सुदूरपश्चिम पहिलो पटक एनपीएल च्याम्पियन, मुन्सेको शतक

एनपीएल

सुदूरपश्चिम पहिलो पटक एनपीएल च्याम्पियन, मुन्सेको शतक

अघिल्ला दुई सिजनको फाइनलमा पराजित भएको पीडालाई बिर्सायो

sudur

स्कटिस ब्याटर जर्ज मुन्सेले सानदार शतक बनाएपछि सुदूरपश्चिम रोयल्सले तेस्रो सिजनमा आएर नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो उपाधि जितेको छ । सुदूरपश्चिमले शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्‍यो ।

मुन्सेले १ सय १९ रन बनाउनका साथै विनोद भण्डारीसँग पहिलो विकेटमा कीर्तिमानी साझेदारी गरेपछि सुदूरपश्चिमले १ सय ५६ रनको लक्ष्य १३.३ ओभरमै पूरा गरेको थियो । यसअघि टस हारेपछि ब्याटिङमा आएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ५५ रन बनाएको थियो ।

सुदूरपश्चिमले अघिल्ला दुई सिजनको फाइनलमा पराजित भएको पीडालाई बिर्साउँदै सानदार ढंगमा उपाधि जित्न सफल भएको हो । गत वर्ष लुम्बिनीले सुदूरपश्चिमलाई नै एकतर्फी फाइनलमा पराजित गरेको थियो । लगातार तेस्रो वर्ष फाइनल खेलिरहेको सुदूरपश्चिम पहिलो सिजनको फाइनलमा पनि जनकपुर बोल्ट्ससँग पराजित रहेको थियो ।

यस सिजनमा लुम्बिनीसँग लिग चरण र क्वालिफायर १ मा गरी सुदूरपश्चिम दुई पटक पराजित भएको थियो । दुवै पटक टोलीले निराशाजनक ब्याटिङ गरेको थियो । तर मुन्से र विनोद भण्डारीले उत्कृष्ट साझेदारी गरेपछि सुदूरपश्चिमले कठिन विकेटमा ठूलो लक्ष्य सजिलै पछ्याएको थियो ।

मुन्सेले ५४ बलमा अविजित १ सय २५ रन बनाए । उनले कुल ८ चौका र १२ छक्का प्रहार गरे । शेर मल्लको बलमा मुन्सेले लगातार तीन छक्का प्रहार गरेपछि सुदूरपश्चिमले ३९ बल अगाडि १ सय ५८ रन जोडेको थियो ।

मुन्सेले पाएको एक जीवनदानको पूरा फाइदा उठाए । मुन्से ४४ रनमा भएको समयमा सन्दीप जोराले मिडविकेटमा क्याच छाड्न पुगेका थिए । मुन्सेले २८ बलमा अर्धशतक र ४९ बलमा शतक पूरा गरेका थिए । उनका ओपनिङ जोडी विनोदले २७ बल खेली ३ चौकासहित अविजित ३० रन बनाए ।

यसअघि लुम्बिनीबाट दिलीप नाथले सर्वाधिक ३९ रन बनाई अविजित रहे । ३१ बल खेलेका उनले ३ छक्का प्रहार गरे । दिलीप र अली शेखले छैटौँ विकेटमा १९ बलमा ३३ रनको साझेदारी गरेपछि लुम्बिनीले १ सय ५० रनको स्कोरलाई छोएको थियो । लुम्बिनीले अन्तिम ५ ओभरमा ४७ रन जोडेको थियो ।

अमेरिकी ब्याटर अलीले १२ बल खेली समान २ चौका र छक्का प्रहार गर्दै २४ रन बनाए । उनको स्थानमा आएका रुबेल ट्रम्पलम्यान २ बलमा ४ रन बनाई अविजित रहे । दिलीपले सर्वाधिक ३९ रन बनाई अविजित रहे ।

नेपाली राष्ट्रिय टोलीका ओपनर आसिफ शेखले पुनः लुम्बिनीलाई निराश बनाए । उनी १ रनमात्र बनाई स्कट कुग्लेनको बलमा एलबीडब्लु आउट भए । अर्का ओपनर डीआरसी शर्टले १८ बलमा २१ रन बनाए । उनले चार चौका प्रहार गरे । पहिलो पावर प्लेको अन्तिम ओभर लिएर आएका कप्तान दीपेन्द्र सिंह ऐरीले शर्टलाई बोल्ड गरे ।

निरोशन डिकवेलाले १७ बलमा २८ रन जोडे । उनले १ चौका र २ छक्का प्रहार गरे । अर्का श्रीलंकाली खेलाडी थारिन्दु रत्नायकेले उनलाई बोल्ड गरे । कप्तान रोहित पौडेलले ३० रन बनाए । दिलीप नाथको कलमा रन आउट हुन पुगेका रोहितले ३१ बल खेल्दै २ चौका प्रहार गरे । सन्दीप जोरा ४ रनमै आउट भए ।

सुदूरपश्चिमबाट कुग्लेनले २ विकेट लिँदै प्रतियोगितामा आफ्नो विकेट संख्या १५ पुर्‍याए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चितवन राइनोजका रिजन ढकालभन्दा २ विकेटले पछाडि छन् । कुग्लेनले ४ ओभरमा २५ रनमात्र खर्चे । हेमन्त धामी, रत्नायके र दीपेन्द्रले १–१ विकेट लिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ