कोपा अमेरिका: गोलरक्षक मार्टिनेज नायक बन्दा अर्जेन्टिना फाइनलमा, ब्राजिलसँग उपाधि भिडन्त

कोपा अमेरिका: गोलरक्षक मार्टिनेज नायक बन्दा अर्जेन्टिना फाइनलमा, ब्राजिलसँग उपाधि भिडन्त

messi-martinez-argentina

एजेन्सी – गोलरक्षक इमिलियानो मार्टिनेज टाइब्रेकरमा नायक बन्दा अर्जेन्टिना कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको छ । मार्टिनेजले तीन पेनाल्टी बचाएपछि अर्जेन्टिनाले कोलम्वियालाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो । कोलम्वियाको पहिलो प्रहारमा जुआन कोर्डाडोले गोलमा परिणत गरेका थिए । त्यसपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गरेका थिए । डाभिन्सन सान्चेजको प्रहाराई अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले बचाउँदा अर्जेन्टिनाका रोड्रिगो डि पउलको प्रहार आकासिएको थियो ।

त्यसपछि यारी मिनाको प्रहारलाई मार्टिनेजले विफल पार्दा अर्जेन्टिनाका लियान्द्रो ड्यानियल पारेडेसले गोल गर्दै टोलीलाई अघि बढाए । त्यसपछि मिगुइल बोर्जाले गोल गर्दै कोलम्वियाको सम्भावना जीवित राखेको थियो । लोउटारो मार्टिनेज गोल गरेपछि अर्जेन्टिना फाइनल नजिक पुगेको थियो । कोलम्वियाका इडविन कोर्डाेनाको पेनाल्टीलाई मार्टिनजेल विफल पार्दै अर्जेन्टिनालाई फाइनलको बाटोमा डोर्याए ।

ब्राजिलमा बुधबार बिहान भएको खेलको सातौ मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । एक गोलले पछि रहेको कोलम्वियाले दोस्रो हाफमा अर्जेन्टिनालाई दवाव बढाउदै बराबरी गोल फर्काउन सफल भयो । ६२औं मिनेटमा कोलम्वियाका लुइस डियाजले बराबरी गोल फर्काउन सफल भए । लुइस डियाजले इडविन कार्डानाको चलाखीपुर्ण फ्रिकिक पासमा पेज्जेलासँग संघर्ष गर्दै आफै अनियन्त्रित भएको अवस्था गोलरक्षक पनि अघि बढेको अवस्थामा फार पोस्टमा उत्कृष्ट फिनिस गर्दै खेललाई बराबरीमा ल्याउन सफल भएका थिए ।

अब अर्जेन्टिनाले उपाधिका लागि ११ जुलाईमा ब्राजिलको सामना गर्नेछ । साविकको विजेता ब्राजिलले मंगलबार बिहान पेरुलाई १–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

ब्राजिल र अर्जेन्टिनाबीच ‘फाइनल’

अब आइतबार बिहान माराकान स्टेडियममा ब्राजिल र अर्जेन्टिनाबीच फाइनल खेल हुनेछ । दक्षिण अमेरिकाका १० टिम सहभागी प्रतियोगितामा ब्राजिल र अर्जेन्टिना अपराजित बन्दै फाइनल पुगेका हुन् । ब्राजिल र अर्जेन्टिना १४ वर्षपछि कोपा अमेरिकाको फाइनल आमन सामने हुने भएको छ ।

अर्जेन्टिनाले १४ पटक कोपाको उपाधि जितिसकेको छ र यस पटक च्याम्पियन बने सर्वाधिक १५ पटक जित्ने उरुग्वेको कीर्तिमान बराबरी गर्नेछ । सर्वाधिक ५ पटक फिफा विश्वकप जितेको ब्राजिलले भने ९ पटक मात्र कोपा जितेको छ र सर्वाधिक उपाधि जित्नेमा तेस्रो स्थानमा छ ।

अर्जेन्टिनाले सन् १९९३ मा पछिल्लो पटक कोपा जितेको थियो । त्यसयता कुनै पनि ठूलो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । २००४ यता अर्जेन्टिनाले चार पटक कोपाको फाइनल र एक पटक विश्वकपको फाइनल खेलिसकेको छ ।

ब्राजिलले भने २१औं शताब्दीमै ३ पटक कोपा अमेरिकाको उपाधि जितिसकेको छ । सन् २००४ र २००७ को फाइनलमा अर्जेन्टिनालाई हराएर ब्राजिलले उपाधि जितेको थियो । अर्जेन्टिना त्यसपछि पनि दुई पटक फाइनलमा पराजित भयो । अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।

२०११, २०१५ र २०१६ मा राम्रो प्रदर्शन गर्न नसकेको ब्राजिलले २०१९ मा घरेलु मैदानमै उपाधि जितेको थियो ।

वर्तमान विश्वकप फुटबलका स्टार खेलाडी लिओनल मेस्सीको कप्तानीमा अर्जेन्टिना यस पटक उपाधि जित्दै झण्डै तीन दशकको उपाधि खडेरी तोड्ने लक्ष्यमा छ । ब्राजिल भने घरेलु मैदानमै फेरि च्याम्पियन बन्न चाहन्छ ।

सेमिफाइनलमा पेरुलाई हराएपछि ब्राजिलियन स्टार नेयमारले पनि फाइनलमा अर्जेन्टिनासँग खेल्न चाहेको प्रतिक्रिया दिएका थिए ।

मेस्सी र नेयमारले स्पानिस क्लब बार्सिलोनामा केही वर्ष सँगै बिताएका थिए । अब कोपामा भने यी दुई खेलाडी एक अर्काविरुद्ध मैदान उत्रनेछन् । मेस्सीले पनि आफूहरु साथी भएकोले नेयमारले म पनि त्यहाँ होस् भन्ने चाहेको बताएका छन् ।

मेस्सीलाई फाइनलमा हार्नुको पीडा राम्रोसँग थाहा छ । सन् २००७, २०१५ र २०१६ मा फाइनल हार्दा मेस्सी अर्जेन्टिनी टिमको सदस्य थिए । पछिल्लो दुई फाइनल मेस्सी नै कप्तान थिए ।

उता नेयमारले २०१९ को कोपा चोटका कारण गुमाएका थिए । त्यसैले दुवै खेलाडी कोपाको ट्रफी चुम्नका लागि आतुर छन् ।

कोपाको फाइनल इतिहास हेर्दा अर्जेन्टिना हाबी देखिन्छ । ब्राजिल र अर्जेन्टिनाले कोपाको फाइनलमा अहिलेसम्म १० पटक भिड्दा ८ पटक अर्जेन्टिनाले जितेको छ । ब्राजिलले अर्जेन्टिनाविरुद्ध दुई फाइनल मात्र जितेको छ ।

अहिलेसम्म २८ पटक फाइनल खेल्दा अर्जेन्टिना १४ पटक च्याम्पियन र १४ पटक नै उपविजेता बनेको छ । यस्तै २० पटक फाइनल पुगेको ब्राजिलले ९ पटक उपाधि जित्दा ११ पटक उपविजेता बनेको छ । जसमा ८ पटक अर्जेन्टिनासँग नै पराजित भयो भने दुई पटक उरुग्वे र एक पटक पाराग्वेसँग पराजित भएको छ ।

संयोग के छ भने ब्राजिलले अहिलेसम्म घरेलु मैदानमा खेलेको सबै कोपाको उपाधि जितेको छ । सन् १९१९, १९२५, १९२९, १९३७ र २०१९ मा आयोजक हुँदा ब्राजिलले उपाधि जितेको थियो ।

२०१९ को कोपा को सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिना १९ खेलसमम्म अपराजित छ । ब्राजिललाई अन्तिम पटक हराउने टिम पनि अर्जेन्टिना नै हो । २०१९ को नोभेम्बरमा अर्जेन्टिनासँग हारेयता ब्राजिल १३ खेलसम्म अपराजित छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ