करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार

उपहार कार्यक्रम

करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार

karadata-upahar

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ औपचारिक रूपमा सुरु गरेको छ ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा साउनको पहिलो १५ दिनका विजेताको घोषणा गर्दै कार्यक्रमको शुभारम्भ गरिएको हो। वस्तु तथा सेवा खरिद–बिक्रीमा बिल लिने–दिने संस्कारलाई प्रोत्साहन गर्दै अर्थतन्त्रलाई औपचारिकीकरण र पारदर्शी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको सरकारले जनाएको छ। मूल्य अभिवृद्धि कर (भ्याट)लाई राजस्वको दिगो स्रोतका रूपमा विकास गर्ने सरकारको लक्ष्य छ।

आन्तरिक राजस्व विभागका अनुसार साउन १ देखि १५ गतेसम्मका १६ जना उपहार विजेता छनोट भएका छन्। तीमध्ये प्रत्येक दिनका एक–एक जना गरी १५ जना दैनिक विजेता र एक जना बम्पर उपहार विजेता छन्। दैनिक विजेताले १ लाख १२ हजार ३७४ रुपैयाँ तथा बम्पर विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले विजेताको छनोट ‘क्रिप्टोग्राफिकली सेक्युर्ड युनिफर्म र्यान्डम स्याम्पलिङ’ प्रविधिबाट गरिएको जानकारी दिए। उनका अनुसार यो पूर्णतः कम्प्युटरमा आधारित प्रणाली भएकाले छनोट प्रक्रियामा कुनै मानवीय हस्तक्षेप वा विभेद हुँदैन।

आज १५ जनालाई एक–एक लाख रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँ उपहार घोषणा गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले जानकारी दिएको छ ।

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी गरेको थियो ।

यही साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता तथा नगदमा वस्तु तथा सेवाको कारोबार गरी विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि शुक्रबार उपहार घोषणा गरिएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए ।

करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको) र महिनाको अन्तिम दिन (१६ गतेदेखि बाँकी दिनको) वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ ।

बैंक तथा वालेटको क्यूआरमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिनेछन् । तर, उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्नेछ ।

नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि अनिवार्य रूपमा प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा गई अपलोड गरी उपहार कार्यक्रममा सहभागी भएको कुपन लिनुपर्ने व्यवस्था छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds