नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले अहिलेको सरकारको शक्तिको स्रोत तीन ‘ए’का रुपमा ब्याख्याका गरेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेता बादलले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको शक्तिको स्रोत तीन ‘ए’ भएको ब्याख्या गरेका हुन्। ‘यो सरकारको शक्तिको स्रोत तीन ए अर्थात आर्मी, अल्गोरिदम र अमेरिका हो,’ बादलले भने।
यी शक्तिबाट सरकारको नेतृत्वमा आए पनि पछिल्ला ‘जनविरोधी’ कामले प्रधानमन्त्री शाहको शक्ति क्षय हुँदै गएको उनको भनाइ थियो।
‘अब पपुलिज्मको नशा, अल्गोरिदमको जादू, अपर्चुनिज्मको भ्रम र तीन ए को शक्ति क्रमशः क्षिण हुँदै गएको छ,’ बादलले भने।
शक्ति क्षण हुँदै गएकाले प्रधानमन्त्री शाहले एक्लो महसूस गरिरहेको उल्लेख गरेका छन्। ‘यो सरकारको मुखियाले आफू नितान्त एक्लो भएको छटपटी महसूस गरिरहेको छ,’ उनले भने।
बालेन्द्र सरकारले निरंशुकताका सबै कीर्तिमान तोड्यो
‘बादल’ले बालेन्द्र शाह नेतृत्वको सरकारले छोटो समयमै निरंशुकताका सबै कीर्तिमान तोडेको टिप्पणी गरे ।
उनले यसको शुरूआत राष्ट्रियता, लोकतन्त्र तथा जनजीविकाका संवाहकहरूमाथि सुशासनको आवरणमा झुट्टा आरोप थोपर्ने, थुन्ने र समाप्त पार्ने अभियानबाट भएको उल्लेख गरे । त्यो अभियान अझै जारी रहेको बादलको भनाइ छ ।
‘यसको आतंक र अमानवीयता सुकुम्बासी बस्तीहरूमा डोजरको उत्पात र सेना परिचालनबाट प्रकट भयो । यसका बन्द कानहरूले सुत्केरी र शिशुहरूको चित्कार सुनेन’, बादलले भने, ‘यसका काला चस्माहरूले इन्द्र राईहरूका विवश आत्महत्यालाई देखेन, यसका निर्दयी आत्माले सुकुम्बासीका बिजोग र बिचल्लीलाई आफ्नो महान उपलब्धि ठान्यो । बालेन सरकारको स्वेच्छाचारिता र अधिनायकवाद पूर्वघोषित संसद् अधिवेशन स्थगन गरि अध्यादेशहरूको आकस्मिक उद्घोषबाट शुरू भयो ।’
लोकतन्त्र जनादेश तथा विधि संविधानबाट स्वचालित हुन्छ तर अधिनायकवाद शासकको चरम महत्त्वाकांक्षा र आदेशबाट परिचालित हुने बादलको टिप्पणी छ ।
‘यसले संख्या र शक्तिको बलमा संविधान विपरीत नियमावली तथा ऐन कानूनहरू निरुपण गर्छ । अधिनायकवाद सबैभन्दा बढी मिडियाबाट तर्सिन्छ । यसले निजी क्षेत्रले पाउँदै आएको विज्ञापन बन्द गर्छ । सञ्चारकर्मीहरूलाई साइबर अपराधमा हत्कडी लगाइयो । सचेत युवा विद्यार्थीहरू देखेर निरंकुश शासकको सातो जान्छ, त्यसैले विद्यार्थी युनियनहरूमा ताला ठोकियो’, बादलले भने ।
गत फागुन २१ को निर्वाचनबाट नेपालमा अनौठो लोकतन्त्रको उदय भएको थापाको टिप्पणी छ । त्यो अनौठो लोकतन्त्रले राज्य आतंक मच्चाउने काम गरेको थापाले उल्लेख गरे ।
कानमा देश जलाउनेको अट्टहास गुन्जिरहेको छ
‘बादल’ले आफ्नो कानमा देश जलाउनेहरूको अट्टहास गुन्जिरहेको टिप्पणी गरे ।
उनले अघिल्लो वर्ष भदौ महिनामा देश धुँवा र खरानीले घेरिएको स्मरण गरे । सेनाको सहजीकरणमा लोकतान्त्रिक संसद् र सरकार भंग गरिएको बताए ।
“यो त्यही महिना हो जब देश धुँवा र खरानी बनाइएको थियो । आज मेरो मानसपटलमा देश जलिरहेको दृश्य सजिव भएका छन्,” उनले भने, “मेरा कानमा देश जलाउनेको अट्टहास गुन्जिरहेको छ ।”
उनले भदौ २३ गते आन्दोलनमा घुसपैठ भएपछि वक्तव्यमार्फत जेजनीलाई घर फर्किन आह्वान गरेको स्मरण गरे । त्यसपछि नागरिकको बलि चढाइएको उनको भनाइ छ । त्यो आन्दोलन लामो तयारीसहितको सुनियोजित भएको टिप्पणी गरे ।
रविजी ! सरकार पुनर्गठन गर्नुहोस्‚ नत्र सुनामी आउँछ
‘बादल’ले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकार तत्काल पुनर्गठन गर्न आग्रह गरे।
उनले मुलुकको निकासका लागि तीनवटा विकल्प रहेकोमा अब सरकारको पुनर्गठनको विकल्प नरहेको टिप्पणी गरे।
उनले तत्काल सरकार पुनर्गठन नगरिए राष्ट्रियता, लोकतन्त्र र जनजीविका पुनःस्थापनाका चारै दिशाबाट अकल्पनीय जनसुनामी आउने चेतावनी दिए। उनले वर्तमान सरकार पाकिस्तानी मोडलमा सञ्चालन भइरहेको र विस्तारै उत्तर कोरियाली मोडलतर्फ अघि बढिरहेको आरोप पनि लगाए।
बादलले भने‚ ‘…रास्वपाका सभापतिले पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको अविलम्ब पुनर्गठन गर्नुपर्छ। अन्यथा २००७, २०४७, २०६५ सालको भन्दा विशाल, अल्कपनीय जनसुनामी आउनेछ।’
उनले सरकारको कार्यशैलीले नागरिकको मौलिक हकमाथि समेत प्रहार भइरहेको भन्दै सचेत गराए।
लुटिएका हतियार तिब्बती गुम्बामा लुकाएको आशंका छ
एमाले संसदीय दलका नेता बादलले गत भदौको जेन–जी आन्दोलनमा लुटपाट भएको हतियार तिब्बती गुम्बामा लुकाइएको आशंका गरेका छन्।
बादलले शोधकर्ताहरूको हवाला दिँदै यस्तो बताएका हुन्। निर्वासित तिब्बतीहरूलाई नेपालले मानवीय आधारमा शरण दिएको उल्लेख गर्दै बादलले राजनीतिक शरणार्थीको रूपमा कहिल्यै मान्यता नदिइएको स्पष्ट पारे।
‘कतिपय शोधकर्ताहरूले तिब्बती गुम्बाहरूमा ठुलो मात्रामा शक्ति संग्रह भइरहेको दाबी गरिरहेका छन्। कतिपयले त भदाैमा लुटिएका हतियारहरू त्यहाँ लुकाइएको आशंका गरेका छन्। स्मरण रहोस्, निर्वासित तिब्बतीहरूलाई नेपालले मानवीय आधारमा शरण दिएको हो। राजनीतिक शरणार्थीको रूपमा कहिल्यै मान्यता दिएको छैन,’ उनले भने।
जेन–जी आन्दोलनमा टिओबीले अग्रपंक्तिमा ताण्डव नृत्य प्रदर्शन गरेको र नयाँ सरकारलाई स्वयं दलाई लामाले बधाई दिएको स्मरण गराउँदै उनले भने, ‘उक्त घटनाप्रति चीन सरकारले गम्भीर चासो तथा चेतावनी व्यक्त गरेको थियो।’
सम्बन्धित खबर
बालेन सरकारको शक्तिको स्रोत आर्मी, अल्गोरिदम र अमेरिका हो: एमाले नेता बादल
मन्त्री र सांसदलाई रविको निर्देशन: अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनू
मन्त्री फेर्ने तयारी छैन: रवि लामिछाने
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए
कांग्रेस फुट्ने जोखिम बढ्यो, देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा
सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्दको घोषणा, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै
यो पनि पढौँ
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना