सुदूरपश्चिम पुगेका पूर्वाधारमन्त्री सुनिल लम्साललाई ज्वरो आएपछि हेलिकप्टरबाट काठमाण्डौ लगियो

राजनीति

सुदूरपश्चिम पुगेका पूर्वाधारमन्त्री सुनिल लम्साललाई ज्वरो आएपछि हेलिकप्टरबाट काठमाण्डौ लगियो

helicopter sunil lamsal

सुदूरपश्चिम क्षेत्रको भ्रमणका क्रममा बैतडी पुगेका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको स्वास्थ्यमा समस्या देखिएको छ । मन्त्री लम्साल अस्वस्थ भएपछि उनलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

बैतडीकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) मीना अर्यालले मन्त्री लम्साललाई ज्वरो आएको जानकारी दिइन् ।

मन्त्री लम्साललाई आइतबार साँझ नेपाली सेनाको ‘स्काई ट्रक’ मार्फत धनगढीबाट काठमाडौँ लगिएको हो ।

मन्त्री लम्सालको स्वास्थ्य अवस्था धेरै गम्भीर नभए पनि थप उपचार र सुरक्षाका लागि काठमाडौं पठाइएको उनले स्पष्ट पारिन् । ‘उहाँ धेरै गम्भीर (सिरियस) हुनुभएको त होइन, तर थप उपचारका लागि काठमाडौं पठाइएको छ’ – अर्यालले भनिन् ।

नेपाल सरकारबाट निर्माणाधीन आयोजनाको अनुगमनका क्रममा बैतडी पुगेका बेला मन्त्री लम्साल बिरामी परेका थिए । उनलाई उपचारका लागि आज दिउँसो सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टर बोलाएर बैतडीबाट धनगढी ल्याइएको थियो । धनगढी ल्याएपछि थप उपचारका लागि नेपाली सेनाको विमानमार्फत उनलाई काठमाडौँ लगिएको हो ।

स्वास्थ्यमा समस्या आएको थाह पाएपछि जिल्ला अस्पतालका एमडीजीपी डा. पविन उपाध्याय बिहान पौने ९ बजे मन्त्री लम्साल बसेको होटेलमै पुगेका थिए ।

उपाध्यायका अनुसार मन्त्री लम्साललाई निद्रा अपुग, मुटुको धड्कन बढेको समस्या देखिएको थियो । डा.उपाध्यायले भने,’मन्त्री ज्यूले आफै सवारी चलाएकाले पनि होला निद्रा अपुग भएको देखियो । धनगढीबाट बैतडी आउँदा चिसो पनि भयो । धनगढीमा अलिक गर्मी र बैतडीमा चिसो भएकाले पनि तापक्रम मिलेन । उहाँको कार्य व्यस्तता र तापक्रम नमिलेर पनि गाह्रो भएको हो ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ