बालेन भारत जाँदा तोड्दैछन् प्रधानमन्त्री भ्रमणका परम्परा

राजनीति

बालेन भारत जाँदा तोड्दैछन् प्रधानमन्त्री भ्रमणका परम्परा

balen shah

प्रधानमन्त्री बालेन्द्र शाह भने विगतका केही परम्परा बदलेर आइतबार दिउँसो दिल्ली उत्रिँदैछन् ।

पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलहरूसँग पनि प्रधानमन्त्री बालेनले छलफल गरेका छैनन्। विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई भेटेर भ्रमणको तयारी, एजेन्डा तथा राष्ट्रिय हितका विषयमा जानकारी गराउने प्रचलन थियो।

विगतमा प्रधामन्त्रीहरू विदेश भ्रमणमा जाँदा नेपालमा देखिने तामझाम हुने छैन । भारत पुग्दा प्रधानमन्त्री बालेनले नेपालको विमानस्थलमा सबै उच्च पदस्थ अधिकारीहरूलाई बिदाइमा बोलाउने छैनन् ।

उनले न्यूयोर्क जाँदा नै यो परम्परा तोडिसके । भारतको यो राजकीय भ्रमणमा पनि उनले त्यहाँ तामझाम नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् ।

यता भारतमा उनको सम्मानमा हुने गार्ड अफ अनर हुनेछ । उनी त्यसमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको यो भ्रमण निकै छोटो छ । उनी करिब २५ घण्टा मात्र दिल्ली बस्दैछन् । आइतबार दिउँसो सवा ३ बजे दिल्लीमा अवतरण गर्ने उनी सोमबार दिउँसो ४:५० बजे नेपाल फर्किनेछन् ।

विगतका प्रधानमन्त्रीहरूले तीनदिन वा त्यो भन्दा बढीको भ्रमण गर्ने दिल्ली बाहिरका सहरहरूमा परियोजना हेर्ने वा धार्मिक मठ मन्दिर धाउने परम्परा पनि बालेनले तोड्नेछन् ।

उनको भ्रमण तालिका अनुसार उनी दिल्ली बाहेक कहिँ जाने छैनन् ।

प्रधानमन्त्री शाहको सबैभन्दा लामो भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार हुने छ । उनले १ घण्टा बढी एकल भेट गर्ने छन् ।

विगतमा प्रधानमन्त्रीहरूले भ्रमणका बेला भारतमा रहेका नेपाली उद्योगी व्यावसायीहरूसँग छुट्टै भेटघाट र अन्तर्क्रिया गर्थे । तर यसपटक प्रधानमन्त्री शाहले कसैलाई पनि भेट्ने छैनन् ।

नेपाली र भारतीय उद्योग व्यावसायीहरूसँगको भेटका लागि उनले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाललाई जिम्मा दिएका छन् ।

दुई मन्त्रीहरूले नै दुवै देशका उद्योगी व्यावसायीहरूसँग अन्तर्क्रिया गर्नेछन् ।

प्रधानमन्त्री शाह नेपाली राजदूतावासमा पनि जाने कार्यक्रम छैन । आइतबार दिउँसो दिल्ली आएलगत्तै उनको भारतीय विदेशमन्त्री एस. जयशंकरसँग उनी बसेकै ताज होटलमा भेट्ने कार्यतालिका छ ।

विगतमा प्रधानमन्त्रीहरूले विभिन्न मन्त्रालयका मन्त्रीहरूलाई पनि भेट्ने र आपसी संवाद गर्ने गरेका थिए । तर प्रधानमन्त्री शाहले जयशंकर बाहेक अन्य मन्त्रीहरूसँग छलफल गर्ने छैनन् ।

प्रधानमन्त्री शाहले हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग भेटेपछि अयोध्या-जनकपुर रेल उद्घाटन लगायतका कार्यक्रममा सहभागी हुनेछन् ।

दुवै प्रधानमन्त्रीको छोटो ब्रिफिङ पछि भ्रमणको मूल काम सकिनेछ ।

राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटेर सोमबार प्रधानमन्त्री शाह स्वदेश फर्किने छन् ।

भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि केही ऋण र अनुदान लगायतका विषयमा सम्झौता गर्ने तयारी

यो भ्रमणमा भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि केही ऋण र अनुदान लगायतका विषयमा सम्झौता गर्ने तयारी छ । यद्यपि कतिसम्मको सम्झौता हुन्छ भन्ने सरकारी अधिकारीहरूले भनिसकेका छैनन् ।

विगतका सहमति र सम्झौताहरूलाई टुंग्याउने गरी एउटा साझा प्रतिबद्धता जनाउने तयारी छ । यो भ्रमणमा क्रिकेटदेखि आईटीसम्मका विषयहरूलाई पनि दुई देशबीच सहकार्य बढाउनेबारे सहमति गर्ने तयारी छ ।

विगतमा भ्रमणमा भएका सहमति र सम्झौताको भाषाको एकरुपता मिलाउनेबारे कुरा नमिल्दा दुवै पक्षको संयुक्त वक्तव्य ननिस्केका उदाहरण पनि छन् । तर यसपटक दुवैले पक्षले नेपाल भारतको संयुक्त भिजन पेपरको रुपमा सार्वजनिक गर्ने तयारी छ ।

बालेन्द्र शाहले प्रधानमन्त्री भएपछि एक वर्षसम्म विदेश नजाने नीति लिएका थिए । तर आफ्नो सुरुवाती नीति बदल्दै उनी आठ महिनापछि भारत भ्रमणका लागि तयार भएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ