सेमिफाइनलमै टुङ्गियो सन्दीपको सीपीएल यात्रा

सेमिफाइनलमै टुङ्गियो सन्दीपको सीपीएल यात्रा

sandeep

पुरानै गल्ती दोहोर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ ।

मङ्गलवार राति सम्पन्न सेमिफाइनलमा नाइट राइडर्सले जमैकालाई नौ विकेटले पराजित गरी फाइनलका लागि स्थान बनाएको हो ।।टस जितेपछि नाइट राइडर्सले फिल्डिङ रोज्यो । जमैकाले खाता नै खोल्न नपाउँदै विकेट गुमाउन पुग्यो । जेर्मिन ब्ल्याकउडलाई नाइट राइडर्सका अकिल हुसैनले बोल्ड गरे । जमैकाले दुई रन जोड्दा उसका भरपर्दा खेलाडी ग्लेन फिलिप्सलाई खेइरे पियरेले अलि खानद्वारा क्याच आउट गराए । जमैकाको विकेट पतनको क्रम यतिमै रोकिएन । टोलीको स्कोर १० रन छँदा उसले तेस्रो विकेट गुमायो । मुजिबउर रहमान रन नै नबनाई पभेलियन फर्किए। उनलाई अकिल हुसैनले ड्वाने ब्राभोको हातबाट क्याच आउट गराए । जमैकाले पाँचौँ ओभरमा चौथो विकेट गुमायो । नाइट राइसर्डका अकिल हुसैनले नै व्यक्तिगत दोस्रो विकेट लिँदै आसिफ अलीलाई चार रनमै केरोन पोलार्डको हातबाट क्याच आउट गराए ।

जमैकाका लागि नक्रुम बोनरले पारी सम्हाल्ने प्रयास गरे। उनले ४२ बल खेल्दै पाँच चौकाको मद्दतमा सर्वाधिक ४१ रनको योगदान दिए । जमैकाको स्कोर ६३ रन छँदा उनी आउट भए । लगत्तै भरपर्दा खेलाडी आन्द्रे रसेल पनि पवेलियन फर्किए । उनले पाँच बल खेल्दै मात्र दुई रन बनाए। रसेललाई सुनिल नराइनेले ड्वाने ब्राभोको हातबाट क्याच आउट गराए । त्यसपछि केही बेर जमैकाको पारी कप्तान रोभमन पावेलले सम्हाले । उनले एक छक्का र एक चौकाको मद्दतमा ३५ बलमा ३३ रन बनाए। उनलाई खेइरे पियरेले जमैकाको स्कोर ९३ रन छँदा पवेलियन फर्काए। जमैकाले सात विकेटको क्षतिमा १०७ रन मात्र बनाउन सक्यो ।

बलिङतर्फ नाइट राइडर्सका लागि अकिल हुसैनले तीन, खेइरे पियरेले दुई तथा सुनिल नराइने र फवाद अहमदले एक एक विकेट लिए ।

एक सय आठ रनको झिनो स्कोर पछ्याउने क्रममा नाइट राइसर्डले १५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । उसका लागि लेन्डले सिमोन्सले अविजित ५४ तथा टिवन वेवस्टारले अविजित ४४ रनको पारी खेले । जमैकाका बलरहरू नाइट राइसर्डका खेलाडीका अगाडि निरिह सावित भए । सीपीएलमा उत्कृष्ट लयमा रहेका जमैकाका मुजिबउर रहमानले मात्र एक विकेट लिए उनले सुनिल नराइनेको विकेट लिएका हुन् । योसँगै रहमान प्रतियोगितामा सर्वाधिक १८ विकेट लिने खेलाडी बनेका छन् ।

सन्दीप विकेटविहीन

प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै आएका लेग स्पिनर सन्दीप लामिछाने भने नाइट राइसर्डसितको खेलमा विकेट लिनबाट चुके । उनले चार ओभर बलिङ गर्दै २९ रन खर्चिए । तीन वाइड बल फाल्नुभएका उनको बलमा नाइट राइडर्सका खेलाडीले एक छक्का तथा दुई चौका समेत हाने । प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा उनी पाँचौँ स्थानमा रहे । नाइट राइडर्ससितको सेमिफाइनल खेल खेल्नुअघि सन्दीप सर्वाधिक विकेट लिनेको सूचीमा चौथो स्थानमा थिए ।

यसअघि सन्दीपले समूह चरणका १० खेलमा १२ विकेट लिएका थिए । उहाँ सीपीएलकै सबैभन्दा किफायती बलर भएका छन् । सन्दीपले समूह चरणका तीन खेलमा दुई दुई विकेट तथा छ खेलमा एक एक विकेट लिएका थिए । उनलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सीपीएलपछि अब उनको यात्रा इन्डियन प्रिमियर लिग ९आइपीएल० तर्फ मोडिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ