बारेमा समेत प्रस्ट पार्ने प्रयास गरे ।

ओलीले भदौ २३ र २४ को घटना नियोजित रूपमा भएको बताए । उनले उक्त दुई दिने घटनालाई युवाहरूको हत्याको प्रपञ्च गर्नेहरुले क्रान्ति भन्ने गरे पनि त्यो नियोजित र षडयन्त्रपूर्ण घटनाका रूपमा चित्रित गरे ।

‘गत भदौ २३ र २४ गतेको आन्दोलनलाई कसैले आन्दोलन र कसैले क्रान्ति भन्छन् । गर्नेहरूले क्रान्ति भन्ने नै भए । युवाहरूको हत्याको प्रपञ्च गर्नेहरुले क्रान्ति भन्ने गरेका छन्’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘काँक्रो आफूले खाइसकेपछि बिया अर्कोको गलामा टाँसिएको छ’ अध्यक्ष ओलीले उक्त घटना षडयन्त्रपूर्ण र पूर्वनियोजित षडयन्त्र थियो भन्ने कुरा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सार संक्षेपमै उल्लेख रहेको बताए ।

ओलीले आफ्नो नेतृत्वको सरकार संवैधानिक लोकतान्त्रिक हिसाबले बलियो अवस्थामा रहेकाले त्यस सरकारलाई संवैधानिक कानुनी संसदीय बाटोबाट अनेक बाटोबाट ध्वास्त पार्ने प्रयास सफल नभएपछि आपराधिक मार्गबाट विस्थापन गर्ने षड्यन्त्र भएको बताए । ‘त्यसका निम्ति तालिमहरू भए । आगो कसरी लगाउने, पेट्रोल बम कसरी बनाउनेजस्ता प्रयास भए’, उनले अराजकता अझै कायमै रहेको भन्दै थपे, ‘राष्ट्रद्रोही र आगो लगाउनेजस्ता कुरा सर्लक्क पचाउने काम भएको छ ।’

लोकतान्त्रिक आन्दोलनको अगुवाई एमालेले गरेकै कारण एमालेमाथि आक्रमण भएको भन्दै देश सर्वोपरि हुने भएकाले यसबारे सबैले बुझ्न जरुरी रहेको बताए ।

‘सम्पत्ति छानबिन गर्ने भए खरानी उठाएर लैजाने’

ओलीले सरकारलाई उत्ताउलिएर अघि नबढ्न चेतावनी दिएका छन् । राणा शासन र पञ्चायती व्यवस्थाको आयु सकिएको बताउँदै उत्ताउलोपन लामो समय नटिक्ने बताए ।

सरकार अराजक शैलीमा प्रस्तुत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यो तमासा लामो समय नटिक्ने बताए । ‘अराजकता केही दिनको पाहुना हो । लामो समय चल्दैन’ अध्यक्ष ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले भदौको विध्वंसकारी आन्दोलनपछि कुनै पनि राजनीतिक दलका कार्यकर्ता बोल्न सक्ने अवस्था नरहेको बेला एमालेका नेता कार्यकर्ता त्यस अराजकताका विरुद्ध बोल्न थालेको बताए ।

‘भदौ २४ पछि अराजकता र हिंसाको डरले कोही पनि बोल्न सकेका थिएनन् ’ अध्यक्ष ओलीले भने ‘त्यतिबेला एमालेका नेता कार्यकर्ता वडा वडाबाट बोले । जसले अरू पार्टीलाई पनि मुख खोल्ने ठाउँ बनाइदिए । त्यसैले म एमालेका सबै कमरेडहरूलाई धन्यवाद दिन्छु ।’

गत फागुनको निर्वाचन तमासा मात्र भएको अध्यक्ष ओलीको भनाइ छ । अध्यक्ष ओलीले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई आफूले बयान नदिएको पनि बताएका छन् । तर आयोगले बयान दिएको भनेर छापेको भन्दै त्यो आयोगले आफ्नो इज्जतका गरेको हुनसक्ने बताए । अध्यक्ष ओलीले सम्पत्ति शुद्धीकरण आयोगलाई समेत आफूले बयान नदिने पनि बताएका छन् ।

‘यो राज्यद्रोह हो, विपक्षीलाई फसाउन यस्ता क्रियाकलाप गरेको छ ।’ आगो लगाएर खरानी बनाएर पुगेन सम्पत्ति विवरण ? ओलीले आक्रोशित हुँदै भने ‘के को सम्पत्ति विवरण छानबिन गर्ने भए खरानी उठाएर लैजानु ।’

नेतृत्व नछोड्ने सन्देश

काठमाडौँमा सुरु भएको पार्टीको दुई दिने ‘सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशाला’को उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र नेतृत्व छाड्न भइरहेका गतिविधिप्रति लक्षित गर्दै आफू भर्खर महाधिवेशनबाट निर्वाचित भएकाले विधि र पद्धतिअनुसार नै आफ्नो बहिर्गमन हुने प्रस्ट पारे ।

अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्ने गरी आफू अध्यक्ष नबनेको अध्यक्ष ओलीको दाबी थियो । ‘गएको ३ पुसमा मलाई अध्यक्ष छान्नुभएको थियो । सजिलो र अनुकूल वातावरण बन्यो भने प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर मलाई अध्यक्ष छानेको होइन,’ ओलीको भनाइ थियो ।

पार्टी अहिले अप्ठेरो अवस्थामा रहेको भन्दै पार्टीलाई सफलतामा लगेर मात्र बिदा लिने सङ्कल्प गरेको घोषणा गरे ।

‘आशङ्का हुन सक्छ । मैले बिचैमा झोला फ्याँकेर अलपत्र छोडेर हिँड्ने हो कि त्यो आशङ्का मनमा नलिनु होला,’ ओलीले भने, ‘म अप्ठ्यारो परिस्थितिसँग जुधेर तथा पार्टीलाई सफलतामा पुर्‍याएर विधिसम्मत विश्राम लिने अवस्था बन्छ ।’ पार्टी, आन्दोलन र देश चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै यो चुनौतीको सामना गर्दै अगाडि बढाउने आफ्नो सङ्कल्प यथावत् रहेको ओलीको भनाइ छ ।

पार्टीभित्रकै अवसरवादी खतरनाक हुन्छन्

अध्यक्ष ओलीले पार्टी पुनर्गठनको आवाज उठाउने तथा हस्ताक्षर अभियान चलाउने नेता कार्यकर्ताहरुको पनि कटाक्ष गरे ।

‘शिर काटेर टेबलमा राखेपछि सङ्गठन बलियो हुन्छ भन्ने भ्रम पाल्नेहरूलाई बुझ्न जरुरी छ । व्यक्ति हटाएर विचार हट्दैन, न त नेतृत्व कमजोर बनाएर आन्दोलन बलियो हुन्छ’, ओलीले भने, ‘सङ्गठनभित्र बसेरै सङ्गठनको जग खन्ने, एकताको नाममा विभाजन गर्ने र स्वार्थलाई सिद्धान्तभन्दा माथि राख्ने प्रवृत्तिले सबैभन्दा ठुलो क्षति पुर्‍याउँछ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूलाई हटाएर अर्को नेतृत्व ल्याउन खोज्नेहरूलाई सपना पूरा नहुने जवाफ दिए । ‘आफ्नै घरको छाना भत्काएर महल बनाउने सपना सफल हुँदैन’, ओलीले भने, ‘बाहिरका विरोधीभन्दा भित्रका अवसरवादीहरू नै सङ्गठनका लागि बढी खतरनाक हुन्छन् ।’

पार्टीमा आलोचना आवश्यक भए पनि सङ्गठन नै कमजोर पार्ने गरी गरिने गतिविधिलाई राजनीतिक चेतना मान्न नसकिने ओलीको भनाइ छ । ‘त्यो चेतना होइन, स्वार्थ हो ।’

अहिलेको पार्टीको आवश्यकता शिर खोज्ने नभई जिम्मेवारी बोक्नेहरूको भन्दै उनले गुटबन्दी होइन, स्पष्ट विचार, इमानदार व्यवहार र साझा लक्ष्यले मात्र पार्टी एकता बलियो हुने बताए ।

अराजकता स्वीकार्य छैन

अध्यक्ष ओलीले पार्टीभित्र भइरहेका केही गतिविधिलाई अराजकताको संज्ञा दिए ।

‘पार्टीमा चौतर्फी प्रहारको सामना कसरी गर्ने ? यसको एउटै अचुक अस्त्र हो– पार्टीको सुदृढ एकता । यो एकता स्वार्थको होइन, सही विचार र नीतिको एकता हुनुपर्छ’, ओलीले पार्टीले लिएका राजनीतिक नीति र विश्लेषणहरू पूर्णतः सही भएको दाबी गर्दै तिनै विचारमा टेकेर एकताबद्ध हुनुपर्ने धारणा राखे ।

‘पार्टीभित्र कोही पूर्व फर्किने, कोही पश्चिम फर्किने, एक थोक निर्णय हुने तर बाहिर गएर अर्को थोक बोल्ने अराजकता अब स्वीकार्य छैन’, चेतावनी दिँदै ओलीले भने, ‘पार्टीको विधान, विधि, पद्धति र अनुशासनात्मक दायराभित्र रहेर मात्रै सङ्गठन चुस्त र दुरुस्त रहन सक्छ ।’

अहिले पार्टीभित्र ‘समीक्षा गर्नुपर्छ’ भन्ने नाममा अनावश्यक भ्रम छर्ने, हतारिएर निष्कर्ष निकाल्ने र गुटबन्दी गर्ने प्रवृत्ति देखा परेको ओलीको भनाइ थियो ।

‘संस्थागत प्रक्रियालाई लत्त्याएर हस्ताक्षर अभियान चलाउने जस्ता कामले पार्टीलाई न वैचारिक रूपमा बलियो बनाउँछन् न साङ्गठनिक रूपमा’, प्रश्न गर्दै ओलीले भने, ‘यतिबेलाको राष्ट्रिय आवश्यकता भनेको सम्पूर्ण तुषहरूलाई पन्छाएर सिङ्गो पार्टी पङ्क्ति एक ढिक्का हुनु हो ।’

उनले पार्टीलाई जनताको बहुदलीय जनवाद (जबज) ले निरन्तर मार्गदर्शन गरिरहेको पनि बताए ।

‘१९९० को दशकमा कमरेड मदन भण्डारीले प्रतिपादन गर्नुभएको जबज आज ३६ वर्षपछि पनि त्यत्तिकै सान्दर्भिक छ तर यो जड सूत्र होइन’, ओलीले भने, ‘यो ३६ वर्षको लामो लोकतान्त्रिक अभ्यासका क्रममा हामीले जबजलाई अद्यावधिक र समयसापेक्ष परिमार्जन गर्दै लगेका छौँ ।’

विद्याको सदस्यता: निरन्तरता कि नयाँ प्रवेश ?

पार्टीभित्र र बाहिर विद्या भण्डारीजीको पार्टी सदस्यता नवीकरणको विषयलाई लिएर नबुझ्नेहरूले अनावश्यक विवाद सिर्जना गरिरहेको ओलीले आरोप लगाए ।

‘नबुझ्नुको पनि एउटा हद हुन्छ ! उहाँ राष्ट्रपतिको गरिमामय पदमा आसीन हुँदा स्वाभाविक रूपमा पार्टीको सदस्य हुनुहुन्नथ्यो’, ओलीले विद्याको सदस्यताबारे टिप्पणी गर्दै भने, ‘जो व्यक्ति सदस्य नै छैन, उसको सदस्यता नवीकरण हुने कुरै भएन । त्यसैले केन्द्रीय कमिटीले विधानसम्मत रूपमै उहाँलाई नयाँ आवेदन दिन आग्रह गरेको थियो । उहाँले आवेदन दिनुभयो र कमिटीले सदस्यता प्रदान ग¥यो ।’

विद्या भण्डारी २०३४ सालदेखि नै वामपन्थी आन्दोलनमा सक्रिय र २०३७ सालदेखि अविच्छिन्न पार्टी सदस्य रहेको स्मरण गर्दै ओलीले पार्टीको नीति वा सिद्धान्त मन नपरेर सदस्यता नत्यागेको पनि बताए ।

राष्ट्रपतिको संस्था दलभन्दा माथि, स्वतन्त्र, तटस्थ र समग्र देश तथा संविधानप्रति जबाफदेही हुनुपर्ने संवैधानिक बाध्यताका कारण उहाँले दलको सदस्यताबाट राजीनामा दिनुभएको थियो’, ओलीले भने, ‘तर यति सामान्य कुरालाई पनि नबुझेर, सदस्यता दिइएपछि पार्टीभित्रकै एउटा तप्काले ‘हामीले जित्यौँ’ भन्दै विजयी सिकन्दर महान् पल्टेर खुसीयाली मनाउनु हास्यास्पद छ ।’

विद्याले सदस्यता पाउनु कुनै गुटको हार वा जितको विषय नै नभएको भन्दै ओलीले यस्ता सानातिना र अर्थहीन कुराहरूमा खोँचे थाप्ने, निहुँ खोज्ने र बहकिने काम बन्द गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।

पार्टी पङ्क्तिलाई फेरि पनि अपिल गर्दै ओलीले एमाले विचारमा स्पष्ट रहेको भन्दै अब व्यवहार र सङ्गठनमा एकताबद्ध हुनुपर्ने बेला आएको बताए । ‘विधिविहीनता र अराजकतालाई प्रश्रय नदिऔँ । हाम्रा अगाडि राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण र जनअधिकारको सुनिश्चितता गर्ने महान् अभिभारा छ’, ओलीले भने, ‘राज्य शक्तिको दुरुपयोग गरेर हामीलाई जतिसुकै तर्साउन खोजिए पनि, जतिसुकै झुटका पुलिन्दाहरू तयार पारिए पनि सत्यको जित अवश्यम्भावी छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds