गगन थापाको प्रश्न- सिंहदरबार र अदालत जलाउनेलाई कसले जोगाउँदै छ ?

राजनीति

गगन थापाको प्रश्न- सिंहदरबार र अदालत जलाउनेलाई कसले जोगाउँदै छ ?

Gagan-Thapa

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनामा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याएर सजाय दिनुपर्ने माग गरेका छन्।

सिंहदरबार र अदालतजस्ता राज्यका प्रमुख अंग जलाउने तथा विध्वंस मच्चाउनेहरूमाथि अझैसम्म कारबाही नहुनु र राज्य संयन्त्र मौन बस्नु गम्भीर चिन्ताको विषय भएको उनले बताए।

बीपी जयन्तीको अवसरमा बुधबार एक भिडियो राख्दै सभापति थापाले घटनाको निष्पक्ष अनुसन्धान गरी तत्काल दोषी पहिचान गर्न सरकारसँग माग गरे।

त्यति ठूलो राज्य संयन्त्र क्षणभरमै कसरी पंगु र काम नलाग्ने अवस्थामा पुग्यो भन्नेबारे खोजी हुनुपर्ने उनको भनाइ छ।

सभापति थापाले भने, ‘को थियो सिंहदरबार जलाउने ? को थियो अदालत जलाउने ? त्यो दिन त्यत्रो ध्वंस गराउने को थियो र कसले उकास्यो ? किन आज कोही चुइँक्क बोल्दैन र कसैले यसको जिम्मा लिँदैन ? यसको जवाफदेहिता कसैले लिनुपर्दैन ?’

आवेशमा आएर अपराध गर्नेहरूले केवल माफी मागेकै भरमा उन्मुक्ति पाउन नसक्ने बताउँदै उनले दण्डहीनताले समाजलाई कहिल्यै न्यायपूर्ण बनाउन नसक्ने बताए।

अपराध गर्नेले त्यसको कानुनी सजाय भोग्नैपर्ने र उन्मुक्ति दिने परिपाटीको अन्त्य हुनुपर्नेमा उनले जोड दिएका छन्।

निर्वाचनलगत्तै सरकारले भदौ २४ गतेको घटनाबारे निष्पक्ष अनुसन्धान र छानबिन गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म प्रक्रिया अघि नबढेको भन्दै थापाले असन्तुष्टि व्यक्त गरे।

अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्न गरेका उनले भदौ २३ गतेको घटनाबारे अध्ययन सम्पन्न भइसकेकाले त्यसको पूर्ण प्रतिवेदन तत्काल सार्वजनिक गर्न र नागरिकलाई अन्योलमा नराख्न सरकारलाई आग्रह गरे।

सभापति थापाले भदौ २३ गते भएको दमनको जिम्मेवारी किटान गरी दोषीलाई कारबाही गर्नुपर्ने, हिंसा भड्काउनेहरूको पहिचान गर्नुपर्ने तथा भदौ २४ गते विध्वंस मच्चाउनेहरूलाई समेत कानुनी कठघरामा उभ्याउनुपर्ने धारणा राखे।

दण्डहीनता बढ्दै गए भोलि जो-कोही पनि यसको सिकार हुन सक्ने चेतावनी दिँदै उनले भने, ‘काल पल्किसकेपछि यो-त्यो भन्दैन। आज पीडामा अरू कोही परेको होला, तर अपराध गर्नेलाई सजाय दिइएन भने भोलि त्यो पीडा जसले पनि भोग्नुपर्ने हुनसक्छ।’

आगजनी र विध्वंसमा संलग्नलाई तत्काल कारबाही गरेर विधिको शासन कायम गर्न उनले सरकारको ध्यानाकर्षण गराए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ