गण्डकीका पूर्वमन्त्री मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश, पाए मनाङको जिम्मेवारी

राजनीति

गण्डकीका पूर्वमन्त्री मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश, पाए मनाङको जिम्मेवारी

राप्रपा, एमाले, एस हुँदै काँग्रेस देउवा समूहमा

deepak manange

काठमाडौं । गण्डकीका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) नेपाली काँग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका छन्।

काँग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनको तयारीका क्रममा मङ्गलबार नेता डा. शशाङ्क कोइरालाले मनाङेलाई पार्टीमा स्वागत गरेका हुन्।

संस्थापन इतर समूहको १५ औँ महाधिवेशन तयारी समितिका संयोजकसमेत रहेका पूर्वमहामन्त्री डा. कोइरालाले मनाङेलाई खादा र माला लगाएर पार्टीमा प्रवेश गराएका हुन्।

कोइरालाको सचिवालयका अनुसार मनाङेलाई पार्टी प्रवेश गराउँदै आगामी महाधिवेशनमा सङ्गठन निर्माण र विस्तारमा परिचालन गर्ने रणनीति बनाइएको छ।

गुण्डागर्दी र आपराधिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) पछिल्लो समय गण्डकी प्रदेशको राजनीतिमा निर्णायक पात्रका रूपमा स्थापित भएका छन्।

सुरुवाती दिनमा काठमाडौँको ठमेल क्षेत्रमा हप्ता असुली, गुन्डागर्दी र सङ्गठित अपराधमा जोडिएका मनाङेको नाम २०६१ सालमा अर्का नाइके चक्रे मिलनमाथि भएको ज्यान मार्ने उद्योगको घटनापछि चर्चामा आएको थियो।

उक्त घटनामा अदालतबाट दोषी ठहर भई उनी पटक-पटक जेलसमेत परिसकेका छन्।

गुण्डागर्दीको पृष्ठभूमि पछाडि पार्दै राजनीतिमा संरक्षण खोज्ने क्रममा मनाङे सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आबद्ध भएका थिए।

वि.सं. २०७४ को प्रदेश सभा निर्वाचनमा मनाङ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपा एमालेको मौन समर्थनमा निर्वाचित भएका थिए।

त्यसपछि एमाले प्रवेश गरेका मनाङे गण्डकी प्रदेशमा सरकार बनाउने र ढाल्ने राजनीतिमा सधैँ केन्द्रविन्दुमा रहे।

राजनीतिक जोडघटाउ र सत्ता समीकरणका क्रममा उनी गण्डकी प्रदेशमा पटक-पटक युवा तथा खेलकुद मन्त्री बनेका थिए।

एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले पछिल्लो समय स्वतन्त्र हैसियतमा राजनीति गर्दै आएका थिए।

अहिले नेपाली काँग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा शक्ति सन्तुलन फेरबदल भइरहेका बेला मनाङे काँग्रेसको संस्थापन इतर समूहमा भित्रिएका हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ