नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई ‘लोभीपापी’को संज्ञा दिँदै उनीहरूले पार्टी फुटाउनसक्ने बताएका छन्। बागमती प्रदेशका नेता–कार्यकर्तासँग पुनर्गठन कार्यदलले शनिबार छलफल गरेलगत्तै अध्यक्ष ओलीले केही केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीलाई गुण्डु बोलाएका थिए। त्यहाँ उनले मध्यरातसम्म पुनर्गठन कार्यदलको बैठकमा भएको छलफलबारे जानकारी लिएका थिए।
नेताहरूको बिफ्रिङ सुनिसकेपछि अध्यक्ष ओली विष्णु पौडेल र महासचिव शंकर पोखरेलप्रति आक्रामक सुनिएको एक नेताले बताए।
‘महासचिव लोभी बनेको अध्यक्ष ओलीको निष्कर्ष थियो। पुनर्गठन अभियान चलाएर उपाध्यक्ष विष्णु पौडेलले पनि पाप गरिरहेको अध्यक्षले बताउनुभयो,’ ती नेताले भने।
पदमा लोभिएर महासचिव पोखरेलले उपाध्यक्ष पौडेललाई साथ दिइरहेको बताउँदै यो अभियान निष्कर्षमा नपुग्ने ओलीले सुनाएका थिए।
‘उनीहरू (पौडेल–पोखरेल) जसरी हुन्छ मलाई गलहत्याउने, हटाइहाल्ने अभियानमा छन्। उनीहरूले पार्टी नै फुटाउन पनि सक्छन्? मलाई हटाउन त कारण चाहिएला नि? के कारणले हटाउने! मैले के अपराध गरेको छु र हटाउने!,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले सुनाए।
भदौ २३ र २४ गतेपछि उपाध्यक्ष विष्णु पौडेलले पार्टी, तत्कालीन सरकारको काम, नेतृत्वको बचाऊ र प्रतिरक्षामा एक शब्द पनि नखर्चेको, आफूले लेख्नुस् भनेर बारम्बार आग्रह गर्दा पनि सुनेको नसुन्यै गरेको, कतै नबोलेको र अहिले पुनर्गठनको नेतृत्व गरिरहेको भन्दै ‘पापी’ को संज्ञा दिएको अर्का एक केन्द्रीय सदस्यले बताए।
‘यसबीच न उहाँले पार्टीको पक्षमा, नेतृत्वको पक्षमा लेख्नुभयो। अहिले हटाउने रे! जेनजीहरूले मेरो घर जलाए, सम्पत्ति आगो लगाए त्यसकारण त्यसको भागिदार मै हुनुपर्ने हो कि? कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालको भूमि हो, फिर्ता ल्याउनुपर्छ भन्दै छु, यही भएर हटाउने रहेछ कि? के अपराध रहेछ त मलाई नहटाइ नहुने?,’ ओलीले भनेका थिए।
गुण्डु बैठकको सुरूआतमा प्रदेश अध्यक्ष कैलाश ढुंगेलले कार्यदलसँगको छलफलबारे बिफ्रिङ गरेका थिए। उनीलगत्तै काभ्रे जिल्ला सचिव राजकुमार सापकोटाले कार्यदलसँगको बैठकको अन्तिममा उपाध्यक्ष विष्णु पौडेलले भनेको प्रसंग त्यहाँ सुनाएको थिए।
सचिव सापकोटाले सचिवालय बैठकले बनाएको कार्यदलविरूद्धमा अभिव्यक्ति दिनु पार्टी निर्णय, नीति र निष्कर्षविपरीत हुने भनेर छलफलको अन्तिममा उपाध्यक्ष पौडेलले चेतावनी दिएको भन्दै ‘हामीले कार्यदलविरूद्ध धारणा राखिरहेका छौं, हामी पार्टीविरोधी हौं भयौँ त बा!’ भनेर सोधेका थिए।
त्यसपछि जवाफ दिने क्रममा ओली क्रोधित बनेको एक नेताले सुनाए। ती नेताका अनुसार अध्यक्ष ओली सचिवालयका नेताहरूसँग रूष्ट सुनिएका थिए। उक्त छलफलमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलप्रति बढी नै असन्तुष्टि राखेका थिए।
‘अध्यक्षले म छिट्टै केन्द्रीय कमिटी फेस गर्छु भन्दै पुनर्गठन, विशेष महाधिवेशनजस्ता गतिविधिमा सक्रिय नहुन, यस्ता त्रि mयाकलापले पार्टी नबन्ने र फुटतर्फ अग्रसर बताउनुभएको थियो। एउटा तप्का पार्टी विभाजनतर्फ लाग्न सक्ने भन्दै यसबाट सचेत हुँदै पार्टी निर्माणमा लाग्न निर्देशन दिनुभएको थियो। अहिले निकाल्न खोजिएका केही समस्या केन्द्रीय कमिटी बैठकले नै निरूपण गर्ने पनि बताउनुभएको थियो,’ ती नेताले भने।
नेकपा एमालेमा पुनर्गठनको विषय पेचिलो बनिरहेको छ।
जेठ १० गते सकिएको एमाले सचिवालयको आठौं बैठकले रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा १५ सदस्यीय पुनर्गठनसम्बन्धी सुझाव दिनेगरी कार्यदल गठन गरेको थियो। एक महिनाको समय पाए पनि कार्यदलले जेठ ३० गतेबाट मात्रै काम थालेको हो।
कार्यदल बैठकलगत्तै ओलीले गुण्डु बोलाएर बिफ्रिङ लिन थालेपछि एमालेभित्र असन्तुष्टि पनि देखिन थालेको छ।
‘पार्टी फुटतर्फ जान सक्छ, मेरो अपराध के हो? राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा घेराबन्दीमा परेका बेला नेतृत्वलाई पार्टीभित्रै पनि अप्ठ्यारोमा पार्न मिल्दैन जस्ता कुरा गरेर बहस बराल्न या विषयान्तर गर्न खोजे पनि यो मुद्दा विशेष महाधिवेशनको चरणसम्म पुग्नसक्छ,’ एक केन्द्रीय सदस्यले भने, ‘विशेष महाधिवेशन माग भएकैले उहाँ बचाउका लागि मेरो अपराध के हो भन्न थाल्नुभएको हो।’
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण