गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग

अपराध

गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग

बाराका एसपी र डीएसपीसँग हेडक्वार्टरको सोधपुछ, साइबर ब्युरोले पनि अनुसन्धान गर्दै

garima-hatya-prakaran

दुई वर्षीया बालिका गरिमा चौधरीको हत्याका मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका १६ वर्षका नाबालकले बयान दिँदै गरेको  भिडियोले सामाजिक सञ्जालमा सर्वत्र विरोध भइरहेको छ । उक्त भिडियोमा आरोपीसँग प्रहरीको उपस्थितिमा घटनाबारे सोधपुछ भइरहेको देखिन्छ ।

हातमा हत्कडी लगाइएका १६ वर्षका बालकले निर्धक्कसँग आरोप स्वीकार गरेका छन् । तर बालिकामाथि बलात्कार र हत्यामा आफू मात्र नभएर थप एक व्यक्ति संलग्न रहेको उनले बताएका छन् । सिमरा चोकमा घर भएका प्रदीप खड्काको योजना र संलग्नतामा यो सबै भएको उनको दाबी छ ।

उच्च प्रहरी स्रोतका अनुसार सार्वजनिक भएको भिडिओ फेक होइन । आरोपी किशोरलाई पक्राउपछि मेडिकल चेकअपका लागि कलैया अस्पताल लगिएको थियो । अस्पतालभित्र डाक्टर नभएको बेला आरोपी किशोरसँग अनौपचारिकरुपमा कसैले सोधपुछ गरेर भिडिओ बनाइएको स्रोतले बतायो ।

सोधपुछ गर्ने व्यक्तिको अनुहार देखिएको छैन । उनी प्रहरी नभएको स्रोतको दाबी छ । प्रहरीका अनुसार उनी अस्पतालकै स्वास्थ्यकर्मी हुन् र बालकको मानसिक अवस्था जाँच्न सोधपुछ गरेका थिए । भिडिओमा प्रहरीहरू देखिएका छन् । बन्दुक बोकेका प्रहरी र एक सिभिल ड्रेस लगाएका व्यक्तिले मोबाइलबाट भिडिओ खिचेको देखिएको छ ।

भिडिओको सुरुमै सोफामा बसेका प्रहरीले गर्मी लागेको भन्दै एसी चलाउन आग्रह गर्छन् । तर आरोपी बालकले हाँस्दै आफूलाई जाडो लागिरहेको बताउँछन् । त्यसपछि अनुहार नदेखिएका व्यक्तिले घटनाबारे सबै विवरण सुनाएमा खाना खुवाउने आश्वासन दिएका छन् । प्रहरीले पनि लगेर खाना खुवाउने बताउँछन् । त्यसपछि आरोपी बालक घटनाबारे ढुक्कसँग बोल्न थाल्छन् । उनको अनुहारमा न अपराधबोध देखिन्छ, न सम्भावित सजायको त्रास ।

बालकले सुरुमै आफूलाई प्रदीप खड्का नाम गरेका साथीले उक्साएको बताउँछन् । सिमरा बस्ने प्रदीपलाई आफूले गाडीमा लिएर आएको र उसकै योजनाअनुसार बालिकालाई चकलेट दिएर लगेको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘बच्चाहरू खेलिराख्या थिए । त्यो प्रदीप पनि त्यहीँ थियो । तिनीहरूले हेरिराथ्यो । म चकलेट किनेर आएँ अनि चकलेटको लालच दिएर एउटा घरमा लिएर गएँ त्यसलाई । त्यो घर कसको हो थाहा छैन ।’

बालिकासँग दुवैजनाले पालैपालो आपराधिक हर्कत गरेको आरोपी किशोरले सुनाएका छन् । बालिका बेहोस भएपछि प्रदीप भागेको उनको भनाइ छ । आफूले बालिकालाई त्यही घरमा रहेको डोरीले बाँधेर तन्नामा बेरेको अनि ढोकामा चुकुल लगाएर हिँडेको उनले बताएका छन् ।

प्रहरीले अहिलेसम्म यो घटनामा प्रदीप खड्का नाम लिएको थिएन । पक्राउ पर्ने दोस्रो व्यक्ति प्रोग्रेस चौधरी हुन् । आरोपी बालकले नाम लिएका प्रदीपबारे व्यापक चासो उत्पन्न भएको छ ।

भिडिओ सामाजिक सञ्जालमा आएपछि प्रहरीभित्र पनि आन्तरिक खोजीनिधि सुरु गरेको जनाएको छ । प्रहरी प्रधान कार्यालयले यसमा चासो दिएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवर र डीएसपी मीनबहादुर घलेसँग समेत सोधपुछ थालिएको स्रोतले जनाएको छ । नेपाल प्रेसका अनुसार संवेदनशील आपराधिक घटनाको अनुसन्धानका क्रममा तयार भएका अडिओ-भिडिओ कसरी सामाजिक सञ्जालसम्म पुगे भन्ने विषयमा साइबर ब्युरोले डिजिटल ट्रेक अनुसन्धान गरिरहेको छ ।

भिडिओमा देखिएका सबै दृश्य र त्यसको वास्तविकताबारे प्रहरीले औपचारिक पुष्टि गरिसकेको छैन । प्रहरीको संवेदनशील अनुसन्धानसँग सम्बन्धित अडिओ–भिडिओ अनधिकृत रूपमा सार्वजनिक हुनु प्रहरीको आन्तरिक प्रोटोकल र अनुसन्धानको गोपनीयतासँग जोडिएको विषय हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ