३५ बर्षमै बृद्धभत्ता ! राममायालाई रहर होईन कर

३५ बर्षमै बृद्धभत्ता ! राममायालाई रहर होईन कर

Exif_JPEG_420

अश्विन दानी, गोरखा । बृद्धभत्ता बृद्ध अवस्थामै पाइने सामाजिक सुरक्षा भत्ता हो । यसका लागि ७० वर्ष कटेको हुनुपर्छ । तर गोरखा नगरपालिका ९ दल भञ्ज्याङकी राममाया नेपालीले ३१ बर्षकै उमेरदेखि वृद्धभत्ता थाप्न थालिन् । नागरिकता बनाउँदा जन्म मिती फरक परेपछि उनले ३१ बर्षकै उमरदेखि वृद्धभत्ता थाप्न पाईन् ।

नेपाल सरकारले ७० बर्ष उमेर नाघेकालाई मासिक दुईहजार रुपियाँका दरले वृद्धभत्ता भत्ता दिँदै आएको छ । तर ३५ बर्षको उमेरमा वृद्धभत्ता थाप्दा अरुले हजूरआमा भनेर जिस्क्याउने राममाया बताउँछिन् । ३५ बर्षमै वृद्ध भत्ता खादै आएकी राममायालाई वृद्धभत्ता थाप्न मनभित्रैदेखि लाज लागेर आउँछ । लाजले गर्दा सुरुको एकबर्ष त उनले भत्ता थापिनन् ।

‘३१ बर्षको उमेरदेखि नै वृद्ध भत्ता खान थालेकी हुँ । अहिले ३५ बर्षको भएँ तर वृद्धभत्ता थाप्दा हजूरआमा भएँ जस्तो लाग्छ ।’ – नेपाली भन्छिन् – ‘नागरिकता बनाउँदा म ३० बर्षको थिएँ । लाज लागेर सुरुको एकबर्षचाहिँ मैले भत्तै लिइन । पछि अरुले पनि लिऊ भनेर कराउन थाले । अनि लिन थालेँ ।’

कृषि विकास वैंकको गोरखा शाखाबाट भत्ता लिने गरेको उनी बताउँछिन् । ‘वैंकमा भत्ता लिन पनि एकदम गाह्रो मानीमानी गएको थिएँ । त्यहाँका कर्मचारीहरुले तपाइँ भन्दा सानो उमेरका अरुले पनि खादै आएका छन्, गाह्रो नमान्नू भनेपछि मन अल्लि हलुङ्गो भयो’ – राममाया भन्छिन् – ‘म भन्दा सानो उमेरका ढुङ्गागाढे र खोप्लाङका अरुले पनि वृद्धभत्ता खाँदै आएका रहेछन् ।’

आफ्नो बास्तविक जन्ममिति २०४० साल भएको मनमायाँ बताउँछिन् । २०६७ सालमा नागरिकता बनाउन वडा कार्यालय जाँदा तत्कालीन गोरखा नगरपालिकाको वडा नं. ८ को कार्यालयले जन्ममिति २००१ साल राखेर सिफारिस बनाइदिएको नेपाली बताउँछिन् ।

‘बुबाको नागरिकतामा उहाँको जन्ममिति २००१ साल रहेछ तर कर्मचारीले सिफारिस बनाउँदा बुबाको जन्ममिति मेरोमा राखिदिएछन्’ साधारण लेखपढ मात्र भएकी नेपालीले भनिन् । उनको नागरिकतामा जन्ममिति २००१।०५।१२ गते उल्लेख छ । २०६७ साल कात्तिक १७ गतेको मितिमा बनेको उनको नागरिकतामा तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको दस्तखत छ ।

पति कृष्णबहादुर नेपालीको नागरिकताको आधारमा नागरिकता बनाए पनि जन्ममिति भने बुबाको नागरिकताको राखिएको छ । ‘मलाई राम्ररी पढ्न लेखन आउँदैन’ उनी भन्छिन् ‘नागरिकता बनाउन जाँदा बुबाको नागरिकता पनि दिएको थिएँ । सरहरुले बुबाकै जन्ममिति राखेर मेरो नागरिकता बनाई दिनुभएछ ।’ जन्ममिति सच्याउन उनी नगरपालिका र जिल्ला प्रशासन कार्यालय नधाएको पनि होइन । ‘म नगरपालिका र प्रशासनमा पटक पटक धाएको थिएँ’ उनले भनिन् ‘जहाँ गएपनि सरहरुले यो सच्याउन मिल्दैन । यस्लाई धेरै खोजीनीती नगर्नुस् । तपाई एउटाको सच्याउन थालियो भने अरु सबैको सच्याउनुपर्छ ।

त्यसैले चुपचाप लागेर बस्नु भन्दै फर्काउनु भयो ।’ नागरिकता त्यति महत्वपूर्ण नभएको भन्दै नागरिकता सच्याइदिन झण्झट मानेको उनले बताइन् । ‘तपाईलाई किन नागरिकता सच्याउनुप¥यो ? कतै जागिर खानु छैन् । बिदेश जानुछैन् । बरु यही जन्ममितिको नागरिकताको आधारमा वृद्धभत्ताको पट्टा बनाइदिन्छौं । बुद्धभत्ता आउँछ । चुपचाप लागेर यही खानुस् भन्नुभयो’ उनले भनिन् ‘त्यसैले मैले भत्ता रहरले होईन करले लिएको हुँ ।’ अझै नागरिकता सच्याउन मन लागेको भन्दै उनी भन्छिन् ‘अझै सच्याउन मिल्दैन र ? भत्ता लिन थालेपनि कसैकसैले हजुरआमा भन्दै जिस्काउँदा नमज्जा लाग्छ ।’

गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले यस बारेमा तत्काल छानबीन गर्ने बताए । नागरिकताको जन्ममिति सच्याउन मिल्ने भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आवश्यक कागजात जुटाएर जन्ममिति सच्याउने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ