बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता

महाविपत्ति

बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता

कम्तीमा १९ पुल र ४० किलोमिटर सडक क्षति

floodd

काठमाडौँ। रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीका कारण ठुलो संख्यामा पर्यटकहरू बेपत्ता भएका छन् ।

नेपाल पर्यटन बोर्डले बुधबार जारी गरेको दोस्रो स्थिति प्रतिवेदन अनुसार, हालसम्म ३८४ जना पर्यटक तथा पदयात्रीहरूको अवस्था अज्ञात रहेको छ ।

बोर्डका अनुसार बुधबार बिहान करिब ८ः३० बजे भोटेकोशी नदीमा अचानक भीषण बाढी आएको थियो । बेपत्ता हुनेहरूमा २९१ जना विदेशी नागरिक र ९३ जना नेपाली नागरिक रहेका छन् ।

नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य सरोकारवाला निकायहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको खोजी तथा उद्धारका लागि समन्वय गरिरहेका छन्।

बोर्डलाई पर्यटन एजेन्सीहरूले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्क अनुसार सबैभन्दा बढी ट्रेकर्स सोसाइटी मार्फत गएका ९२ जना र सम्राट टुर एण्ड ट्राभल्स मार्फत गएका ७१ जना बेपत्ता भएका छन् । अन्य प्रभावित एजेन्सीहरूमा लिफ होलिडे ५५, हिमालयन ग्लेशियर ५२, माउण्टेन गाइड र अन्य रहेका छन्।

बेपत्ता हुने विदेशी पर्यटकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्याण्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकाका नागरिकहरू रहेका छन् । केही पर्यटकहरूको राष्ट्रियता खुल्न अझै बाँकी रहेको बोर्डले जनाएको छ ।

पर्यटन बोर्डले स्थानीय प्रशासन, सुरक्षा निकाय र ट्रेकिङ गाइडहरूसँगको समन्वयमा तथ्याङ्क रुजु गर्ने र खोजी कार्यलाई तीव्रता दिने काम गरिरहेको छ ।

कम्तीमा १९ पुल र ४० किलोमिटर सडक क्षति : सडक विभाग

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्यस क्षेत्रको भौतिक पूर्वाधारमा ठुलो क्षति पुगेको छ। सडक विभागले दिएको पछिल्लो जानकारी अनुसार बाढी र पहिरोका कारण त्रिशूली नदी कोरिडोर र आसपासका क्षेत्रमा रहेका कम्तीमा १९ वटा पुलहरू क्षतिग्रस्त भएका छन्।

यसका साथै बाढीले सो क्षेत्रका विभिन्न खण्डमा गरी कम्तीमा ४० किलोमिटर सडक पूर्ण वा आंशिक रूपमा भत्काउनुका साथै बगाएको छ । यो ठुलो क्षतिका कारण त्यस क्षेत्रको यातायात आवागमन पूर्ण रूपमा ठप्प हुन पुगेको छ ।

सडक सञ्जाल अवरुद्ध भएपछि तत्काल बन्द बाटो खुलाउन र बिग्रेका संरचनाहरूको अस्थायी मर्मतका लागि सडक विभागले सक्रियता देखाएको छ ।

विभागले क्षतिग्रस्त सडक र पुल भएका स्थानहरूमा पहिरो पन्छाउन र सडक खुलाउनका लागि ठुला तथा हेभी मेसिनरी उपकरणहरू तीव्र रूपमा परिचालन गरेको छ।  प्रभावित क्षेत्रका विभिन्न संवेदनशील स्थानहरूमा प्राविधिक टोलीसहित आवश्यक मेसिनहरू तैनाथ गरी काम सुरु गरिएको विभागले जनाएको छ ।

भौगोलिक विकटता र निरन्तरको प्रतिकूल मौसमका कारण अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउने कार्य निकै चुनौतीपूर्ण बनेको छ । धेरै ठाउँमा सडकको जग नै बगेकाले र पुलहरूमा गम्भीर क्षति पुगेकाले यातायात सेवालाई पूर्ववत् अवस्थामा फर्काउन तत्काल नसक्ने  देखिएको छ।

सडक विभागले जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ