‘मुलुक गम्भीर भूराजनीतिक संकटतिर जाँदैछ, प्रधानमन्त्री जिस्किँदै बसेका छन्’

राजनीति

‘मुलुक गम्भीर भूराजनीतिक संकटतिर जाँदैछ, प्रधानमन्त्री जिस्किँदै बसेका छन्’

Pradeep Gnwali

तस्वीरः गण्डकी समाचार

काठमाडौं- नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले प्रमुख राजनीतिक दलहरू आन्तरिक विषयमा अल्झिरहँदा राष्ट्रिय मुद्दा ओझेलमा पर्न थालेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले एमाले र नेपाली कांग्रेसजस्ता लोकतान्त्रिक पार्टीहरू आन्तरिक समस्या र मतभेदसँग जुझिरहेको उल्लेख गरेका छन्।

नीति, निर्णय, संगठन, कार्यशैली र नेतृत्वका विषयमा मतान्तर देखिनु स्वाभाविक भए पनि ती समस्याको समाधान विधिसम्मत ढंगले हुनुपर्ने उनले बताएका छन् ।

ज्ञवालीले पार्टीहरू आन्तरिक बहसमा केन्द्रित भइरहेका बेला मुलुक गम्भीर भूराजनीतिक चुनौतीतर्फ धकेलिँदै गएको दाबी गरेका छन्।

सीमामा चिया निकासी रोकिँदा हजारौं श्रमिक र सयौं उद्यमी प्रभावित भएको, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू समस्यामा परेको, धान रोप्ने समयमा मल अभाव कायम रहेको र महँगी बढ्दै गएको उदाहरण उनले दिएका छन् ।

सरकारप्रति कटाक्ष गर्दै उनले प्रधानमन्त्रीले ‘जिस्किँदै’ समय कटाइरहेको पनि बताएका छन् । सरकारका जिम्मेवार व्यक्तिहरूले व्यवसायीलाई धम्की दिने काम गरिरहेको आरोप पनि उनले लगाए। गरिखाने वर्गमाथि अन्याय भइरहेको भन्दै ज्ञवालीले सरकार आत्मरतिमा रमाइरहेको टिप्पणी गरेका छन्।

ज्ञवालीले राष्ट्रपति संस्थाको अपमान, संसद्को अवमूल्यन, मतदाताप्रति उपेक्षा, लोकतान्त्रिक अधिकारको संकुचन, संवैधानिक निकायमाथि हस्तक्षेप तथा राजनीतिक प्रतिशोधजस्ता प्रवृत्तिले मुलुकलाई अलोकतान्त्रिक दिशातर्फ धकेलिरहेको दाबी गरेका छन्।

उनले राजनीतिक दलहरूले आफ्ना आन्तरिक एजेन्डाभन्दा राष्ट्रिय मुद्दा र जनचासोका विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार जनताको चासो दलभित्रका विवादभन्दा देशका समसामयिक समस्या समाधानमा बढी केन्द्रित छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ