सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्मा मर्यादित भएर प्रस्तुत हुन मन्त्रीहरू र पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले मन्त्री र सांसदहरूलाई संसद्मा मर्यादित भएर प्रस्तुत हुन भनेका हुन् ।
सभापति लामिछानेले मन्त्री र सांसदहरूलाई सरकारका कामकारबाही कसरी सम्पादन गर्ने र संसद्मा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा सुझाव तथा निर्देशन दिएका थिए । सभापति लामिछानेले मन्त्री र सांसदहरूलाई निर्देशन दिएका थिए, ‘अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस् । सांसद र मन्त्री दुवैले आफ्नो व्यवहार र गतिविधिमा संसदीय मर्यादा कायम गर्नुपर्छ ।’ जनताले सांसदहरूलाई प्रश्न गरिरहेको र सांसदले मन्त्रीलाई प्रश्न गरिरहेको यथार्थ आफूलाई जानकारीमा रहेको सभापति लामिछानेको भनाइ थियो । योग्यताक्रम र समावेशितालाई ख्यालमा राखेर अगाडि बढ्नुपर्ने पनि उनले बताएका थिए । उनले भने, ‘घमण्ड त्यागेर आपसी समन्वय र संवादमा काम गर्नुपर्छ । सांसद र मन्त्रीबीच सहकार्य र समन्वय भए मात्रै सरकार प्रभावकारी हुन्छ । एकअर्कासँग स्पष्ट रूपमा संवाद गर्नुस् ।’
प्रतिनिधिसभा बैठकमा बोल्ने विषयमा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटी, सचेतकहरू प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जानकारी दिन पनि सभापति लामिछानेले निर्देशन दिएका थिए । सांसद र मन्त्रीले आफ्ना गतिविधि पारदर्शी बनाउनुपर्ने बताउँदै उनले भनेका थिए, ‘संसद्मा बोल्ने विषय, भ्रमण, भेटघाटलगायत गतिविधिबारे पार्टीलाई जानकारी गराउनुपर्छ ।’
सभापति लामिछानेले संसद्को यो कार्यकाल मात्रै राजनीति गर्छु भनेर आएका नेताहरूलाई ससम्मान बिदाइ गर्ने बताएका थिए । सांसदहरूलाई मर्यादित भएर प्रस्तुत हुन आग्रह गर्दै उनले भनेका थिए, ‘राजनीति ५ वर्ष मात्रै गर्ने हो भने फूलमाला लगाएर बिदाइ गर्दिन्छु । लगानी बिना बाटोमा पद भेटेजस्तो लाग्छ भने केही भन्न सकिन्न ।’
सभापति लामिछानेले विगतमा रास्वपाको आलोचना र घृणा गर्नेहरू अहिले आफूभन्दा ठूला रास्वपा भएको बताएका थिए । ‘रास्वपालाई घृणा गर्नेहरू आज रवि लामिछानेले भन्दा ठूलो घण्टी बोक्न थालेका छन्,’ उनले भनेका थिए ।
बालेन र मेरो सम्बन्ध अटुट छ, प्रधानमन्त्री कवि र कलाकार पनि हो, ‘एक्लै लडिरहेको’ स्टाटसमा राजनीतिक अर्थ छैन
सभापति लामिछानेले आफू र प्रधानमन्त्री बालेन्द्र साहबीच कुनै मतभेद वा विवाद नरहेको समेत स्पष्ट पारे। दुई नेताबीच विवाद रहेको समाचारले आफूहरूलाई झन् नजिक ल्याउने टिप्पणी उनले गरे।
प्रधानमन्त्री साहले सामाजिक सञ्जालमा ‘एक्लै लडिरहेको छु’ भनेर लेखेका विषयलाई राजनीतिक अर्थमा व्याख्या गर्न नहुने उनको भनाइ छ। प्रधानमन्त्री कलाकार र कवि पनि भएकाले उनका अभिव्यक्तिका प्रत्येक शब्दमा राजनीतिक अर्थ खोज्न आवश्यक नरहेको र सिङ्गो पार्टी प्रधानमन्त्रीसँगै उभिएको जिकिर उनले गरे।
सम्बन्ध र मतभेदबारे स्पष्ट पार्दै लामिछानेले भने, ‘प्रधानमन्त्रीले लेख्नुभएको विषय अर्कै हो, उहाँ त एउटा पोएट र कलाकार पनि हो नि त। एउटा कविको यत्रो भीडमा पनि मैले एक्लो महसुस गर्न सक्दिन र? यत्रो सिङ्गो पार्टी उहाँसँग उभिएको छ, कहाँ हुनुहुन्छ एक्लो? त्यसमा चिन्ता हुनुपर्दैन। हाम्रा बीचको समाचारले हामीलाई अझ बढी नजिक ल्याउन मद्दत गर्छ।’
केन्द्रीय समितिलाई पूर्णता दिने प्रक्रिया पनि तत्काल सम्पन्न गर्नुपर्ने विषय नभएको र पाँच वर्षभित्र क्रमशः अघि बढाउने कार्ययोजना रहेको जानकारी उनले दिए। महाधिवेशनपछि पार्टीभित्रको समायोजन प्रक्रिया सकिसकेकाले विधानले सभापतिलाई दिएको अधिकारअनुसार योग्य व्यक्तिहरूलाई क्रमशः जिम्मेवारीमा ल्याइने उनले बताए। पार्टीभित्र दुई धार वा गुट रहेको भन्ने दाबीलाई अस्वीकार गर्दै उनले रास्वपाभित्र कुनै गुट नरहेको दाबी गरे।
आफू र प्रधानमन्त्री साहबीचको सम्बन्ध व्यक्तिगत बाचा नभई देश र इतिहासप्रतिको साझा प्रतिबद्धता भएको लामिछानेले बताए। देशको भविष्य र इतिहासप्रति जिम्मेवार भएर सरकारले काम गरिरहेको दाबी गर्दै सामान्य घटनालाई लिएर राजनीतिक सम्बन्ध बिग्रिएको निष्कर्ष निकाल्नु अनुचित हुने उनले बताए।
सम्बन्धको संवेदनशीलता दर्शाउँदै लामिछानेले थपे, ‘यो रविले बालेनलाई, बालेनले रविलाई गरेको बाचा होइन। इतिहासलाई र देशलाई हामीले सँगै बसेर गरेको वाचा हो। यहाँ यस्ता सामान्य कुराहरूले यत्रो पोलिटिकल र हिस्टोरिक कमिटमेन्ट बिग्रियो भन्नु घरमा साथीभाइसँग सानो कुरामा नमिलेर जिस्किएको जस्तो हो र? हामी नापेर जोखेर कुराकानी गर्दैनौँ, हामीमा कुनै किसिमको कन्फ्युजन पनि छैन।’
सरकारले राम्रोसँग काम गरिरहे पनि व्यवस्थापनमा केही कमजोरी देखिएको उनले स्वीकार गरे। ग्यासमा हाल देखिएको अभावलाई सरकारको असफलतासँग जोडेर हेर्न नहुने र राम्रो काम गर्दागर्दै पनि कहिलेकाहीँ समस्या देखिने गरेको उनले बताए।
अहिले मन्त्री परिवर्तन हुँदैनन्
सरकार शक्तिशाली भएपनि विपक्षी दलहरू पनि एकताबद्ध भएर संसद्मा प्रस्तुत भइरहेको लामिछानेको भनाइ थियो । त्यसैले पनि सांसद, दल र सरकारबीचको समन्वय अझ प्रगाढ बनाउनुपर्ने उनको भनाइ थियो ।
मन्त्री र सांसदहरूलाई प्रचारमुखी भन्दा काममा ध्यान दिन पनि सभापति लामिछानेले भनेका थिए । लामिछानेले मन्त्रीहरूबारे सांसदका गुनासो सुनेका थिए । सांसदहरूले मन्त्रीका कार्यशैलीलाई लिएर आलोचना गरेका थिए । जवाफमा सभापति लामिछानेले आगामी दिनमा मन्त्रीहरूको कार्यशैली परिवर्तन हुने र सांसदले उठाएका विषय सम्बोधन गरिने आश्वासन दिएका थिए । ‘अब मन्त्रीहरूका कार्यशैली परिवर्तन हुन्छ तर मन्त्री फेरिँदैनन् । सबै समस्याको सामूहिक रूपमा सामना गर्नुपर्छ,’ सभापति लामिछानेले भनेका थिए । मन्त्रीहरूलाई प्रभावकारी रूपमा काम गर्न पनि उनले निर्देशन दिएका थिए । ‘आवश्यक परेको बेलामा पार्टीले निर्णय गर्छ, तर अहिले मन्त्री परिवर्तन हुँदैनन् । ढुक्क भएर काम गर्नुस्,’ लामिछानेले भनेका थिए ।
सरकार र मन्त्रीका कामकारबाहीलाई लिएर संसद्मा प्रश्न गर्न पनि सभापति लामिछानेले सांसदहरूलाई भनेका थिए । सांसदले सरकारको कामको समीक्षात्मक रूपमा टिप्पणी गर्नुपर्ने र संसदीय मर्यादामा भने रहनुपर्ने उनले बताएका थिए । मन्त्रीलाई भनेका काम भएनन् भने आफूकहाँ आउन पनि सभापति लामिछानेले सांसदहरूलाई भनेका थिए ।
सभापति लामिछानेले संसदीय दलको आगामी बैठक दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा हुने जानकारी गराएका थिए । प्रधानमन्त्री शाहसँग संसदीय दलको बैठकबारे आफूले कुराकानी गरिसकेको पनि सांसदहरूलाई जानकारी गराएका थिए ।
सभापति लामिछानेले सांसदहरूलाई विपक्षी दलका सांसदले बोलेका विषयलाई लिएर प्रतिवाद नगर्न भनेका थिए । विपक्षी दलका सांसदले आफ्नो भूमिका निर्वाह गरिरहेको बताउँदै उनले आगामी दिनमा आफ्नो पार्टीका सांसदहरूलाई संसद्मा अभिव्यक्ति दिएकै कारण प्रतिवादमा उत्रिने काम नगर्न भनेका थिए ।
रास्वपाको संसदीय दलको बैठकले संसदीय दलको विधानमा सामयिक संशोधन गर्न कार्यदल गठन गरेको छ । मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदलको सदस्यमा सचेतकहरू प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल तथा सांसद गणेश कार्की छन् ।
सम्बन्धित खबर
मन्त्री र सांसदलाई रविको निर्देशन: अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनू
मन्त्री फेर्ने तयारी छैन: रवि लामिछाने
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए
कांग्रेस फुट्ने जोखिम बढ्यो, देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा
सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्दको घोषणा, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै
‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’
यो पनि पढौँ
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्दको घोषणा, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै