संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित

राजनीति

संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित

balen samsad

काठमाडौँ । यसअघि जस्तै संसद्मा बजेटमाथिको छलफल चल्दा प्रधानमन्त्री र मन्त्रीहरू अनुपस्थित हुने परम्पराले निरन्तरता पाएको छ ।

पुराना राजनीतिक दल भन्दा फरक ठानिएका रास्वपाकै प्रधानमन्त्री र मन्त्रीहरू प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफल चलिरहँदा अनुपस्थित हुने क्रम बढेको हो । जसका कारण सोमबार र मंगलबार लगातार सांसदहरूले प्रतिनिधि सभा बैठकमा मन्त्रीहरूको खोजी गर्न पुगे ।

मन्त्रालयगत बजेट छलफलका क्रममा सम्बन्धित मन्त्रालयका मन्त्रीहरू नै अनुपस्थित भएको भन्दै विपक्षी सांसदहरूले मन्त्रीको खोजी गरेपछि सभामुख डीपी अर्यालले दुवै दिन १५ मिनेटका लागि बैठक स्थगित गर्न बाध्य भए ।

मंगलबारको बैठकमा सांसदहरूले रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने माग अघि सारे ।

उनीहरूले प्रतिनिधिसभा नियमावलीमा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य रहेको विषय उठाउँदै सम्बन्धित मन्त्री बैठकमा उपस्थित हुनुपर्ने व्यवस्थाका कारण सभामुख बैठक स्थगित गरेर मन्त्रीको खोजीमा लाग्नुपरेको हो ।

प्रतिनिधिसभा नियमावलीको नियम ६ को उपनियम ५ मा भनिएको छ, ‘बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्नेछ र कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्री समेत अनिवार्य उपस्थित हुनुपर्नेछ ।’

यही व्यवस्था अनुसार आजको बैठकमा रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्नेछ ।

जस अनुसार मंगलबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल गर्ने कार्यसूची तय छ । तर, मंगलबारको बैठकमा सम्बन्धित मन्त्रीहरू उपस्थित नभएको भन्दै नेकपाका सांसद गोपाल शर्मा र सोमबार एमालेका सांसद राजेन्द्र राईले मन्त्री अनुपस्थित भएर बजेटमाथिको छलफल अघि बढ्न नसक्ने बताएका थिए । त्यसपछि बैठक स्थगित हुन पुगेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ