पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित

नयाँ नेतृत्व

पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित

shobha gautam

पोखरा उद्योग वाणिज्य संघ अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छन् । उनले अध्यक्षका प्रत्यासीहरु अन्य ३ जनालाई पछि पार्दै पोखराकै जेठो एवं निजी क्षेत्रको छाता संगठन संघको ७२ वर्षे इतिहासमा पहिलोपल्ट महिला नेतृत्वमा रेकर्ड बनाउन सफल भइन्। संघको इतिहासमा हीरा भट्टराई र बिन्दु कोइरालालेले अध्यक्षका लागि प्रयास गरे पनि उनीहरू सफल हुन सकेका थिएनन् ।

वर्तमान महासचिवको जिम्मेवारी सम्हालिरहेकी गौतमले अब संघको बागडोर सम्हाल्नेछिन् ।

संघको ३६ औं महधिवेशनमा २७३१ सदस्य मतदातामध्ये अध्यक्ष र पदाधिकारीका लागि २२७४ मत खसेको थियो । सोमबार साँझ अन्तिम नतिजामा निकटतम प्रतिस्पर्धीलाई ११४ मतान्तरले हराउँदै शोभा निर्वाचित भएकी हुन् ।

मतपरिणाम अनुसार दोस्रोमा अर्जुन पोखरेल, तेस्रोमा उत्तममान बुद्धाचार्य र चौथोमा बलराम आचार्य सीमित रहे । अध्यक्षका प्रत्यासीहरु गौतम र आचार्यले भने प्यानल नै बनाएर चुनाव लडेका थिए ।

गौतमले ७५१ मत प्राप्त गर्दा पोखरेलले ६३७ मत ल्याए । बुद्धाचार्यको ६०१ र आचार्यको २५३ मत रहेको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (उद्योग) मा सौगात थापा, उपाध्यक्ष (वाणिज्य) मा मनोजकुमार श्रेष्ठ, महासचिवमा सुदीप प्रधानाङ्ग, कोषाध्यक्षमा देवेन्द्र प्रजू र उपमहासचिवमा प्रदीप राजभण्डारी निर्वाचित भए । तीमध्ये उपाध्यक्ष (उद्योग) मा निर्वाचित थापा भने गौतम प्यानलका हुन् ।

१० खुला सदस्यतर्फ दुर्गा बराल, अमृत पोख्रेल, निर्मला चापागाईं, गोविन्दबहाुदर केसी, रामेश्वर अधिकारी, मनोहरि पौडेल, भानुभक्त अधिकारी, दिलीपकुमार श्रेष्ठ, रामप्रसाद कँडेल र कमलबहादुर सुनार निर्वाचित भए ।

४ वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल तथा १ औद्योगिक सदस्यमा पिताम्बर अधिकारी यसअघि नै निर्विरोध भएको निर्वाचन समिति संयोजक दामु अधिकारीले बताए।

संघको कार्यकाल २ वर्षको हुनेछ ।

यो जितलाई उनले हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाजका रुपमा लिएकी छन् । ‘मेरो परिचय केवल एउटा उम्मेदवारका रूपमा मात्र नभई हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाज हो,’ उनले भनिन् ।

नवनिर्वाचित अध्यक्ष गौतमको व्यावसायिक यात्रा २६ वर्षअघि एउटा सानो चिया पसलबाट सुरु भएको थियो । उनले उद्योग वाणिज्य संघकै कार्यालय अगाडि चिया पसल चलाएर व्यवसायको जग बसालेकी थिइन् । त्यही समयमा उनले व्यवसायीका समस्या र बजारको मनोविज्ञानलाई नजिकबाट बुझ्ने मौका पाइन् । पछि उनले महेन्द्रपुलमा ‘पुष्पाञ्जली ब्युटी पार्लर’ सुरु गरेर आफूलाई स्थापित गराइन् ।

त्यो बेला पार्लर व्यवसायलाई हेर्ने सामाजिक दृष्टिकोण सहज नभए पनि उनले त्यसलाई चुनौतीका रुपमा स्वीकार गरिन् । अहिले उनी सुप्रिम सप्लायर्समार्फत लुब्रिकेन्ट, फेसन, इभेन्ट, रेस्टुरेन्ट, कृषि र ग्रोसरी जस्ता विविध क्षेत्रमा सक्रिय छिन् । संघमा उनको प्रवेश विसं २०७३ सालमा साधारण सदस्यका रुपमा भएको थियो । तत्कालीन अध्यक्ष पवनकुमार प्रजापतिको प्रेरणाले उनी संस्थामा जोडिएकी थिइन् ।

गौतम कार्यसमिति सदस्य हुँदै उपमहासचिव र महासचिवको जिम्मेवारीमा रहेर आफ्नो कार्यक्षमता प्रमाणित गरिसकेकी छन् । संघबाहेक उनले मानव सेवा आश्रम, लायन्स क्लब र अन्य सामाजिक संस्थाहरूमा समेत आफ्नो दरिलो उपस्थिति जनाएकी छन् । पदलाई अधिकारभन्दा पनि सेवाको अवसरका रुपमा लिने उनको कार्यशैलीले नै उनलाई आज अध्यक्षको पदसम्म पुर्‍याएको हो ।

यस पटकको महाधिवेशनका लागि गौतमले ‘सुदृढ संघ, सक्षम नेतृत्व’ को नारासहित १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेकी छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds