काठमाडौं । पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाएर २५० मिटर लामो नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ।
पहिरोले पूर्ण रूपमा ठप्प बनेको उक्त सडकमा यही भदौ २८ गतेदेखि नै परीक्षणका रूपमा साना तथा अत्यावश्यक सवारी साधन चल्न थालिसकेका छन्। अब आगामी असोज १ गते बिहीबारदेखि भने नियमित रूपमा दुईतर्फी नै यातायात सञ्चालन गरिनेछ।
बाढी र पहिरोले सडकको सुरक्षा पर्खाल नै भत्काएपछि अवरुद्ध बनेको कृष्णभीरमा पहाड खनेर नयाँ बाटो निकालिएको हो। भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा पहिलोपटक क्षति पुर्याएको थियो। त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले उक्त पर्खाल पूरै भत्काइदिएपछि राजमार्गमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो।
सडक ठप्प भएलगत्तै पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकहरूको सहयोगमा चार दिनसम्म द्रुत अध्ययन गराएको थियो। विज्ञहरूले कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाउन पहिलो विकल्पका रूपमा सुझाव दिएका थिए।
प्राविधिक तथा विज्ञहरूबाट प्राप्त सोही सुझावका आधारमा भदौ १९ गतेदेखि सो क्षेत्रमा रुख कटान सुरु गरिएको थियो। त्यसपछि ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर नयाँ ट्रयाक निर्माण गरिएको हो।
नयाँ ट्रयाक तयार पार्न प्राविधिकसहित ५० जनाको टोली निरन्तर खटिएको थियो। उनीहरूले दैनिक १२ देखि १६ घण्टासम्म लगातार काम गरेर १०औँ दिनमा ट्रयाक खोल्ने काम पूरा गरेका हुन्।
काम सुरु भएको १०औँ दिन अर्थात् भदौ २८ गतेदेखि नै परीक्षणका रूपमा ग्यास बुलेटसहित केही सवारी साधन सञ्चालन गराइएको थियो। त्यसयता सो खण्डमा बिहान र बेलुका अत्यावश्यक यातायात आवतजावत भइरहेको छ।
हाल उक्त सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम तीव्र रूपमा भइरहेको छ। भोलिसम्म ग्राभेलको काम पूरा गरी असोज १ गते बिहीबार बिहानैदेखि दुईतर्फी यातायात सुचारु गर्ने तयारी छ। यसका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आफैँ कार्यक्षेत्रमा निरन्तर खटिरहेका छन्।
यसअघि रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि सरकारले सुरु गरेको खोज, उद्धार, उपचार र राहत व्यवस्थापनबारे भदौ १७ गते प्रतिनिधिसभामा जानकारी दिने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले कृष्णभीरको अवरुद्ध सडक भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने घोषणा गरेका थिए। प्रधानमन्त्रीको सोही प्रतिबद्धता र घोषणाअनुसार तोकिएकै समयभित्र ट्रयाक खोलेर यातायात सञ्चालनमा ल्याइएको हो।
सम्बन्धित खबर
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
कांग्रेस फुटबाट जोगाउन अब गाह्रो, इतर समूहले पनि सार्वजनिक गर्यो १५औं महाधिवेशनको कार्यतालिका
दुर्गा प्रसाईं भन्छन्: देश जलाउने राजनीतिमा मेरो रुची छैन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला