हिमाली जिल्ला म्याग्दीमा दुई हजार १५० घरधुरी बाढीपहिराको उच्च जोखिममा छन् । जिल्लामा रहेको कूल दुई हजार २९७।०६ वर्ग किमी क्षेत्रफलबाट ३७ लाख ४५ हजार ६९० घनमिटर मलिलो माटो बग्ने गरेको कारण ग्रामीण क्षेत्रमा ठूलो परिमाणमा भूक्षय र पहिरा जाने गरेको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले जनाएको छ ।
भिरालो जमीन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजीकबाट सडक विस्तारलगायत विभिन्न कारणले गर्दा जिल्लाका अधिकांश बस्ती पहिरोका जोखिममा रहेको कार्यालय प्रमुख कृष्ण घिमिरेले बताए । “जिल्लालाई बाढीपहिराबाट जोखिम मानिन्छ, विनियोजित बजेट पर्याप्त छैन”, घिमिरेले भने। उनले केही बस्ती ठूला पहिरोको जोखिममा भएकाले स्थानान्तरको आवश्यकता रहेको जानकारी दिए ।
विनाश मैत्री सडक, बस्तीमाथिको क्षेत्रमा विकास निर्माणका गतिविधि, नदीखोलाको कटानीले आधा दशक अगाडिसम्म सामान्य पहिरालाई उचित रोकथामको अभावले जोखिम बढेको घिमिरेको भनाइ छ । जिल्लामा १८ भन्दा बढी ठूलो पहिरा र सयौँको सङ्ख्यामा रहेका मध्यम तथा साना पहिराले करीब ९०० र बाढीले एक हजार २५० घरधुरी जोखिममा परेको जनाइएको छ । पहिराले एक हजार ३४।१ हेक्टर क्षेत्रफल ओगटेको कार्यालयले जनाएको छ ।
उपल्लो कलीगण्डकी जलाधार क्षेत्रमा पर्ने साबिकको धौलागिरि अञ्चलका चार जिल्लासहित स्याङ्जा हेर्ने गरी पर्वतमा कार्यालय स्थापना गरिएकाले म्याग्दी जस्तो जोखिमपूर्ण जिल्ला कम प्राथमिकतामा परेको जिल्लाका सरोकारवाला निकायले बताएका छन् । साबिकका ४१ मध्ये ३७ गाविस बाढीपहिराको जोखिममा रहेको छ ।
भू–क्षय तथा पहिराबाट गुर्जा, मुदी, लुलाङ्ग, वेगखोला, निस्कोट, रुम, पात्लेखेत, भू–तातोपानी, नारच्याङ्ग, कुइनेमङ्गले, पुलाचौर, पाखापानी, ओखरबोट, मुना, मुदी, भकिम्ली, बरञ्जा, अर्मन, हिस्तान, दोवा, शिख, घारका विभिन्न बस्ती संवेदनशील क्षेत्रमा समावेश गरिएको छ ।
त्यस्तै कालीगण्डकी कटानका कारण उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरुङतातोपानी बजार, बेगखोला, रघुगङ्गा गाउँपालिकाको पिप्लेको चमेरे, बेनी नगरपालिकाअन्तर्गत पर्ने गलेश्वरबजार, बेनीबजार, आनन्दबगरलगायत तटीय क्षेत्रमा रहेका बस्ती जोखिममा छन् ।
उता म्याग्दी खोलाले जिल्लाकै दोस्रो व्यापारिक केन्द्र दरवाङबजार, रातोढुङ्गा, सिम, ताराखेत, बाबियाचौर, अर्मन हाँडेभिर, निस्कोटको खोप्टी गाउँ, तातोपानी, बगरफाँट, सिङ्गा, बेनी मङ्गलाघाट बजार जोखिमको सूचीमा राखिएको छ । प्राकृतिकसँगै मानवसिर्जित समस्या नै विनाश प्रमुख कारण भएको उनले बताए ।
ग्रामीण क्षेत्रमा सामुदायिक वन तथा मापदण्ड विपरीत धमाधम सडक विस्तारले बाढीपहिराको जोखिम हरेक वर्ष थपिँदै गएको प्राविधिकको भनाइ छ । जिल्लामा रहेका ठाडो तथा सहायक खोला राहुघाट खोला, घट्ठेखोला, फूलबारी रितुमखोल, घट्ठे खोलाको कटानले समेत जोखिम बढाएको छ ।
एक साताअगाडि म्याग्दीको माथिल्लो क्षेत्रमा भएको भीषण वर्षाले म्याग्दी खोलामा बाढी आउँदा तटीय क्षेत्रमा जोखिम बढेको थियो । “नगर क्षेत्रभित्र बर्सेनी क्षति पुर्याउने गरेको छ, ठूला पहिरा रोकथाम गर्न असम्भव जस्तै देखिन्छ”, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले भने । उनका अनुसार नगरस्तरीय विपद् व्यवस्थापन समितिमार्फत विपद्को पूर्वतयारी शुरु गरिएको उनले बताए ।
जिल्लाका अन्य स्थानीय तहले समेत विपद् व्यवस्थापनमा सक्रियता देखाए पनि पर्याप्त बजेटको अभावले समस्या भएको बताइएको छ । स्थानीय तहमा विपद् व्यवस्थापनमा पर्याप्त बजेट विनियोजन गर्नसमेत जनप्रतिनिधिले माग गरेका छन् ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ