फेसबुकमा नहार्न कार्यकर्तालाई ओलीको निर्देशन

राजनीति

फेसबुकमा नहार्न कार्यकर्तालाई ओलीको निर्देशन

'उनीहरूका पेड मान्छेहरू छन्, जसले तुरून्तै नकारात्मक कमेन्ट गरिहाल्छन्’

kp oli gundu

कुनैबेला आफ्ना आलोचकहरूविरूद्ध अरिंगालझैं खनिन आह्वान गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार इलाम पुगेर फेसबुकमा हार्न नहुने भन्दै कार्यकर्तालाई सक्दो लाग्न आह्वान गरेका छन्।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्न आएका उनले सामाजिक सञ्जालको ‘गलत प्रचारले चुनाव हारिएको’ आफ्नो पुरानो निष्कर्ष दोहोर्याएका छन्।

‘हामीले कृषिमा, विकासमा अनेकौं कामहरू गरेका छौं। तर यी कुराहरू बिर्साउने प्रयासहरू भए, हल्ला गरिए। सामाजिक सञ्जालमार्फत देश भित्र र बाहिरबाट समेत हाम्रा विरोधीहरू लागे,’ ओलीले भने, ‘मोबाइल फार्मिङदेखि अनेक प्रविधिको प्रयोग गरेर हामीलाई पछाडि पार्ने काम भो। हामीसँग जनशक्ति नभएको होइन, तर हाम्रा साथीहरूमा अलिकति जागरूकताको कमी देखियो।’

यति धेरै मान्छेले एउटा राम्रो कुरालाई लाइक वा ठिक छ भनेर कमेन्ट मात्र गरिदिने हो भने विरोधीहरूले अर्को कमेन्ट गर्ने आँटै गर्दैनथे भन्दै ओलीले भने ‘तर उनीहरूका पेड मान्छेहरू छन्, जसले तुरून्तै नकारात्मक कमेन्ट गरिहाल्छन्।’

ओलीको आरोप थियो ‘उनीहरूको तरिका अश्लील र छाडा बोल्ने हुन्छ। कसैले सही कुरा गर्‍यो भने परिवारमा मुख देखाउन नसक्नु बनाउने गरी गालीगलौज गर्छन्। यसले गर्दा हाम्रा साथीहरू डराउँछन्।’

अरूले गाली गरे भनेर अप्ठ्यारो नमान्न बरु जवाफ दिने, प्रतिवाद गर्ने र सही कुरा राख्ने काम गर्न भन्दै उनले कार्यकर्तालाई भने, ‘खुकुरीका भरमा भिक्टोरिया क्रस पाउने, ज्यान फालेर लडेर विश्वव्यापी रूपमा वीर गोर्खालीको पहिचान बनाउने हामी, अनि फेसबुकमा एउटा स्टेटस लेखेर हार्ने ? फेसबुकमा हामी हार्ने ? डिस्लाइक, लाइक, कमेन्ट र सेयर सम्म गर्न नसकेर हामी हार्ने ? हामी हार्ने जातै होइनौँ।’

जेनजी आन्दोलनपछि बनेको सरकारप्रतिको पुरानो आक्रोश दोहोर्याउँदै ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई कठपुतलीको संज्ञा पनि दिए।

‘एउटा कठपुतली, नक्कली र असंवैधानिक सरकार बनाएर चुनावको नाटक गरियो। यो सरकारले के गर्दैछ, तपाईंहरूले देख्नुभएकै छ,’ ओलीले थपे ‘एउटा सानो बच्चालाई खाना बनाउन दिनुभयो भने के हुन्छ उसले तरकारी काट्न जान्दैन, आफ्नै हात काट्छ। हरेक तरकारी काट्ने बेग्लै तरिका हुन्छ, उसलाई के थाहा? त्यस्तै अवस्था अहिलेको सरकारको छ। कहिल्यै ननाचेको मान्छेलाई नाच्छ भनेर नचाउँदा डान्सर नै चाहिन्छ। बजाउन नजान्ने नयाँ मान्छेले मादल बजाउँदा घ्याङ् घ्याङ् मात्र हुन्छ। त्यसैले जान्नेले नै काम गर्नु पर्छ। अहिलेका कतिपय माननीय भनिनेहरूको नाम सम्झिनुस् त, कस्ता छन्? देश बर्बाद हुँदैछ।’

बालेन शाह नेतृत्वको सरकारप्रति पनि रोष प्रकट गर्दै ओलीले यो सरकार कामको होइन, भवितव्यको भएको बताए।

‘एउटा बच्चाले क्यारमबोर्डमा स्ट्राइकरले हान्दा गोटी भित्तामा ठोकिएर फर्किएर पल्कियो भने ऊ ठुलो खेलाडी हुँदैन, त्यो भवितव्य मात्र हो,’ उनले भने, ‘त्यसैले यस्ता कुराबाट विचलित हुनुपर्ने आवश्यकता छैन। यो देश तपाईं हाम्रो हो, हामीले यसको माया गर्नुपर्छ र बनाउनु पर्छ। अब यो सरकारका उपद्रवहरूको बारेमा म धेरै भन्न चाहन्नँ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ