कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

Bharatraj-Dhakal-Nc-Syj-1

युवा उद्यमी तथा बैंकिङ क्षेत्रका भरतराज ढकालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । स्याङ्जाको आँधीखोला गाउँपालिका–६ फापरथुमका ढकालले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार केन्द्रीय पदाधिकारी तथा सदस्यका लागि मनोनयन दर्ताको समय तोकेको छ । ढकालले विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका हुन् । उनी १०औँ महाधिवेशनदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

ढकाल लामो समयदेखि बालबालिकाको संरक्षण, वातावरण, सहकारी, बैंक तथा वित्तीय संस्था र कृषि क्षेत्रमा सक्रिय छन् । २०५७ सालमा अनाथ तथा गरिब बालबालिकाको संरक्षणका लागि स्याङ्जामा सहारा बालगृह स्थापना गरेका उनले २०५९ सालमा रोयल सहकारी स्थापना गरी सहकारी अभियानमा काम थालेका थिए ।

त्यसपछि २०६३ सालमा मुक्तिनाथ विकास बैंक स्थापना गरेका ढकाल विगत डेढ दशकदेखि नेपालको वित्तीय क्षेत्रमा सक्रिय छन् । उनी नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाका संस्थापक सदस्यमध्ये एकसमेत हुन् ।

पछिल्लो एक दशकदेखि मुक्तिनाथ कृषि कम्पनीमार्फत कृषि क्षेत्रमा काम गर्दै आएका ढकालले कृषि उत्पादनको मूल्य शृंखला, बजार विस्तार र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै आएका छन् । औद्योगिक विकासका क्रममा वातावरणमा परेको प्रभावबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षमा समेत आवाज उठाउँदै आएको उनको भनाइ छ ।

जेनजी आन्दोलनपछि कांग्रेसको विशेष महाधिवेशनमा सक्रिय रहेका ढकाल प्रतिनिधिसभा निर्वाचन–२०८२ मा स्याङ्जा क्षेत्र नं. १ बाट कांग्रेसका उम्मेदवारसमेत बनेका थिए । यसपटक भने उनी पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवार बन्न लागेका हुन् । हालै स्याङ्जा क्षेत्र नं. १ बाट उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

ढकालले निजी क्षेत्रले लामो समयदेखि भोग्दै आएका समस्यालाई नीतिगत रूपमा समाधान गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । उनका अनुसार बालबालिकाको पोषण, युवाको शिक्षा तथा रोजगारी, ज्येष्ठ नागरिकको स्वास्थ्य र निजी क्षेत्रका समस्यासहित देशको आर्थिक अवस्था सुधारका विषयमा काम गर्न आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको हो ।

‘देशको आर्थिक अवस्था सुधारसँगै बालबालिका, युवा, ज्येष्ठ नागरिक र निजी क्षेत्रका मुद्दालाई नीतिगत रूपमा सम्बोधन गर्न आफ्नो क्षमताले भ्याएसम्म काम गर्ने उद्देश्यले उम्मेदवारी दिन लागेको हुँ,’ ढकालले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ