काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार ‘नागरिकलाई जति हेपे पनि हुन्छ भन्ने ठाउँमा पुगेको’ आरोप लगाएका छन् ।
कान्तिपुरसँगको विशेष कुराकानीमा उनले सरकारमाथि त्यस्तो आरोप लगाउन पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउको प्रकरणलाई उदाहरणका रूपमा पेस गरे ।
‘कानुनको शासनमा चल्ने सरकारले कहीँ त्यस्तो व्यवहार गर्न सक्छ ? सरकारको प्रवक्ताको जवाफले सबैभन्दा बढी स्तब्ध भएँ,’ थापाले भने, ‘त्यो नागरिकलाई हेपेको हो । नागरिकलाई जति हेपे पनि हुन्छ भन्ने ठाउँमा सरकार पुगिसक्यो जस्तो लाग्छ । हाम्रा लाखौं ‘फलोअर्स’ छन्, जताजतै ‘लाइक नै लाइक’ छ । त्यसैले सुकुम्बासी उठाएर फालिदिए पनि हुन्छ, नागरिकको घरअगाडि गाडी ल्याएर राखिदिए पनि हुन्छ, राति सुतिरहेको ठाउँबाट उठाएर लगे पनि हुन्छ भन्ने प्रवृत्तिको विरोध गर्नैपर्छ ।’
सरकारका कामबारे अहिले मधुरो स्वरमा विरोध गरेको भन्दै उनले अब त्यसो नगर्ने समेत बताए । ‘हामीले ६ महिना जति स्वर सानो बनाएकै हो,’ उनले भने, ‘विषयवस्तु छाडेको छैनौं तर प्रस्तुत गर्ने सन्दर्भमा हाम्रो स्वरलाई केही मधुरो बनाएका हौं । अहिलेको समय र सामाजिक मनोविज्ञानलाई बुझेर यो रणनीति लिएका हौं ।’
के उसो भए सरकारविरुद्ध सडक आन्दोलनमा जानुहुन्छ भन्ने प्रश्नमा थापाले सरकारले एकदमै बलियो ‘म्यान्डेट’ पाएको बताए । ‘हामी पहिल्यै योजना बनाएर सडकमा जान्छौं भन्ने होइन,’ उनले भने, ‘सरकारले एकदमै बलियो ‘म्यान्डेट’ पाएको छ । यो विषय प्रस्ट छ । सुशासन दिन र अर्थतन्त्र सुधार गर्न भनेर यो ‘म्यान्डेट’ पाएको हो । नागरिकले दिएको ‘म्यान्डेट’अनुसार काम गर्ने सन्दर्भमा हामी सहेरै आएका छौं ।’
सरकारलाई घेराबन्दी गर्ने पक्षमा पनि आफूहरू नरहेको थापाको भनाइ छ । उनले भने, ‘रास्वपाले सरकार चलाउने ‘म्यान्डेट’ पाएको छ । त्यसलाई सम्मान गर्नुपर्छ । त्यसैले सबै दल मिलेर घेराबन्दी गर्ने वा मोर्चा बनाउने गर्नु हुन्न । हामी कसैसँग मोर्चा बनाउँदैनौं । घेराबन्दी पनि गर्न जान्दैनौं । हामी सरकारलाई जहाँ सहयोग गर्नुपर्ने हो गर्छौं, जहाँ विरोध गर्नुपर्ने हो गर्छौं ।’
थापाले पार्टीभित्रको असन्तुष्टि अन्त्य गरेर कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने बताए ।
निवर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा समानान्तर महाधिवेशनको तयारी भइरहेका बेला थापाले देउवासहित असन्तुष्ट पक्षलाई १५औँ महाधिवेशनमा सहभागी गराउने प्रयास जारी रहेको बताए ।
थापाले देउवालाई महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि बनाएर सहभागी गराउने औपचारिक निम्तो दिइसकेको बताए । ‘मिल्ने, छलफल र सहमति गर्ने सम्भावना अन्तिम अवस्थासम्म पनि रहन्छ,’ उनले भने, ‘अहिले पनि निवर्तमान सभापति शेरबहादुर प्रमुख अतिथि बनेर महाधिवेशनमा आइदिनुस् भन्ने कोसिस छ ।’
विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको विवादका कारण देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी गरे पनि कांग्रेस एक हुनेमा आफू विश्वस्त रहेको थापाले बताए । ‘अब कांग्रेस पार्टी एउटै हुन्छ । केही साथीहरू असन्तुष्ट हुनुहुन्छ,’ उनले भने, ‘एउटा समूहको नेतृत्व स्वयं निवर्तमान सभापति शेरबहादुर देउवाले गर्नुभएको छ । यत्रो विरासत बोकेको पार्टीको सभापतिको जिम्मेवारीमा पुगिसकेको मान्छेले असन्तुष्टहरूको नेतृत्व गर्ने विषय दुःखद् हो ।’
पार्टी एकताको विषयलाई आफूले देउवा वा केन्द्रीय सदस्यहरूमा मात्र सीमित गरेर नहेरेको थापाको भनाइ छ । ‘पार्टीको शुभेच्छुक र समर्थक लाखौँ संख्यामा छन् । त्यसको तुलनामा केन्द्रीय सदस्यको संख्या त निकै न्यून छ । मेरो प्राथमिकतामा ती शुभेच्छुक र समर्थकले के सोच्छन् भन्ने हो,’ उनले भने, ‘शेरबहादुर देउवा के गर्नुहुन्छ ? के गर्दै हुनुहोला ? भन्दा पनि १० लाख शुभेच्छुक, समर्थकलाई पार्टीमा कसरी समेट्ने होला भन्ने मेरो ध्येय हो । त्यसमा देउवा पनि पर्नुहुन्छ । तर, उहाँलाई मात्र सोचेर बस्न सकिँदैन । त्यसभन्दा बृहत्तर रूपमा सोचेको छु ।’
देउवा पक्षका मागमा आफूले कतिपय विषयमा लचकता अपनाएको थापाले बताए । सदस्यता नवीकरणका लागि अवसर दिइएको उल्लेख गर्दै थापाले भने, ‘एकपछि अर्को गरी झुक्दै गएँ । अहिले पनि निवर्तमान सभापति शेरबहादुर प्रमुख अतिथि बनेर महाधिवेशनमा आइदिनुस् भन्ने कोसिस छ ।’
देउवालाई महाधिवेशनको उद्घाटनमा सहभागी हुन औपचारिक निम्तो दिइसकेको उनले बताए । ‘औपचारिक निम्तो गइसकेको छ । भेटेर कुराकानी गर्दा उहाँलाई आउन सहज हुन्छ भने त्यसका लागि पनि तयार छौँ,’ थापाले भने ।
देउवासँग भेटेर कुराकानी गर्न आफूले पटक–पटक प्रयास गरे पनि सम्भव नभएको थापाको भनाइ छ । ‘त्यतिबेला मैले भेट्नका लागि आफैँले टेलिफोन गरेर कोसिस गरेँ । धेरै नेताहरूमार्फत् पनि कोसिस गरेँ । साँझ, बिहान जतिबेलै भेटको कोसिस गरेँ । तर भेटघाट र कुराकानी हुन सकेको छैन । मैले कोसिस गरेको विषय बाहिर आउन नसकेको हो,’ उनले भने ।
जेन–जी आन्दोलनका क्रममा देउवामाथि भएको आक्रमणपछि आफूले सहानुभूति नदेखाएको भन्ने आरोपबारे थापाले त्यसलाई अस्वीकार गरे । उनले आफू र विश्वप्रकाश शर्माले २५ भदौमा विज्ञप्ति जारी गरेर देउवामाथिको आक्रमणको भर्त्सना गरेको बताए ।
‘सायद उहाँमाथि भएको आक्रमणको विरोध गर्ने पहिलो मान्छे हामी नै होला,’ थापाले भने । त्यसपछि अस्पतालमा भेट्न खोज्दा भेट्न नदिइएको र असोजमा भएको पार्टी बैठकका लागि देउवाको भाषण तयार पार्ने काममा समेत आफू संलग्न रहेको उनले बताए ।
महाधिवेशनको उद्घाटन सत्रको अध्यक्षता देउवाले गर्ने विषयमा थापाले पार्टीको विधानअनुसार निर्णय हुने बताए । ‘यदि उहाँले अध्यक्षता गर्दा पार्टी एक हुन्छ भने त्यसो गर्न पनि तयार छौँ । त्यसमा व्यक्तिगत विषय केही पनि छैन,’ उनले भने ।
देउवालाई निवर्तमान सभापतिका रूपमा प्राप्त सम्मान र प्रतिष्ठाको ठाउँ नछाड्न पनि थापाले आग्रह गरे । ‘ढिलोचाँडो यो विषयलाई स्वीकार गर्नुहुन्छ होला जस्तो लाग्छ । अदालतको बाटो र पार्टीका साथीहरूको सहभागिताको पाटो जताबाट हेरे पनि उहाँले यो विषय बुझ्नुपर्ने हो,’ उनले भने ।
सम्बन्धित खबर
नेपाल एयरलाइन्स मेरो निजी कम्पनी भएको भए म बन्द गरिदिन्थेँ : पर्यटनमन्त्री पौडेल
विमानभित्र उपद्रो गर्ने यात्रुलाई पाइलटले नै पक्राउ गर्न सक्ने, ५ लाखसम्म जरिवाना !
दाउन्नेमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु
बालेन सरकार नागरिकलाई जति हेपे पनि हुन्छ भन्ने ठाउँमा पुगिसक्यो : गगन थापा
पृथ्वी राजमार्ग बुधबार दिउँसोदेखि पूर्णरूपमा सञ्चालनमा आउने
पछिल्लो वर्षाले बाढी पहिरोबाट ३५ जनाको मृत्यु, १५ जना घाइते
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ: अमरेश सिंह
गण्डकीका पूर्वमन्त्री मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश, पाए मनाङको जिम्मेवारी