आफ्ना सांसदलाई रास्वपाको पाँचबुँदे निर्देशन, भ्रमणलाई रणनीतिक अभियानका रूपमा सञ्चालन गर्न आग्रह

राजनीति

आफ्ना सांसदलाई रास्वपाको पाँचबुँदे निर्देशन, भ्रमणलाई रणनीतिक अभियानका रूपमा सञ्चालन गर्न आग्रह

rsp-office-rasopa1687410765-1

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्यलाई निर्वाचन क्षेत्र र जिल्लाको भ्रमण थप व्यवस्थित, समन्वयात्मक तथा परिणाममुखी बनाउन पाँचबुँदे निर्देशन जारी गरेको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको परिपत्रमा सांसदहरूको निर्वाचन क्षेत्र भ्रमणलाई औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा सीमित नराखी पार्टीको राजनीतिक दृष्टिकोण विस्तार, संगठन सुदृढीकरण र जनअभिमतलाई संसदीय एजेन्डासँग जोड्ने रणनीतिक अभियानका रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ।

निर्देशनअनुसार कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय हुनासाथ सम्बन्धित पार्टी समितिलाई आधिकारिक जानकारी गराउनुपर्नेछ। आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र कार्यक्रम भए सम्बन्धित सांसद र पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्न पनि भनिएको छ।

रास्वपाले स्थानीय समितिसँग पूर्वछलफल गरी त्यस क्षेत्रका प्रमुख र ज्वलन्त मुद्दा पहिचान गर्न तथा ती विषयलाई सम्बन्धित निकायसँग समन्वय गरी प्राथमिकताका साथ अघि बढाउन सांसदहरूलाई निर्देशन दिएको छ।

यस्तै, कार्यक्रम सञ्चालन गर्दा स्थानीय पार्टी संरचनाको नेतृत्व र अपनत्व सुनिश्चित गर्न तथा जनपरिचालनमा स्थानीय संगठनलाई सक्रिय भूमिका दिनुपर्ने उल्लेख गरिएको छ।

परिपत्रमा भ्रमण र कार्यक्रमलाई तडकभडक तथा अनावश्यक खर्चबाट मुक्त राखी मितव्ययितालाई प्राथमिकता दिन र सुशासनको सन्देश प्रवाह गर्न पनि आग्रह गरिएको छ।

साथै, निर्वाचन क्षेत्रबाट प्राप्त जनसुझाव, गुनासा र स्थानीय समितिका प्रतिवेदन व्यवस्थित रूपमा अभिलेखीकरण गरी संसदीय दलमा संस्थागत रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

महामन्त्री आचार्यले सांसदको प्रभावकारी भूमिका र पार्टी संगठनको चुस्तता एकअर्काका पूरक रहेको उल्लेख गर्दै सुव्यवस्थित र समन्वयात्मक प्रयासबाट मात्रै दलको संस्थागत परिपक्वता र जनताप्रतिको जवाफदेहिता थप सुदृढ हुने बताएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ